कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

घट्दै वैदेशिक अनुदान

५९ अर्ब ९२ करोड ल्याउने लक्ष्य राखिएकामा वर्षको अन्त्यसम्म १३ अर्ब ८८ करोड मात्रै प्राप्त
कुनै अनुदान महालेखाको प्रणालीमा प्रविष्ट नभएकाले अहिले देखिएको भन्दा तथ्यांक बढी हुने अर्थ मन्त्रालयको दाबी
हेमन्त जोशी

काठमाडौँ — नेपालको सार्वजनिक ऋण बर्सेनि बढिरहँदा वैदेशिक अनुदान भने घट्दै गएको छ । अन्तर्राष्ट्रिय आर्थिक विकास सहायता परिचालनमा अनुदानको प्रतिबद्धता पनि कम हुँदै गएको छ । विदेशी दातृ निकायले प्रतिबद्धता जनाएको रकमसमेत ल्याउन नसक्दा अनुदान घट्दै गएको हो । 

घट्दै वैदेशिक अनुदान

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७८/७९ को असार तेस्रो सातासम्ममा वार्षिक लक्ष्यको २३.१७ प्रतिशत बराबर मात्रै वैदेशिक अनुदान आएको छ । चालु आर्थिक वर्षका लागि विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा अनुदानबाट ६३ अर्ब ३७ करोड स्रोत बेहोरिने उल्लेख थियो । अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमार्फत जनार्दन शर्माले त्यसलाई ५९ अर्ब ९२ करोडमा झारे । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा प्राप्त हुने वैदेशिक अनुदानको लक्ष्य ९ अर्ब ९२ करोड रुपैयाँ घटाएर ५० अर्ब कायम गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा चालु वर्षका अनुदान लक्ष्य पुनः संशोधन गरिएको थियो । त्यति बेलाको संशोधित अनुमानअनुसार चालु आर्थिक वर्षमा २४ अर्ब ८० करोड ९१ लाख रुपैयाँ बराबर अनुदान आउनुपर्ने हो । तर महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले हालसम्मको वास्तविक वैदेशिक अनुदान प्राप्ति भने १३ अर्ब ८८ करोड ३३ लाख देखाउँछ । चालु आर्थिक वर्ष सकिन एक साता जति मात्रै बाँकी छ । यस अवधिमा थप अनुदान आउने सम्भावना देखिँदैन । तर हालसम्म आएको सबै अनुदान महालेखाको प्रणालीमा प्रविष्ट नभएकाले अहिले देखिएको भन्दा तथ्यांक बढी हुने अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्याल बताउँछन् । ‘जति हो त्यति आउन सकेन । तर एमसीसीमार्फत आएको लगायत अरू केही अनुदान शीर्षकको विवरण प्रणालीमा राखिएको छैन । त्यो राखेपछि तथ्यांक बढ्छ,’ उनले भने ।

दातृ निकायबाट नगद, सोधभर्ना हुने, सोझै भुक्तानी हुने र वस्तुगत गरेर ४ शीर्षकमा अनुदान आउने गरेको छ । सबै शीर्षकबाट आएको अनुदान महालेखा नियन्त्रक कार्यालयको प्रणालीमा अद्यावधिक छैन । त्यस्तै बजेटमा महत्त्वाकांक्षी लक्ष्य राखिने र दातृ निकायले प्रतिबद्धता जनाएका कार्यक्रम लागू गर्न नसकिएका कारण पनि तुलनात्मक रूपमा अनुदान कम देखिने अर्यालको भनाइ छ । ‘एक त लक्ष्य नै ठूलो हो । अर्को भनेको लागू गर्ने भनिएका कार्यक्रम नआएपछि दातृ निकायले पनि पैसा दिने भएन,’ उनले भने, ‘कृषि क्षेत्रको कुनै एउटा कार्यक्रमका लागि युरोपियन युनियनको ठूलो अनुदान आउने भन्ने थियो । तर त्यो कार्यक्रममा काम नै नभएपछि आएन । यस्ता अरू पनि होलान् ।’ आगामी आर्थिक वर्षका लागि करिब ९० अर्ब रुपैयाँ बराबर वैदेशिक अनुदान प्रतिबद्धता आइसकेको र ४ देखि ५ अर्ब थप पाइप लाइनमा रहेको पनि अर्यालले जानकारी दिए ।

गत आर्थिक वर्ष ०७७/७८ मा सरकारको कुल वैदेशिक अनुदान लक्ष्य ६० अर्ब ५२ करोड रुपैयाँ बराबर थियो । तर उक्त वर्ष ३६ अर्ब ४८ करोड १४ लाख रुपैयाँ मात्रै अनुदान भित्रियो । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा ५७ अर्ब ९९ करोड अनुदान ल्याउने सरकारी लक्ष्य थियो । तर उक्त वर्ष २३ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान आएको देखिन्छ । ०७५/७६ मा ५८ अर्ब ८१ करोड रुपैयाँ अनुदान आउने लक्ष्य राखिएकामा २२ अर्ब ८९ करोड आएको देखिन्छ । आगामी आर्थिक वर्ष ०७९/८० का लागि वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ बराबर स्रोत बेहोर्ने लक्ष्य राखिएको छ ।

सरकारले हरेक वर्ष बजेट स्रोतमा वैदेशिक अनुदानलाई पनि देखाउने गर्छ । तर वैदेशिक अनुदानबाट स्रोत बेहोरिने भनी बजेटमा राखिएका विकास आयोजनाको काम प्रभावकारी नहुँदा प्राप्ति रकम कम देखिएको हो ।

‘विकास निर्माणका काममा भएको ढिलाइ र पुँजीगत खर्चमा देखिएको सुस्तताका कारण वैदेशिक अनुदान आउन नसकेको हो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘सोधभर्ना हुनुपर्ने वैदेशिक अनुदानको सोझो सम्बन्ध सरकारको पुँजीगत खर्चसँग छ ।’

सरकारले दातृ निकायबाट सोधभर्नासमेत गर्न सकेको देखिँदैन । महालेखाको तथ्यांकअनुसार नेपाल सरकारले अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा ९ अर्ब १ करोड ३६ लाख रुपैयाँ बराबर अनुदान रकम सोधभर्ना गर्न बाँकी थियो । त्यस्तै गत आर्थिक वर्षमा ११ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ बराबर अनुदान सोधभर्ना हुन बाँकी देखिन्छ । अनुदानबाट सञ्चालित विकास आयोजनाहरूमा कामको प्रगति हेरेर दातृ निकायले सोधभर्ना दिने गर्छन् । यस्ता आयोजनामा शतप्रतिशत खर्च भयो भने मात्रै शतप्रतिशत सोधभर्ना दिइन्छ । आयोजनाको काम सकिए पनि मन्त्रालयहरूले सोधभर्ना माग्न ढिलाइ गरेको कारणसमेत अनुदान न्यून देखिएको हुन सक्ने सहसचिव अर्यालको भनाइ छ ।

अनुदान रकम कम आउँदा नेपालको भुक्तानी प्रणालीमा समेत असर पर्छ । लक्ष्य राखिएको सबै अनुदान ल्याउन सकेको भए नेपालको विदेशी मुद्रा सञ्चिति केही बढ्थ्यो भने भुक्तानी सन्तुलनमा पनि त्यसको सकारात्मक प्रभाव देखिन्थ्यो । अहिले घट्दो रेमिट्यान्स, पर्यटक आवागमनमा कमी, आयात वृद्धि, वैदेशिक लगानी पर्याप्त नभित्रनु, अनुदानको रकम लिन नसक्नुलगायत कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । मुद्रा सञ्चिति बढ्दै गएका कारण नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषमार्फत स्पेसियल ड्रइङ राइट (एसडीआर) मा पाउने वार्षिक कोटाको १ सय ८० फ्रतिशतसम्म एक्सटेन्डेड त्रेडिट फेसिलिटी (ईसीएफ) लिएको छ ।

प्रकाशित : असार २४, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×