२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : सांसद देवकोटा [भिडियो]

दीपक परियार

पोखरा — राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवाताल भूमाफिया र दलालहरुको चंगुलमा परेको बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले जग्गा माफियाले डोजर लगाएर फेवातालको सिमसार क्षेत्रमा प्लटिङ गरिरहेको प्रति दुःख व्यक्त गरे । ताल अतिक्रमित भएर आधा पुरिँदा सरकारी संयन्त्रले नै बेवास्ता गरेको उनको भनाइ थियो ।

फेवाताल भूमाफिया र दलालको चंगुलमा पुग्यो : सांसद देवकोटा [भिडियो]

‘सिमसार क्षेत्रमा धमाधम प्लटिङ हुँदा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका किन मूकदर्शक छन् ?,’ बैठकमा उनको प्रश्‍न थियो, ‘फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइरहँदा टुलुटुल हेरेर बसे । सरकारलाई रुलिङ गरियोस् । ध्यानाकर्षण गराइयोस् । सरोकारवाला मन्त्रीलाई रोस्ट्रममा उभ्याइयोस् । फेवातालको संरक्षण लगायतमा सरकारको धारणा मागियोस् ।’

बैठकमा सांसद देवकोटाले राखेका भनाइको सारसंक्षेप –

‘कुनै १० जना व्यक्तिलाई नेपालको सबैभन्दा सुन्दर र मनमोहक ठाउँ कुन हो भनेर प्रश्न गर्ने हो भने सायद ८ जनाले पोखरा भन्छन् होला । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराबाट मोहित नहुने सायदै होलान् । मनोरन्जनका लागि नेपाल आउने अधिकांश विदेशी पर्यटकहरुको गन्तव्य थलो पनि पोखरा नै हो । फेवाताललगायत पोखराभित्र र यसको आसपासमा दर्जनौं रमणीय स्थलहरु छन् । फेवाताल भन्नेबित्तिकै हरेक नेपालीको मन लोभिन्छ । जाँऔं, जाँऔं, सयर गरौं लाग्छ । फेवाताल पोखराको पहिचानमात्र हैन, नेपालको गौरव हो । सान हो ।

एक साता अगाडि म पोखरा पुगेको थिएँ । पोखरा जाँदा कहिलेकाहीं फेवातालको सिरानपट्टि रहेको पामेबजारसम्म पुग्छु । म जन्मेको पनि त्यहीं पामेबजार नजिकै साविक चापाकोट गाविस, हाल पोखरा महानगरपालिका–२३ हो । त्यो पामेबजारमा मैले २०३८ सालतिर २५ पैसा प्रतिकप चिया पिएको सम्झना ताजै छ । पोखरा आउजाउ गर्न त्यहाँका नागरिकहरु पामेबजारको डुंगाघाटबाट डुंगा चढ्थे । एक घण्टामा पोखरा पुग्दथे । झण्डै पामेबजारसम्म फेवातालको फैलावट थियो । हर्पनखोला विशाल थियो । डुंगामा प्रतियात्रु एक रुपैयाँ लिने गरेका सम्झना अहिले पनि मलाई छ । २५ पैसाको चिया र १ रुपैयाँको डुंगा चढाइ पैसाको मूल्यको कथा लेख्नेहरुका लागि राम्रो खुराक हुन सक्छ ।

हामी २०३९ सालतिर तराई झर्‍यौं । बीचका धेरै घटनाक्रमहरु ताजा रहेन । सम्झना भएन । यो ४० वर्षको दौरानमा फेवातालको भूगोललगायत यसको सुन्दरता लुटिएको मैले आभाष गरेको छु । विशाल ताल अहिले खुम्चिएको छ । मैले केटाकेटीमा देखेको फेवातालको आधा भाग अतिक्रमित छ । भूमाफिया र दलालहरुको चंगुलमा छ । फेवातालको पानीको स्रोत/मुहान हर्पनखोला माथिको मानवीय दमन र हिंसा झन् कहालीलाग्दो छ । ढुंगा, गिट्टी, बालुवालगायतका नाममा यसको निरन्तर दोहन भइरहेको छ । दोहन लगायतका कारण फेवाताल निरन्तर पुरिँदैछ । पानीका स्रोतहरु मेटिँदैछन् । तालको मानवीय र प्राकृतिक अतिक्रमणलाई नरोक्ने हो भने अबको एक सय १० वर्षमा यसको अस्तित्व नै समाप्त हुने ताल तथा वातावरण विज्ञहरुको निष्कर्ष छ । तर तालको गरिमा बचाउनभन्दा पनि यसलाई धुमिल पार्न स्वयं सरकारी संयन्त्रहरु नै सक्रिय रहेको आभाष मैले गरेको छु ।

यसपालि पामेबजार जाँदा मलाई साह्रै पीडा महसुस भयो । विशाल ताल खुम्चिएको हामी सबैले देखेको अनुभूति गरेकै हो । हामीले केटाकेटीमा डुंगा चढ्ने पामेबजारको डुंगाघाटको, सिमसार क्षेत्रमा अहिले जग्गाको प्लटिङ भइरहेको रहेछ । फेवातालमा आएर मिसिने सिमसार क्षेत्रयुक्त त्यो पानीका मुहान थुनिएको छ । डोजर लगाइएको छ । धमाधम प्लटिङ गरिएको छ । मैले मेरै मोबाइलबाट फोटो खिचेर ल्याएको छु । तालको पानीको स्रोत यस सिमसार क्षेत्रमा धमाधम प्लटिङ हुँदा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका किन मूकर्दशक छन् ? यसको संरक्षणमा नेपाल सरकार लगायतका सरोकारवालाले गम्भीररुपमा ध्यान दिनुपर्दछ कि पर्दैन ? रगत–पसिनाले कमाएको कसैको जग्गा ताल सिमानामा परेको प्रमाणित छ भन्ने राज्यले क्षतिपूर्ति दिएर ताललाई जोगाउन पर्दैन ? तालको गरिमा र इतिहास जोगाउँदै यसलाई फैलन दिने हो कि खुम्च्याउनमा सहयोग गर्ने हो ? यो मेरो मात्र हैन आम नेपालीको प्रश्न हो । साविक ताल हिँडेको कैयौं स्थानमा अहिले सिमेन्ट, रडका कंक्रिट घरहरु बनेका छन् । तालको सुन्दरतालाई नै अपहरण गरेजस्तो लाग्छ । ताल परिसरमा नै कही कतै प्लटिङका डोजर चलेका छन् । ढुंगा, गिट्टी, बालुवाको टिपरहरु दौडेका छन् । जग्गाका माफियाहरुले देशभरी जथाभावी कृषिभूमिमा प्लटिङ गरिरहेका छन् । सरकारी जग्गा कब्जा गरी प्लटिङ गरी बेचविखनसमेत गरेका छन् । भीरपाखा र कतै–कतै खोलानालाको आसपासमा पनि जथाभावी प्लटिङ गरेको हामीले देखेका छौं । तर मुलुकको पहिचानसँग जोडिएको, पोखराको मुटु फेवातालको पानी नै छेकेर प्लटिङ गरेको मैलेचाहिँ पहिलोपटक देखें । म जन्मेको ठाउँमात्र भएर हैन सिंगो मुलुकको पहिचानसँग पनि जोडिएको विषय भएकोले मैले आफूलाई अपमानित र हिनताबोध भएको महसुस गरेको छु । फेवातालको गरिमा बचाउन सरकारी संयन्त्रहरु संवेदनशील भएनन् । यसको अस्मितामाथि नै चारैतिरबाट लुट भइरहँदा टुलुटुल हेरेर बसे । सरकारलाई रुलिङ गरियोस् । ध्यानाकर्षण गराइयोस् । सरोकारवाला मन्त्रीलाई रोस्ट्रममा उभ्याइयोस् । फेवातालको संरक्षण लगायतमा सरकारको धारणा मागियोस् ।

ताल संरक्षण लगायतमा प्रमुख जिम्मेवारी निर्वाह गर्नुपर्ने पोखरा महानगरपालिकाले नै यसको अस्मितामाथि झन् खेलवाड गरेको ताल संरक्षणमा चिन्तित हुने लगायतहरुको बुझाइ छ । पोखरा महानगरपालिकाको २०७८ चैत १६ मा बसेको कार्यपालिका बैठकले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर जम्मा ३५ मिटर कायम गर्ने निर्णय गरेर सिमारेखाभन्दा बाहिर गएको छ । संविधान र कानुनले दिएको अधिकार दूरुपयोग गरेको छ । काठमाडौंको सिंहदरबारले मात्र हैन गाउँका सिंहदरबारले पनि नीतिगत भ्रष्टाचार गर्दा रहेछन् भन्ने बलियो प्रमाण हो यो । पोखरा महानगरपालिकाको नीतिगत भ्रष्टाचारलाई सर्वोच्च अदालतको केही दिन अगाडिको फैसालाले झापड हानेको छ । फेवातालको मापदण्ड साविक ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ ।

म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु । फेवाताल संरक्षणमा अदालतको फैसला ऐतिहासिक छ । प्रशंसनीय छ । अदालतको फैसलाको सम्मानका लागि पनि ६५ मिटरभित्रका अवैध भौतिक संरचनाहरु तुरुन्त भत्काउन म नेपाल सरकारसमक्ष जोडदार अनुरोध गर्छु । यसैगरी जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पूण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवाताल संरक्षण लगायतका लागि प्रतिवेदन पेस गर्न गठित समितिको २०७८ भदौ २८ को प्रतिवेदन सार्वजनिक गर्न समेत अनुरोध गर्दछु । फेवातालाको संरक्षणमा यतिले मात्र पुग्दैन । यसको मुहान हर्पनखोला र यसका आसपासका साविक चापाकोट, भदौरे गाविस लगायतका क्षेत्रदेखि नै एकीकृत विकास र वातावरण संरक्षण लगायतका प्याकेज बनाइ स्थानीय नागरिकको अग्रसरतामा कार्यान्वयन गर्न सरोकारवाला निकायहरुमा समेत अनुरोध गर्दछु ।’

प्रकाशित : असार २१, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?