कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीको सुरक्षा जिम्मा 'संघीय प्रहरी'लाई दिने तयारी

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरी (संघीय प्रहरी)लाई दिने व्यवस्था गर्न खोजिएको बताएका छन् । तर यसलाई प्रदेश प्रहरीको अधिकार कटौती वा संघीय व्यवस्था विपरीत सरकार जान खोजेको रुपमा नबुझ्न सांसदहरूलाई आग्रह गरेका छन् । सुरक्षा संवेदनशीलता ख्याल गरेर यस्तो निर्णय गर्न लागिएको उनले बताए ।

राजधानीको सुरक्षा जिम्मा 'संघीय प्रहरी'लाई दिने तयारी

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले सरकार संघीय व्यवस्थाका साथै काठमाडौं राजधानी उपत्यकाको सुरक्षाप्रति संवेदनशील रहेको बताएका हुन् । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री खाँणले भने, 'सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याइएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो ।'

काठमाडौंमा विदेशी बढी आवातजावत हुने तथा देशको राजधानी भएकोले सुरक्षा संवेदनशीलता ध्यानमा राख्नुपर्ने गृहमन्त्री खाँणको भनाइ थियो । सरकारमा रहेको माओवादी केन्द्रका सांसदहरूले राजधानीको सुरक्षा व्यवस्था प्रदेश प्रहरीलाई नदिँदा संघीय व्यवस्था विपरीत हुने बताएका थिए । 'संघीयता कमजोर पार्ने, प्रदेश अधिकार कमजोर पार्ने सवाल नै होइन । सुरक्षा जिम्मेवारीलाई ध्यानमा राखेर व्यवस्था गरिएको हो,' गृहमन्त्री खाँणले जवाफ दिए, 'संघीयता हामी सबैले ल्याएको हो । कोही ढिलो, कोही चाँडो त्यसमा सहभागी भयौं होला तर यो व्यवस्था हामी सबैले मिलेर ल्याएका हौं ।'

गृहमन्त्री खाँणले राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकार भन्दा पनि जिम्मेवारीमा पार्न खोजिएकोमा जोड दिएका थिए ।

प्रकाशित : असार २१, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?