कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

अलग्गै पार्टी बनाउन भट्टराईको तयारी

केन्द्रीय समितिको विस्तारित बैठकपछि नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरता दिने प्रक्रिया सुरू गर्ने रणनीति
बबिता शर्मा

काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्री हेरफेर गरेलगत्तै असन्तुष्ट संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।

अलग्गै पार्टी बनाउन भट्टराईको तयारी

बैठकमा उपस्थित संख्या हेरेर पार्टी औपचारिक विभाजन गर्ने, निर्वाचन आयोगमार्फत नयाँ दल दर्ता वा पहिला नै दर्ता दललाई निरन्तरताको प्रक्रिया सुरु गर्ने रणनीति रहेको एक नेताले बताएका छन् ।

जसपाका एक नेताका अनुसार पहिलो चरणमा अलग्गै पार्टी बनाउने र त्यसपछि आसन्न प्रदेश एवं संघीय निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकता र गठबन्धनका लागि संवाद थाल्ने भट्टराईको रणनीति छ । भट्टराईनिकट जसपा नेता गंगानारायण श्रेष्ठले आगामी कदमबारे विस्तारित बैठकमा छलफल हुने बताए । ‘जसपाको हैसियतमा असार २९ र ३० मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको छ । त्यहाँ सम्भावित सबै विकल्पमाथि छलफल हुन्छ,’ श्रेष्ठले भने ।

स्रोतका अनुसार पार्टीमा विवाद देखिन थालेपछि जसपा नेता हिसिला यमीको पहलमा ०७८ फागुन ५ मै निर्वाचन आयोगमा समावेशी लोकतन्त्र पार्टी पनि दर्ता भएको छ । अध्यक्ष दीपक लामिछाने रहेको उक्त पार्टीको चुनाव चिह्न खुलेको एक आँखा छ । यमी नयाँ पार्टी दर्ताबारे आफूलाई जानकारी नभएको दाबी गर्छिन् । ‘मेरो पहलमा पार्टी दर्ता भएको होइन । त्यसबारे मलाई जानकारी छैन,’ उनले भनिन् । भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि चुनाव चिह्न पनि खुलेको एक आँखा थियो । उक्त चुनाव चिह्न सुरक्षित गर्न पार्टी दर्ता गराइएको स्रोतको भनाइ छ । त्यही पार्टीलाई निरन्तरता दिने वा नयाँ दर्ता गर्ने भन्नेबारे विस्तारित बैठकले तय गर्ने भएको छ ।

भट्टराईले पार्टी विभाजनको सम्भावना देखेपछि नै विभिन्न राजनीतिक शक्तिसँग संवाद जारी राखेका छन् । एक नेताका अनुसार उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेतासँग सहकार्यबारे छलफल गरिरहेका छन् । दाहालसँगको संवादलाई लिएर भट्टराई पुनः माओवादीमा फर्किने चर्चा पनि चलेको छ । उपराष्ट्रपति निवासमा दाहाल र भट्टराईले पटक–पटक एक्लाएक्लै संवाद गरेको स्रोतले जनाएको छ । ‘समाजवादी केन्द्र बनाउने भनेर भएका संवाद हुन् । तर के गर्ने भन्नेबारे विस्तारित बैठकले तय गर्छ,’ भट्टराईनिकट नेता श्रेष्ठले भने ।

आफ्नो आग्रह बेवास्ता गर्दै प्रधानमन्त्री देउवाले एकलौटी रूपमा जसपाका मन्त्री हेरफेर गरेपछि भट्टराई ओली नेतृत्वको विपक्षी गठबन्धनमा जाने सम्भावना पनि रहेको एक नेताले बताए । भट्टराईनिकट ती नेताका अनुसार उक्त गठबन्धनमा एमाले, लोसपा र भट्टराईको नयाँ दल रहने सम्भावना छ । केही समयअघि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भट्टराईसँग भेट गरेका थिए । त्यसपछि अध्यक्ष ओलीसँग भट्टराईको संवाद भएको थियो । ‘राजनीतिमा नेताहरूबीच संवाद हुनु सामान्य हो । कुनै निष्कर्ष निस्किने गरी संवाद भएको छैन,’ गुरुङले भने । एमाले औपचारिक रूपमा जसपा विभाजनको पर्खाइमा छ ।

अर्कातिर जसपा अध्यक्ष यादवले यसअघि नै असार २७ र २८ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइसकेका छन् । यादवले भट्टराईले बोलाएको बैठकको अर्थ नभएको दाबी गरे । ‘जसपाबाट केही मान्छे निस्केर जाने तर्खरमा छन् । उनीहरू अर्को पार्टी बनाउने या अरू कुनै पार्टीमा जाने तयारीमा छन्,’ यादवले भने । उनले भट्टराईका पक्षमा कोही सांसद नजाने दाबी पनि गरे । ‘बाबुरामजी एक्लै हो । केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी मान्छे जसपामै हुन्छन्,’ यादवले भने, ‘बाबुरामसँग किन जाने ? उहाँले पार्टी बनाएर पार्टी चल्छ ? जहाँ बाबुराम, त्यहाँ बबाल हुन्छ ।’

प्रकाशित : असार २१, २०७९ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?