२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल अजरबैजानको भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्केको छ ।अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर उक्त प्रतिनिधिमण्डल स्वदेश फिर्ता भएको हो ।

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणका सम्बन्धमा जानकारी दिने क्रममा सभामुख सापकोटाले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिबीच अनुभव आदानप्रदान भएको बताए । उनले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताए ।

उनले संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रहरुका सभामुखहरुको सम्मेलनमा भू–राजनीतिक तनाब, हतियारको दौड, सैन्य खर्च वृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दि र मानविय संकट लगायतका देखा परेका समस्याको असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको बताएका हुन् ।

यही असार १६ र १७ गते बाकुमा सम्पन्न सम्मेलनले असंलग्न राष्ट्रहरुका सभामुखहरुका बीचमा सौहार्द सम्बन्ध एवं एकता कायम भएको जानकारी दिँदै सभामुख सापकोटाले सञ्जाललाई संगठनमा रुपान्तरित गर्नु पर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्ने गरी बुलन्द गर्नु पर्ने विषयमा बहस भएको बताए ।

प्रतिनिधि मण्डलमा सांसदहरु पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहेका थिए ।

प्रकाशित : असार १९, २०७९ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?