कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
माओवादी केन्द्रीय समिति बैठक

प्रदेश अध्यक्षको प्रश्न- 'कति अरुलाई पहिलो पार्टी बनाउने ?'

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको पहिलो दिनको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत र प्रदेशका नेताहरुले रिपोर्टिङ गरेपछि बैठक सकिएको हो । 

प्रदेश अध्यक्षको प्रश्न- 'कति अरुलाई पहिलो पार्टी बनाउने ?'

अध्यक्ष दाहालले बैठकमा प्रस्तुत गरेको १० पृष्ठको संक्षिप्त राजनैतिक प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । प्रदेश समिति अध्यक्षहरूले चुनावी तालमेलको समीक्षा गर्नुपर्ने बताएका छन् । उनीहरुले अब कसरी अगाडि बढ्ने र तेस्रो पार्टीबाट कहिले र कसरी माथि उठ्ने भन्ने योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसीले कति अरुलाई पहिलो पार्टी बनाउने ? भनेर प्रश्न गरेकी थिइन् । 'कति अरु पार्टीलाई पहिलो र दोस्रो बनाएर हामी तेस्रो भइरहने ? यसरी त हामी रक्षात्मक भयौं,' उनले भनेकी थिइन्, 'गठबन्धन गरे पनि यसको समीक्षा गरौं ।'

उपत्यका विशेष प्रदेश कमिटी समिति जगत सिंखडाले गठबन्धन भन्दाभन्दै पार्टीको चुनाव चिह्न बिर्सिने अवस्था आएको बताएका थिए ।

सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष हरिराम चौधरीले माओवादीका लागि गठबन्धन फाइदाजनक नभएको बताएका थिए ।

आगामी निर्वाचनको तयारी र पार्टीका आन्तरिक विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु भएको हो । पार्टीको संगठनात्मक काम अन्तर्गत पोलिटब्यूरो गठन तथा कार्यविभाजन र संरचना पनि केन्द्रको एजेन्डामा समावेश गरिएको छ ।

प्रज्ञा भवन कमलादीमा बसेको पहिलो दिनको बैठकको सुरुमै अध्यक्ष दाहालले पार्टीका केन्द्रीय सदस्यहरु र विभागका सदस्यहरुलाई शपथ गराएका थिए । बैठक मंगलबारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?