पर्मले धानेको रोपाइँ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्मले धानेको रोपाइँ

ज्यालादारीमा खर्च गर्न नसक्ने परिवारलाई आलोपालो सघाउने चलनले खेतीपाती सहज
भानुभक्त निरौला

सोलुखुम्बु — नेचासल्यान–१ की सीता बस्नेतलाई असार लागेयता एक दिन फुर्सद छैन । उनलाई पर्म तिर्न भ्याइनभ्याइ छ । २० जनाको समूहमा आलोपालो रोपाइँ गर्नकै लागि उनले पर्म लगाइरहेकी छन् । उनी बिहानभरि घरको धन्दा गरेर १० बज्नासाथ घुम बोकी रोपाहार बनेर छिमेकीकहाँ जान्छिन् । ‘म कम्तीमा २० दिन अरूको रोपाइँमा जान्छु, अनि मेरोमा २० जना आएर एकै दिनमा रोपाइँ सकिदिनुहुन्छ,’ बस्नेतले भनिन् । 

हुर्किएदेखि नै असारमा पर्म गर्ने गरेका स्थानीय ७५ वर्षीय रत्न राई रोपाइँका बेला गोरु दाउने, दाँदे लाउने तथा आली लगाउने काम गर्थे । उनी उमेर ढल्किँदै गएयता धानको बीउ काड्छन् । ‘म सानो हुँदादेखि घरमा बुबाआमा नै मेलापात र पर्म जाने भनेर दिउँसो छिमेकीको मेलामा जानुहुन्थ्यो,’ उनले भने, ‘म यो उमेरसम्म पुग्दा पनि अर्मपर्म गरेर नै गाउँका सबैको रोपाइँ सक्ने गरेका छौं ।’ बयोवृद्ध राईलाई पर्मेली परम्परा कहिले सुरु भयो भन्ने यकिन छैन ।

पहाडमा खेतीपाती सुरुवातबाटै एकअर्कालाई सघाउने चलन बसेको हुनुपर्ने उनलाई लाग्छ । ‘बाउबाजेहरूले पनि पर्म गर्ने गरेको सुनाउँथे,’ उनले भने ।

सोलुखुम्बुको दक्षिणी क्षेत्रमा रोपाइँको रौनक निकै पृथक् छ । जसको खेतमा रोपाइँ हुने हो, त्यहाँका गराहरू बिहानैदेखि पानीले डम्म पारिन्छन् । जब १० बज्छ अनि एउटा छिमेकी हलगोरु लिएर जोत्न थाल्छ, अर्को हल लिएर दाँदे लाउन थाल्छन्, अर्का फ्याउरी लाउँछन् । अनि बाउसेहरू घरघरबाटै कोदाली ल्याएर आउँछन्, खेत छेउभित्ता खनेर आली लाउँछन् ।

अनि सुरु हुन्छ रोपाहारको काम । ब्याडबाट बीउ ल्याउने अनि असारे गीत गाउँदै धान रोप्ने । अनि एक जना रोपाहार भने आलीमा भटमास रोप्दै बाउसे पछ्याइरहेको देखिन्छ । नेचा सल्यान–३ की सीता शर्मा असार–साउन रोपाइँमै बित्ने बताउँछिन् । यस क्षेत्रमा अहिलेको वर्षायामको समयमा जाने जोकोहीले पनि सामूहिक खेतीको अवलोकन र प्रभावकारी पर्मेली प्रथालाई नजिकबाट नियाल्ने मौका पाउँछन् ।

घरमा धेरै जनशक्ति नभएकाले पैसा तिरेर खेतालाका रूपमा मान्छे लगाएर धान रोप्ने गरे पनि स्थानीय ९० प्रतिशत कृषकले भने पर्मबाटै रोपाइँ सक्छन् । स्थानीयका अनुसार असारमा धान रोप्न मात्रै होइन, मंसिरमा धान भित्र्याउन पनि यहाँका कृषक पर्म नै लगाउने गर्छन् । ‘असारमा धान रोपेको पर्मको हिसाबकिताब मंसिरसम्म राख्ने गरिन्छ,’ सोलु दूधकुण्ड–११ तिंलकी गोमा बस्नेतले भनिन्, ‘असारमा तिर्न बाँकी रहेको पर्म धान काटेर पनि तिर्ने चलन छ ।’ उनका अनुसार पर्मेली प्रथामा लैंगिक विभेद भने हट्दै गएको छ । ‘पहिला रोपाइँमा एउटा बाउसे (पुरुष) एक दिन आएबापत एउटा रोपाहार (महिला) दुई दिन पर्म तिर्न जानुपर्थ्यो, अहिले भने एक बाउसे बराबर एक रोपाहारले नै पर्म तिर्ने गरिन्छ,’ उनले भनिन् ।

प्रकाशित : असार १९, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्

बजार लिँदै बुङको आलु

समुद्री सतहदेखि २५ सय मिटरभन्दा माथि परम्परागत तरिकाले उत्पादित स्वादको बुङ आलुको माग काठमाडौंदेखि तराईसम्म
भानुभक्त निरौला

सोलुखुम्बु — सोलु दूधकुण्ड नगरपालिका–७ का निमा शेर्पाले यस वर्ष हिउँ पर्नुअघि नै आलु रोप्ने ससाना खाल्डा खनिसकेका थिए । लछप्पै हिउँ परेर ती खाल्डा कैयौं दिन पुरिए । हिउँ त्यहीं बिलाएपछि उनले तिनै खाल्डामा झिक्रा बटुलेर आगो लगाए । ४–५ दिन माटो डढ्ने गरी पोलेपछि खरानी थुप्रियो । खाल्डोको माटो पनि मज्जाले पाक्यो । यसरी माटो पोलिएको खरानीसहितको खाल्डोमा निमाले आलुको बीउ रोपेर पुरपार पारे । अहिले यसरी रोपिएको आलु लहलह भएर फूल खेलिरहेको छ । आलुका नीला फूल हेर्दै निमा आलु खन्ने दिन कुरिरहेका छन् ।

समुद्री सतहदेखि २५ सय मिटरभन्दा माथिको जमिनमा परम्परागत रूपमा यसरी रोपिने आलु बुङ आलुका रूपमा चर्चित छ । बुङको आलु सोलुखुम्बुको पत्तालेका अतिरिक्त सल्लेरी, फाप्लु, लुक्ला, गोली, नाम्चे र खुम्जुङसम्म खेती हुने गरेको छ । आलु रोप्न खाल्डो खनेर थुपारिएको चपरालाई शेर्पा भाषामा थोङ्मा वा बुङ पनि भनिन्छ ।

‘यसरी आलु रोप्दा कुनै पनि मलको प्रयोग हुँदैन, लेकाली माटो र खरानीले नै मलको काम गर्ने हुनाले यहाँ फलेको आलु निकै स्वादिलो हुने गर्छ,’ निमाले भने । रोपेको ६ महिनाभित्र फल्ने बुङ आलुको खेती बर्सेनि एउटै बारीमा गरिँदैन । यस्तो जमिन एक पटक आलु खेती गरेपछि ३ वर्षपछि मात्रै नयाँ खेती गर्न सकिने कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गाबहादुर तिरुवाले बताए । ‘यो खेती प्रविधि धेरै नै मौलिक छ,’ उनले भने । एउटै थुप्रो (बुङ) बाट ५ पाथीभन्दा बढी उत्पादन लिन सकिने उनको भनाइ छ ।

मनोरम हिमशृंखला देखिने उच्च पहाडी गाउँ पत्तालेको परिचय हिजोआज यही बुङ आलुले बढाएको छ । किनकि नाम्चेदेखि सगरमाथा आधारशिविरतिर लम्किएका पर्यटकहरू पत्तालेमा बसेर बुङ आलु कि त उसिनेर, कि त पोलेर वा यसकै रैथाने परिकार रिल्दोकदेखि रोटीसम्म खाएरै अघि बढ्छन् । वर्षको एकफेर हिउँले नछोपिएको उच्च हिमाली भेगमा मात्रै यस्तो आलु फल्ने भएकाले यहाँको आलुको स्वाद फरक छ ।

बुङमा रोपिएको हरियो आलुमा खेलेको फूलले अहिले पत्ताले सुन्दर देखिएको छ । यस वरपरका कतिपय ठाउँमा अहिले बुङको आलु खन्ने तरखर सुरु भइसकेको छ । आलु यहाँ एक पाथीको २ सयदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय प्रकाश मगरले जानकारी दिए । ‘आलुलाई बजारको समस्या छैन । बारीबाट खन्नासाथ काठमाडौं र तराईका विभिन्न क्षेत्रबाट आलु किन्ने व्यापारी आइहाल्छन्,’ उनले भने, ‘काठमाडौं जानेहरूले कोसेलीका रूपमा ८–१० पाथीकै दरले लैजान्छन् । व्यापारीले पनि थोकमै किनेर लान्छन् ।’ आलुबाट सोचे जस्तै आम्दानी भएकाले घर खर्च चलाउन निकै सहज भएको पत्तालेका भाइचुङ शेर्पाले बुङको बताए ।

पत्ताले क्षेत्रमा एउटा परिवारले न्यूनतम १ देखि अधिकतम १५ रोपनी क्षेत्रफलसम्ममा आलु खेती गरेका छन् । यसबाट एउटै किसानले वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म कमाउँछन् । ‘हामीले वार्षिक सरदर २ लाखभन्दा माथिकै आलु बेच्ने गरेका छौं,’ पत्तालेका किसान गोविन्द मगरले भने । कतिपय किसानले उत्पादित आलु भण्डारण गरेर वर्षभर बेच्ने गरेको पनि उनले जनाए ।

आफूहरूकहाँ आउने धेरैजसो पाहुनाले बुङ आलुकै परिकार खोज्ने गरेको पत्तालेस्थित हिमाली होमस्टेका सञ्चालक राजकुमार मगरको भनाइ छ । ‘ग्राहकको मागले पनि हामी मुरीका मुरी आलु किनेरै राख्छौं,’ उनले भने ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर बर्खे आलु करिब ६ हजार हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । यसबाट १ लाख टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । अघिल्लो वर्षको बर्खे सिजनमा मात्रै ६ हजार ७ सय ६७ हेक्टर क्षेत्रफलमा रोपिएकामा १ लाख ६ हजार ४ सय ४० टन उत्पादन भएको थियो । ‘हामीले बुङमा खेती हुने मात्रै छुट्टै क्षेत्रफल भने निकालेका छैनौं,’ कृषि ज्ञान केन्द्र प्रमुख तिरुवाले भने, ‘पत्तालेदेखि खुम्जुङसम्म नै बुङमा खेती हुने गरेको पाइएको छ ।’

प्रकाशित : असार १४, २०७९ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×