कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वामदेवको अभियानसँग एकता गरेका ४ दल बाहिरिए

काठमाडौँ — नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गठन भएको नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेताहरूले अभियानबाट अलग भएको बताएका छन् । पार्टी एकीकरणको एक सातामै ती दलका नेताहरू बाहिरिएका हुन् ।

वामदेवको अभियानसँग एकता गरेका ४ दल बाहिरिए

गौतम नेतृत्वको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका तीनवटा दलसहित चार साना दलका प्रमुख नेताहरू आबद्ध थिए । ती चारै दलका नेताहरूले शनिबार अभियानबाट अलग रहेको बताएका हुन् ।

चार दलका नेता सम्मिलित ११ नेताहरूले विज्ञप्ति जारी गर्दै अभियानका नेता गौतमलाई नै आफूहरूले कारबाही गरेको दाबीसमेत गरेका छन् । नेता गौतमका स्वकीय सचिव दीपक टमाटाले भने उनीहरूले नेता गौतमलाई कारबाही गरेको नभएर उनीहरूले नै राजीनामा दिएको र उक्त राजीनामा शुक्रबारको सचिवालय बैठकले स्वीकृत गरिसकेको इकान्तिपुरलाई बताए ।

गौतमका प्रेस संयोजक निमकान्त पाण्डेका अनुसार चार दलका तर्फबाट सचिवालयमा एक-एक जनाको प्रतिनिधित्व हुने गरी पद थप गर्नुपर्ने माग गरेका थिए । तर उक्त माग शुक्रबारको सचिवालय बैठकले अस्वीकार गरेको हो । 'चार पार्टीका नेतामध्ये युवराज सफल मात्रै सचिवालयमा हुनुनुथ्यो । ९ जनाको सचिवालय टिममा एक जनाले अध्यक्षले कारबाही गर्ने कुरा पनि कतै सत्य हुन्छ ?' प्रेस संयोजक पाण्डेले इकान्तिपुरलाई भने । पाण्डेका अनुसार युवराज आफैंले राजीनामा दिएका हुन् ।

गौतमको राष्ट्रिय अभियानमा युवराज सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल, कृष्णगोपाल बन्जारा नेतृत्वको आधुनिक नेपाल समाजवादीफ पार्टी, मिननाथ देवकोटा नेतृत्वको नेकपा राष्ट्रवादी र नीलकण्ठ पौडेल नेतृत्वको आम नेपाली पार्टी आवद्ध थिए ।

तीमध्ये आम नेपाली पार्टी मात्रै आयोगमा दर्ता छैन । समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले इकान्तिपुरसित भने, 'नेता गौतमले घोषणा कार्यक्रममा नै प्रतिवद्धता अनुसार गतिविधि नदेखाएपछि हामी चार दलको प्रतिनिधित्व गर्ने नेताहरूले उहाँलाई नै कारबाही गरेका छौं । अब उहाँले भनेको अभियान उहाँसँगै होला । हामी अलग छौं । उहाँले विवादित व्यक्तिहरूलाई पार्टीमा समावेश गरेपछि हाम्रो आपत्ति सुरुदेखि नै थियो ।' गौतमले शुक्रबार ६९ सदस्यीय नेकपा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गरेका थिए ।

प्रकाशित : असार १८, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?