कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती सरकार जोगाउने कसरत

काठमाडौँ — कांग्रेस र माओवादीका सांसदले वाग्मती प्रदेश सरकारको नेतृत्व हेरफेरको गृहकार्य थालेपछि दबाबमा परेको एकीकृत समाजवादीले अन्य प्रदेशमा पनि नेतृत्व परिवर्तनको माग तेर्स्याएको छ ।

वाग्मती सरकार जोगाउने कसरत

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउने गरी सांसदको हस्ताक्षर गरेपछि एकीकृत समाजवादीका शीर्ष नेताले वाग्मतीमा हुने भए अन्य प्रदेशमा पनि नेतृत्व परिवर्तन हुनुपर्ने अडान राखेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार भेट्न गएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र महासचिव बेदुराम भुसालले वाग्मतीमा मात्रै सरकारको नेतृत्व हेरफेर नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले गठबन्धनमा दलभित्र छलफल गरेर यस विषयमा निष्कर्षमा पुग्ने बताएका छन् । ‘परिवर्तन गर्ने हो भने कसरी गर्ने ? पहिला अन्य प्रदेशमा पनि विभिन्न खालका सहमति भएका छन्, त्यहाँ के गर्ने र गर्नैपर्दा कसरी गर्ने हो, सल्लाह गरौं भन्ने कुरा भएको छ,’ भुसालले भने ।

हाल पाँचदलीय गठबन्धनमध्ये गण्डकी र कर्णालीमा कांग्रेस नेतृत्वको, लुम्बिनी र सुदूरपश्चिममा माओवादी नेतृत्वको, प्रदेश १ र वाग्मतीमा एकीकृत समाजवादी नेतृत्वको तथा मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार छ । वाग्मती छाड्नुपर्ने भए कर्णाली वा सुदूरपश्चिममध्ये एक प्रदेशको नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीको माग छ । सत्ता गठबन्धनमै रहेका दलहरूबाट दबाब बढेपछि एकीकृत समाजवादी रणनीतिको खोजीमा जुटेको छ । सुदूरपश्चिम प्रदेशमा पनि आलोपालो सरकार चलाउने सहमति भएको थियो ।

कांग्रेस र माओवादीका २२ सांसदले सरकारको नेतृत्व बदल्नका लागि हस्ताक्षर संकलन गरेपछि पार्टी नेतृत्वसँग छलफलका लागि भन्दै वाग्मतीका मुख्यमन्त्री पाण्डे बिहीबारै काठमाडौं आएका थिए । उनले अध्यक्ष नेपालसहितका नेतासँग वाग्मतीको अवस्थाबारे ब्रिफिङ गरेपछि नेपाल र भुसाल प्रधानमन्त्री देउवालाई भेट्न गएका थिए । अध्यक्ष नेपालले वाग्मतीसहित प्रदेश सरकारको नेतृत्व हेरफेरबारे माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका छन् । वाग्मतीमा एमाले र एकीकृत

समाजवादी मिल्छन् कि भन्ने भय गठबन्धनका अन्य दललाई छ । एकीकृत समाजवादीका १३ र एमालेका ४१ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा यी दुई पार्टी मिल्दा बहुमत पुग्छ । वाग्मतीमा माओवादीका २३ र कांग्रेसका २२ सांसद छन् ।

दाहालले माओवादी नेतृत्वका सरकार सुरक्षित होऊन् भनेर यो मुद्दा सकेसम्म नउचाल्ने दाउमा छन् । वाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारूढ पाँचदलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् । ‘वाग्मती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारूढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले शनिबार भनेका छन् । जटिलता बढेपछि एकीकृत समाजवादीले वाग्मती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बोलाएको छ ।

शनिबार दलको बैठक बस्ने र त्यहाँ पार्टी केन्द्रीय नेताहरूसँग परामर्श हुने एक नेताले बताए । संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देलले दलको बैठक बोलाइएको बताइन् । एमाले नेत्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढालेर गत वर्ष कात्तिक ११ मा चार दलले पाण्डेको नेतृत्वमा सरकार बनाएका थिए । पाण्डे नेतृत्वको सरकार बनाउँदा नै उनीहरूबीच कांग्रेसलाई आधा कार्यकाल दिने सहमति थियो ।

प्रकाशित : असार १८, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?