कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोइराला समूहको निष्कर्ष : ‘सरकार जनताप्रति उत्तरदायी भएन’ 

काठमाडौँ — नेपाली कांग्रेसको कोइराला समूहले सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको निष्कर्ष निकालेको छ । बिहीबार र शुक्रबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले सभापति देउवा सरकार सञ्चालनमा असफल बनेको निष्कर्ष निकालेको हो । 

कोइराला समूहको निष्कर्ष : ‘सरकार जनताप्रति उत्तरदायी भएन’ 

बैठकले सरकारका कामकारवाही जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको केन्द्रीय सदस्य गोविन्द पोखरेलले जानकारी दिए । ‘हाम्रै पार्टीको नेतृत्वमा सरकार छ, तर पार्टीकै कार्यकर्ताले सरकार छ भन्ने अनुभूति गर्न सकेको अवस्था छैन । सरकार सञ्चालनमा नेतृत्व असफल भएको छ, सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्न सकेन भन्ने हाम्रो निष्कर्ष हो,’ नेता पोखरेलले भने, ‘सरकारले जनजिविकालाई राहत हुने गरी काम गर्न सकेको छैन, हामीले यसतर्फ सरकार र प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ ।’

नेता पोखरेलले सभापति देउवाले पार्टीभन्दा गठबन्धनलाई महत्व दिएको र गठबन्धनकै सभापतिको रुपमा काम गरेको बताए । ‘उहाँ पार्टीको सभापति हो । तर उहाँको काम पार्टी सभापतिकोरुपमा देखिदैन । उहाँले कांग्रेसको सभापति भएर काम गर्ने प्रयास गर्नुभएको छैन,’ उनले भने ।

बैठकमा सरकार सञ्चालन, पार्टी महाधिवेशन पछिका छ महिना र मुलुकको पछिल्लो अवस्थाबारे छलफल भएको उनले बताए । ‘मुलुकको अर्थतन्त्र ठीक बाटोमा छैन । आर्थिक सुशासनको खिल्ली उडाइएको छ, व्यापकरुपमा नीतिगत भ्रष्टाचार मौलाएको छ,’ उनले भने, ‘हिजो केपी ओली हुँदा हामीले जुन कुराको विरोध गर्‍यौँ, आज पनि त्यही कुरा निरन्तर छ । त्यही प्रवृत्ति देखिन्छ ।’

उनले बैठकले पार्टी सभापति देउवाले पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको बताए ।

‘सभापतिजीले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई कुल्चिनुभएको छ । ती ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको पनि सभापति हुँ भन्ने उहाँले अनुभूति गर्नुभएको छैन, त्यस्तो अनुभूति दिलाउन सक्नुभएको छैन,’ उनले भने, ‘पार्टी विधिविधानअनुसार चलेको छैन । पार्टी विधानअनुसार चलोस् भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रकाशित : असार १७, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?