कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा चट्याङबाट बालकसहित ७ जनाको मृत्यु

काठमाडौँ — चट्याङबाट गएको २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । ३ जना घाइते भएका हुन् । गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालक केन्द्रका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् ।

२४ घण्टामा चट्याङबाट बालकसहित ७ जनाको मृत्यु

मनसुनी वर्षासँगै विभिन्‍न जिल्लाका १३ ठाउँँमा चट्याङ परेकोमा ७ जनाको मृत्यु र ३ जना घाइते भएका हुन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहारेन्ज बस्ने ३२ वर्षीय हरेन्द्रदास थारुको सोही खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार दिउँँसो मृत्यु भएको हो ।

बागलुङ, काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतका २८ वर्षीया सुस्मा पुनको कोठामै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।चट्याङबाट घाइते पुनको धवलागिरी अस्पताल बागलुङमा उपचारकाक्रममा मृत्यु भएको हो ।

यस्तै धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँँका ४२ वर्षीय लिलामान कुमालको चट्याङबाट गोठमा गाईलाई घाँस हाल्न गएको बेला मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता बाँके, राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरका ७ वर्षीय बालकको घरमै खेलिरहेको बेला चट्याङ लागेर घाइते भएकोमा नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै, पश्चिम नवलपरासी र कैलालीमा चट्याङबाट दुईजनाको मृत्यु भएको छ ।

नवलपरासीको रामग्राम नगरपालिका–१० की ६० वर्षीय एक महिला र कैलालीको कैलाली गाउँपालिका–१, रानामुराकी ५६ वर्षीय महिलाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । दुवैजना चट्याङबाट घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । चट्याङबाट आधा दर्जन जिल्ला उच्च जोखिममा छन् ।

२ वर्षअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन अनुसार ममकवानपुर जिल्ला चट्याङको सबैभन्दा उच्च जोखिममा रहेको औंल्याइएको थियो । त्यस्तै झापा, मोरङ, उदयपुर, मकवानपुर र चितवन, झापा र मोरङका उत्तर–दक्षिण भू-भाग, नारायणी नदीको दुवै तटीय क्षेत्र र चुरे तथा पर्वतका पूर्वदेखि पश्चिमसम्मका भू-भागलाई पनि चट्याङ्को उच्च जोखिममा समेटिएको थियो । तर, जोखिममा परेका क्षेत्रलाई बस्ती स्थानान्तरण वा चट्याङबाट बच्‍न अपनाउने उपायबारे सरकारले प्रभावकारी रुपमा पहल गरेको छैन । जोखिम औंल्याइएका क्षेत्रमा बसोबास गर्नेलाई दीर्घकालीन स्थानान्तरणमा पनि सरकारले पहल थालेको छैन ।

नेपालका चट्याङग्रस्त क्षेत्रलाई ‘इलेक्ट्रोनिक म्यापिङ’मा उतारे जनधनको क्षति रोक्न आवश्यक पहल गर्नुपर्ने प्राधिकरणले निष्कर्ष निकालेको थियो । तर, त्यसमा थप अध्ययन भएको छैन ।

चट्याङ प्राकृतिक विपद् भएका कारण आकाश गड्गडाउँदा र पानी परेका बेला जोखिमयुक्त क्षेत्रका नागरिक बाहिर निस्कदा पनि क्षति बढेको प्राधिकरणका अधिकारी बताउँछन् ।

भूगर्भविदहरुका अनुसार हरेक वर्षको चैतदेखि असारसम्म सबैभन्दा बढी चट्याङ पर्ने समय मानिन्छ । त्यसमध्ये पनि वैशाख १ देखि १५ गतेको बीच विश्वभर नै चट्याङबाट उच्च जोखिमयुक्त समयका रुपमा लिइने गरिन्छ । प्राधिरकरणले चट्याङबाट बच्‍न घरबाहिर ननिस्कन, खुल्ला चौर, नदी तथा पोखरी, रुखझाडी आसपास नबस्ने, विद्युतीय सुचालक हुने संरचनाबाट टाढै रहने एवं घरमा रहेका विद्युतीय सुचालकमा अनिवार्य अर्थिङ गर्ने जस्ता उपाय अपनाउन सुझाव दिएको छ ।

चट्याङका कारण नेपालमा सयभन्दा बढीले ज्यान गुमाउने गर्छन् । प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलका अनुसार चट्याङ परेको बेला अर्थिङ नगरिएका विद्युतीय उपकरण एवं त्यस ठाउँबाट १० किमि टाढासम्म त्यसको करेन्ट प्रवाह हुनसक्छ । जसका कारण विद्युतीय सामानमा क्षति पुग्नुका साथै विद्युत् सर्ट भई आगलागी पनि निम्तिन सक्छ ।

प्रकाशित : असार १५, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?