कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कृषिमन्त्रीलाई भेटेर पौडेलले भने, ‘धान दिवसमा शुभकामना होइन, किसानलाई मल दिऔँ’

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रोपाई गर्ने बेला किसानलाई मलको समस्या नहुने व्यवस्था गर्न माग गरेका छन् । अहिले किसानले खेतीबाली लगाउने मौसम छ । तर, किसानले मल अभावको समस्या भोगिरहेका छन् । नेता पौडेलले धान दिवसको सन्दर्भमा बुधबार कृषि तथा पशुपन्छीमन्त्री महेन्द्र राय यादवलाई भेटेर रोपाई गर्ने बेला मल अभावको समस्या भोगिरहेका किसानको समस्या तत्काल समाधान गर्न माग गरेका हुन् ।

कृषिमन्त्रीलाई भेटेर पौडेलले भने, ‘धान दिवसमा शुभकामना होइन, किसानलाई मल दिऔँ’

‘धान दिवसमा प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले शुभकामना दिनुभएको छ, तर किसानले रोपाईं गर्ने बेला मल पाएका छैनन् । बजारमा मल अभाव छ,’ पौडेलले कृषिमन्त्री यादवलाई भेटेर भने, ‘सरकारले शुभकामनामात्रै दिएर भएनँ, तत्काल मल अभावको समस्या समाधान गर्नुपर्‍यो ।’ उनले किसानलाई खेतीबाली लगाउने बेला मलको अभाव रहेको भन्दै राहतको कार्यक्रम ल्याउन सुझाव दिए ।

‘किसानले मल अभावको समस्या भोगिरहेका छन्, सरकारले किन मलको व्यवस्था गर्न सकिरहेको छैन ? भनेर कृषिमन्त्रीको ध्यानाकर्षण गराएको छु,’ नेता पौडेलले इकान्तिपुरसँग भने, ‘मलको समस्या तत्काल गर्न सरकारले ठोस् कदम चाल्नुपर्छ ।’ नेता पौडेलले सरकारले असार मसान्तभित्र ६७ हजार मेट्रिक टन मल आयात हुने बताएको जानकारी दिए ।

‘हामीलाई अहिले ७–८ लाख मेट्रिक टन मल चाहिने रहेछ, तर सरकारले ६७ हजार मेट्रिक टन मलमात्रै आयात गर्ने अवस्था रहेछ,’ उनले भने, ‘वर्षेनि यस्तो समस्या आउँछ, तर सरकारले दिर्घकालिन व्यवस्थापन गर्न सकिरहेको छैन, हामीले कृषिमन्त्रीजीलाई यसबारे ध्यानाकर्षण गराएका छौँ ।’

जवाफमा मन्त्री यादवले कोभिड–१९ को महामारी र अन्तर्राष्ट्रिय बजारमा भएको मुल्यवृद्धिका कारण मल अभाव भएको बताएका छन् । ‘सरकारले मल खरिदका लागि टेण्डर आव्हान गर्‍यो । तर, टेण्डर नै नपर्ने अवस्था भयो । अन्तर्राष्ट्रिय बजारमा मुल्यवृद्धि छ । त्यहीकारण तत्काल हामीले मल आयात गर्न सक्ने अवस्था रहेन,’ मन्त्री यादवले भनेका थिए ।

नेता पौडेलले किसानको समस्या सुल्झाउन प्रधानमन्त्रीस्तरबाटै पहल गर्न र किसानको समस्या समाधान गर्न मन्त्री यादवलाई सुझाव दिएका छन् ।

प्रकाशित : असार १५, २०७९ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×