प्रधानसेनापति शर्मा अमेरिकामा- समाचार - कान्तिपुर समाचार

प्रधानसेनापति शर्मा अमेरिकामा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा ५ दिने औपचारिक भ्रमणका लागि अमेरिका पुगेका छन् । उनी संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू रहेका लेबनान र सिरियामा निरीक्षण गरी त्यहाँ पुगेको नेपाली सेनाले जनाएको छ ।

शर्माले सोमबार भर्जिनियाको क्वान्टिमा अवस्थित नेसनल म्युजियम फ द मरिन क्रप्स र मरिन क्रप्स बेसको अवलोकन गरे । साथै, प्रधानसेनापति शर्माले त्यहाँका सैनिक अधिकारीहरुसँग भेटवार्ता पनि गरे ।

शर्माले मरिन क्रप्स कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण पनि गरे । शर्माले अमेरिकास्थित नेपाली राजदूत श्रीधर खत्रीसँग वासिङ्टन डीसीमा भेटवार्ता गरेका थिए । शर्मा न्युर्योकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा पनि जाने कार्यक्रम रहेको छ । उनी असार १७ मा फर्कने कार्यक्रम छ ।



प्रकाशित : असार १४, २०७९ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्

विरासत फर्काउँदै नरदेवी, सेवाग्राहीको चाप बढ्दो

बुनु थारु, तस्बिर : दिपेन्द्र रोक्का

काठमाडौँ — ललितपुरस्थित गोदावरीकी ७८ वर्षीया शारदा श्रेष्ठलाई घुँडा दुख्ने समस्या छ । भारत तथा नेपालका थुप्रै अस्पतालमा उपचार गराइन् । चिकित्सकले घुँडाको शल्यक्रिया गर्नुपर्छ भने । तर शल्यक्रिया गर्न मनले नमानेपछि उनी अरु विकल्पको खोजीमा लागिन् ।

कसैले उनलाई आयुर्वेद अस्पताल नरदेवी जान सुझाए । जहाँ हाल थेरापी गराइरहेकी छिन् उनी । नरदेवीका ५१ वर्षीय महेश प्रसाद गुप्तालाई हात तथा खुट्टा नचल्ने समस्या थियो । न्युरो अस्पतालमा जचाउँदा थेरापीले राम्रो हुन्छ भनेपछि उनी नरदेवी अस्पतालमा भर्ना भएका हुन् । हाल फिजियोथेरापी गराइरहेका उनका हात खुट्टा राम्ररी चल्न थालेका छन् ।

लाजिम्पाटका ५५ वर्षीय सरोज नेपाल नरदेवी अस्पतालमा पायल्सको अपरेसन गराएका छन् । हाल भर्ना भएर उपचार गराइरहेका उनले अस्पतालमा सस्तो अनि राम्रो सेवा भएको बताए । ‘पायल्स अपरेसनको लागि आयुर्वेदको विश्वास भएर आएको हो । बाहिरतिर महंगो पनि लिन्छन् । सेवा सुविधा राम्रो छ । शौचालयको सरसफाइमा थप ध्यान दिए अझै राम्रो हुन्छ,’ उनले भने ।

माथिका प्रतिनिधि पात्रजस्तै पुराना तथा बल्झिएका रोगको निदानका लागि काठमाडौंको नरदेवीस्थित आयुर्वेद चिकित्सालय बिरामीहरूको रोजाइ बन्न थालेको छ । कुनै समय जन्डिसको उपचार गरिने अस्पतालको रुपमा चिनिने यस अस्पताल नेपालको एक मात्र केन्द्रीय आयुर्वेद अस्पताल हो । वि.सं १९७४ सालमा स्थापित यो नेपालको तेस्रो पुरानो अस्पताल पनि हो ।

केही वर्षअघि व्यवस्थापन चुस्त नहुँदा अस्पतालमा अनाधिकृत पार्किङ हुने गर्दथे भने शौचालय दुर्गन्धित अनि सुईहरू फालिएका र अस्पतालको ठाउँ–ठाउँमा तारले जेलिएको देखिन्थ्यो । अस्पतालका निर्देशक डा प्रदीप केसी भन्छन्–‘ सुरुमा आउँदा व्यवस्थापकीय पाटो एकदमै कमजोर थियो। अस्पताल नै अस्पताल जस्तो थिएन । विवाहका गाडी पनि अस्पतालमै पार्किङ गरिएको हुन्थ्यो । क्यान्टिन पनि निकै फोहोर ।’

भद्रगोलको अवस्था रहेको अस्पताल हाल फेरिन थालेको छ । जथाभावी पार्किङ हुने पार्किङस्थलमा बगैँचा बनाइदिएपछि पार्किङ व्यवस्थित भएको छ नै अस्पतालको सौन्दर्य बढाएको छ । अस्पतालको सरसफाइमा पनि सुधार देखिएको त छ नै जेलिएका तारहरु पनि देखिँदैनन् । २०६५ सालदेखि २०७५ सालसम्म निमित्त निर्देशकको भरमा चलेको अस्पतालको सेवा उक्त अवधिमा खस्किएको अवस्थामा पुगेको थियो । निमित्त निर्देशकहरु २–३ महिनामै फेरिनाले पनि अस्पतालको सेवा राम्रो हुन सकेको थिएन । २०७६ साल असारमा निर्देशकको जिम्मेवारी सम्हालेका डा केसी भने टिक्न सफल भएका छन् । उनको नेतृत्वमा अस्पतालले काँचुली फेर्न थालेको छ ।

सेवा लिन आउनेको चाप बढ्यो

मुस्किलले दैनिक ५० बिरामी आउने यस अस्पतालमा हाल दैनिक २५० देखि ३०० सम्मका बिरामी आउन थालेका छन् । केन्द्रीय अस्पतालमा आउनुपर्ने बिरामीको संख्या कम भए पनि हाल बढिरहेको अवस्थामा सुखद मान्न सकिन्छ । अस्पतालमा धेरैजसो प्यारालाइसिस, मोटर न्युरोन डिजिज, नसासम्बन्धी रोग, पायल्स, फिस्टुलाको उपचारका लागि बढी बिरामी आउने गरेका छन् ।

फिजियोथेरापी, अकुपञ्चर, शिरोधारा, क्षारसुत्रको सेवा लिन आउनेको चाप बढेको छ । अस्पतालका अनुसार पायल्स, फिस्टुला लगायतको शल्यक्रिया एकदमै सर्वसुलभ रहेको छ । प्राइभेटमा ५० हजारसम्म लाग्ने यो शल्यक्रिया अस्पतालमा ५ हजारमै हुँदै आएका छन् ।

अस्पतालले राम्रो सेवा सुविधा दिएका कारण बिरामीहरूको आकर्षण बढ्दै गइरहेको निर्देशक डा केसी बताउँछन्। १०० बेड अस्पताल भनिए पनि हाल सबै बेड सञ्चालनमा आएका छैनन् तर बिरामी भर्ना हुने संख्या भने बढेको देखिन्छ । अस्पतालमा ४० देखि ५० हाराहारीमा बिरामी भर्ना भइरहेका छन् । अस्पतालको क्याबिन र कोभिडको समयमा सरकारले सहयोग गरेको २५ बेडको एचडीयु बेडमा बिरामी प्रायजसो प्याक हुने गरेका छन् ।

अस्पतालमा विकास समितिसहित १३० जना कर्मचारी कार्यरत छन् जसमा ९९ जना स्थायी दरबन्दीका रहेका छन् । विकास समतिका ३५ जना कर्मचारी रहेका छन् यद्यपि हाल विकास समिति खारेज भएको अवस्था छ । अस्पतालको दरबन्दी संरचना ३० वर्ष पुरानो रहेको छ जसले गर्दा दरबन्दी पुग्दो छैन र विशेषज्ञ जनशक्तिको कमी रहेको छ । दरबन्दी संरचनामा आयुर्वेदका नयाँ विधाजस्तै पञ्चकर्म, अकुपञ्चर लगायत व्यवस्था गर्नको लागि ओएनएम गर्ने योजना बनाएको निर्देशक डा केसीको जनाए।

कर्मचारीलाई प्रोत्साहन गर्ने हिसाबले विगत दुई वर्षदेखि अस्पतालको आम्दानीबाट आएको रकमले प्रोत्साहन भत्ता दिइँदै आएको छ ।‘विकास समितिले आयआर्जन गरेको केही हिस्सा सबैभन्दा बढी खटिएको शाखामा काम गर्ने कर्मचारी र अस्पतालका सम्पूर्ण कर्मचारीले पनि केही हिस्सा पाउन् भनेर प्रोत्साहन भत्ता दिन थालिएको हो । समितिको कुल आम्दानीको ५० प्रतिशत आमदानी विकास समितिमै राखी बाँकी रहेको ५० प्रतिशत आम्दानीलाई १०० प्रतिशत मानेर त्यसको ७० प्रतिशत रकम सम्बन्धित शाखालाई र ३० प्रतिशत रकम अस्पतालका अन्य कर्मचारीलाई प्रोत्साहन स्वरूप बाँड्छौं । जुन शाखाबाट बढी आमदानी भएको छ त्यसको अनुपातमा ती शाखाका कर्मचारीलाई ७० प्रतिशत रकम प्राप्त हुन्छ र बाँकी ३० प्रतिशत अरु शाखामा खटिएका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिइन्छ,' उनले भने ।

नयाँ भवनबाट थप सेवा विस्तार गरिने

हाल अस्पतालले ‘ब्लक ए’, ‘ब्लक बी’ र ‘ब्लक सी’ गरी तीनवटा भवनबाट सेवा दिइरहेको छ । स्थापनाको १०० वर्ष नाघिसकेको अस्पतालका भवनको संरचना पूराना हुँदै गएका छन् । २०७६ सालमा हस्तान्तरण गरिएको ‘ब्लक ए’ भवन बाहेक सबै भवन पुराना हुन् । प्रशासनिक भवन ठाउँ–ठाउँमा चर्किएका छन् भने बर्खाका बेला पानी पनि चुहिने गरेको छ ।अकपुञ्चर, थेरापी गराइने पुरानो भवनमा लिफ्ट छैन । ह्विलचेयर दोस्रो तलासम्म मात्र जाने गरेको छ । अशक्त बिरामीलाई असहज हुने गरेको छ । हाल अस्पतालको ब्लक बी भवनमा लिफ्ट राख्ने तयारी थालिएको छ ।

अस्पतालले स्थापनाको १०३ वर्षपछि नयाँ भवन पाएको थियो । यो भवनमा ओपीडी सेवाका साथै शल्यचिकित्साका सेवा रहेका छन् । त्यसैगरी अस्पताल पछाडिपट्टि खण्डहरजस्तै लाग्ने नर्सिङ क्वाटर र मेसु क्वाटर छन् । पहेंला रङ लगाइएका घरहरू रङ खुइलिएका जीर्ण अवस्थामा छन् । उक्त जीर्ण घरमा पनि कर्मचारीहरू बस्न बाध्य छन् । हाल सोही स्थानमा नयाँ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले भूपरीक्षणको काम गरिरहेको छ ।

अस्पतालमा हालसम्म एमआरआइ, सीटी स्क्यानलगायत सेवा सुविधाहरू छैनन् । स्थापना हुने नयाँ भवनमा प्रयोगशालाका थप सुविधाका साथै पञ्चकर्म सेवा विस्तार गरिने अस्पताले प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक डा केसीले आधुनिक मापदण्डसहित नयाँ बन्ने भवनमा अस्पतालको थप सेवा विस्तार गरिने जनाए । अस्पतालले २४ थरीका औषधिहरू उत्पादन गर्दै आएको छ जुन आवश्यकता अनुसार बिरामीलाई निःशुल्क बाँडिन्छ बाँकी औषधि सेवाग्राहीहरूले अस्पतालको फार्मेसीबाट लिनुपर्छ ।

यो आर्थिक वर्षमा अस्पतालको लागि बजेट ७ करोड ५३ लाख करोड छुट्याइएको छ। उक्त बजेटमध्ये ६ करोडमाथि कर्मचारीको तलबमा खर्च हुने गरेको छ । डा केसीका अनुसार पुग्दो नभए पनि बिरामीलाई राम्रो सेवा दिने प्रयासरत रहेको बताए ।

अस्पतालका वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ डा शोभाराम सुवेदी पुराना कर्मचारीमध्येका एक हुन्। उनले अस्पतालमा बिरामीको चाप बढिरहेको बताए । उनले भने–‘सेवा बिस्तार हुँदैछ । २०६० तिर राम्रो थियो । बीचमा अस्पताल खस्किएको थियो हाल पुनः सुधारोन्मुख छ । गोष्ठी, तालिम, स्वास्थ्य शिविर बढे अझ राम्रो हुन्छ।’

नेपाल आयुर्वेदिक चिकित्सक संघका निवर्तमान अध्यक्ष डा प्रकाश ज्ञवालीले अस्पतालले सेवा बिस्तारसँगै दरबन्दी पनि थप्न ध्यान दिनुपर्ने बताउँछन् । डा ज्ञवाली भन्छन्– ‘अस्पतालले विशिष्टिकृत सेवा दिन थालेको छ जसले गर्दा बिरामीको संख्या बढ्न थालेको छ । आयुर्वेदको मुटु मानिने पञ्चकर्म सेवा पनि राम्रो छ । विभिन्न शल्यक्रिया सुलभ छ जसले गर्दा बिरामी ठगिनबाट जोगिएका छन् । सेवा विस्तारसँगै दरबन्दी पनि थप्नु पर्ने आवश्यकता देखिन्छ । २४ सै घण्टा सेवा विस्तार गर्नेमा पनि अस्पतालले ध्यान दिनुपर्छ।’

प्रकाशित : असार १४, २०७९ २०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×