कार्यान्वयन हुँदैन खानेपानी गुणस्तर मापदण्ड- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यान्वयन हुँदैन खानेपानी गुणस्तर मापदण्ड

सीमा तामाङ

काठमाडौँ — गुणस्तरीय खानेपानी उपलब्ध गराउन भन्दै सरकारले पटक–पटक मापदण्ड र निर्देशिका ल्याए पनि कार्यान्वयन गर्न नसक्दा उपभोक्ता दूषित पानी खान बाध्य छन् । खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नै तीन वर्षदेखि संसद्मा थन्किँदा मापदण्डविपरीत काम गर्ने आपूर्तिकर्तालाई कारबाही गर्ने आधार छैन । पटक–पटक ल्याइने खानेपानी मापदण्ड कार्यान्वयन गर्न ऐन/कानुन नआउँदा समस्या देखिएको हो ।

२०६२ मा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड र यसको कार्यान्वयन निर्देशिका ल्याएको सरकारले गत असार २ मा जलस्रोत ऐन २०४९ को दफा १८ को उपदफा १ अनुसार खानेपानी गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशन गरेको छ । खानेपानीको गुणस्तर मापदण्ड कार्यान्वयन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), उपभोक्ता समिति, खानेपानी संस्थान, खानेपानी व्यवस्थापन बोर्डलगायत जार, मिनरल वाटर बेच्ने कम्पनी जिम्मेवार बनाउनुपर्छ । तर, कानुन ल्याएर मात्रै जिम्मेवार बनाउन सकिने खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक कमलराज श्रेष्ठ बताउँछन् । ‘आपूर्तिकर्ताले मापदण्ड अनुसार काम गरेका छैनन् भने कारबाही गर्न सक्ने ऐन ल्याउनुपर्‍यो,’ उनले भने, ‘ऐन पारित भएपछि मात्र आपूर्तिकर्तालाई कानुनी दायरामा ल्याउन सकिन्छ ।’

खानेपानी गुणस्तर मापदण्ड २०७९ मा अनिवार्य परीक्षण गर्नुपर्ने र जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभाजन गरिएको छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ मा २७ वटा पारामिटर थिए भने अहिलेको मापदण्डमा नाइट्राइट थपेर २८ वटा बनाइएको छ । पानीमा भएको एमोनियालाई नाइट्रिफिकेसनको प्रक्रियामार्फत नाइट्राइट हुँदै नाइट्रेटमा परिणत हुने उपमहानिर्देशक श्रेष्ठले बताए । मापदण्डमा भौतिक, रासायनिक र सूक्ष्म जैविक छुट्याइएको छ । २०६२ मा रासायनिक पारामिटरअन्तर्गत क्लोरिन प्रयोग हुने प्रणालीमा क्लोरिन अवशेष पारामिटर ० दशमलव १० देखि अधिकतम ० दशमलव २० मात्र थियो । अहिलेको मापदण्डमा न्यूनतम ० दशमलव १० देखि अधिकतम ० दशमलव ५० (मि.ग्रा./लि.) हुनुपर्ने उल्लेख छ । थप प्रदूषण हुनबाट जोगाउन हालको मापदण्डमा क्लोरिनको भ्यालु बढाइएको विभागका उपमहानिर्देशक श्रेष्ठले बताए । अहिलेको मापदण्डमा १९ वटा पारामिटर अनिवार्य परीक्षण गर्नुपर्ने र ९ वटा आवश्यक र जोखिमको आधारमा गर्न सकिनेछ ।

जनस्वास्थ्य विज्ञ शरद वन्तले पानीबाट सर्ने रोगमध्ये हैजा एक रहेको बताए । ‘राज्यले वितरण गर्ने, प्राकृतिक र बजारबाट पूर्ति हुने पानी नै हाम्रो स्रोत हो,’ उनले भने, ‘राज्यले वितरण गर्ने स्रोत सुरक्षित हुनुपर्छ, मुहान र पानीको स्रोतको परीक्षणमा सरकारले जोड दिनुपर्छ, बजारबाट पूर्ति हुने पानी र तिनका कारखानाको निगरानी गर्नुपर्छ ।’

३ वर्षदेखि विधेयक संसद्‍मै
तत्कालीन मन्त्री बिना मगरले २०७६ जेठ ५ गते नै प्रतिनिधिसभामा दर्ता गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (खानेपानी तथा सरसफाइ ऐन, २०७६’ हालसम्म पारित भएको छैन । विकास तथा प्रविधि समितिले दफवार छलफल गरी प्रतिनिधिसभामा ०७७ असार ४ गते प्रतिवेदन पेस गरिसकेको छ । विधेयकमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खानेपानीको गुणस्तर र मापदण्ड तथा सरसफाइ सेवासम्बन्धी मापदण्ड तोक्न सक्ने व्यवस्था छ । यस्तै, मापदण्डले तोकेको गुणस्तरभन्दा न्यून नहुने गरी प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नो क्षेत्रका लागि खानेपानी तथा सरसफाइ सम्बन्धमा आवश्यक मापदण्ड तोक्न सक्ने विधेयकमा उल्लेख छ ।

परिच्छेद ९ को दफा ४३ को उपदफा २ मा सरकारले तोकेको गुणस्तर तथा मापदण्डबमोजिमको खानेपानी आपूर्ति नगरेमा तीन महिनादेखि १ वर्षसम्म कैद वा पाँच लाखसम्म जरिवाना हुने वा दुवै सजाय हुने उल्लेख छ । दफा ४४ को उपदफा १ मा अनुमतिपत्र प्राप्त संस्थाले तोकिएको मापदण्डबमोजिम खानेपानी उपलब्ध नगराएको प्रमाणित भएमा वा त्यो खानेपानी उपयोग गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न गएमा अनुमतिपत्र प्राप्त संस्थाले उपभोक्तालाई तोकिएबमोजिमको क्षतिपूर्ति भराइदिनुपर्ने विधेयकमा छ ।

प्रकाशित : असार १४, २०७९ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्

सर्पको डसाइले अकालमै मृत्यु, जिल्लामा छैन उपचार

‘उपचारका लागि भारतीय बजार जाने गर्छौं तर महाकालीमा पुल नभएकाले वर्षात्मा डुंगा र ट्युबबाट नदी तर्न गाह्रो भएर जान सकिँदैन’
तृप्ति शाही

बैतडी — बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–१ कुस्मौत निवासी करन साउदकी १४ वर्षकी छोरी मनीषाको विषालु सर्पले डसेर मृत्यु भयो । शनिबार बिहान ९ बजेतिर घरकै भित्ताको दुलोबाट आएको सर्पले टोकेर उनको मृत्यु भएको हो । सर्पले टोकेपछि मनीषाले उपचारै नपाएर ज्यान गुमाइन् । सर्पले टोकेको डेढ घण्टामै छोरीको मृत्यु भएको उनका ठूलाबुवा वीरबहादुर साउदले बताए ।

नजिकैका स्वास्थ्य संस्थामा उपचार नहुने भएपछि कहाँ लैजाने भन्ने अलमलमै भएको बेला छोरीको मृत्यु भइसकेको साउदले बताए । समयमै उपचार पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने मनमा लागिरहेको उनले सुनाए । ‘यहाँ त दुर्गम छ । ४ घण्टा बढी पैदल हिँडेपछि मात्र सडकमा पुगिन्छ । त्यहाँबाट पनि जिल्ला सदरमुकाम वा डडेलधुरा जान ७/८ घण्टा लागिहाल्छ,’ उनले भने, ‘त्यहाँसम्म पुगाउँदा त बिरामीको मृत्यु नै भइसक्छ । उपचारका लागि भारतीय बजार जाने गर्छौं तर महाकालीमा पुल नभएकाले वर्षात्मा डुंगा र ट्युबबाट नदी तर्न गाह्रो भएर जान सकिँदैन ।’

सर्पले टोकेर मृत्यु हुनेमा मनीषा मात्र होइनन् । तल्लोस्वराड क्षेत्रमा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा बर्सेनि २/४ जनाले सर्पको टोकाइका कारण ज्यान गुमाउनुपर्ने बाध्यता छ । स्थानीयका अनुसार एक पालिकामा गर्मी सुरु भएसँगै २/४ जनाले ज्यान गुमाउँछन् । अहिलेसम्म कति जनाले सर्पले टोकेर ज्यान गुमाए भन्ने तथ्यांक भने कसैसँग छैन । पालिकाले पनि यसमा चासो दिएका छैनन् । स्वास्थ्य संस्थाहरूमा पनि योबारे जानकारी नै हुँदैन ।

गत वर्ष पनि सर्पको टोकाइबाट आफूले ११ वर्षको छोरालाई गुमाएको पञ्चेश्वर गाउॅपालिका– ४ आमचौराका स्थानीय चमन सार्कीले बताए । उपचारै नपाएर आँखै अगाडि छोराको मृत्यु भएको उनले दुखेसो पोखे । उनले भने, ‘यहाँ त मैले जस्तै धेरैले आफन्त गुमाएका छन् । पीडा ज्यान गुमाउनेका आफन्तले मात्र भोगेका छन् । अरुलाई केही वास्ता छैन । पालिकामै उपचार हुने भए यसरी अकालमै मान्छेको मृत्यु हुनबाट जोगाउन सकिन्थ्यो होला । तर के गर्नु ?’

शिवनाथ र पञ्चेश्वरको महाकाली किनारमा तराईकै जस्तै गर्मी हुन्छ । गर्मी र वर्षात्मा सर्पको बढी देखिने पञ्चेश्वर गाउँपालिका— २ अम्रराडका स्थानीय मोहनबहादुर चन्दले बताए । सर्पको टोकाइबाट उपचारै नपाएर ज्यान जाने गरेको छ । उनले भने, ‘एकातिर गाउँमा सर्पदंशको उपचार हुने सुविधा छैन । अर्कोतिर उपचारका लागि स्वास्थ्य संस्था लैजानुपर्छ भन्ने चेतना पनि धेरैमा छैन । सबैले झारफुक मात्र गर्छन् । यसले निको हुन्छ भन्दाभन्दै ज्यान गइसक्छ ।’ अस्पताल लिएपछि सन्चो हुन्छ भन्ने थाहा पनि स्थानीयलाई नभएको उनको भनाइ छ । यसरी बर्सेनि २ पालिका गरी ७/८ जनाले उपचारै नपाएर ज्यान गुमाउँदा पनि कतैबाट केही चासो नभएको उनले बताए । अव्यवस्थित घरले गर्दा घरमै सर्पले टोकेर त्यहाँका स्थानीय ज्यान गुमाइरहेका पञ्चेश्वरका स्थानीय नरेन्द्र कलौनी बताउँछन् । स्थानीयहरू पनि उपचारको लागि स्वास्थ्य संस्थामा लैजानुको साटो परम्परागत झारफुक गर्ने गरेका उनले बताए ।

सर्पले टोके पनि स्वास्थ्य संस्थामा भने खासै नआउने गरेको पञ्चेश्वर गाउँपालिका–१ को पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्की बताउँछन् । स्वास्थ्य संस्थाहरूमा प्राथमिक उपचार मात्र हुने गरेको उनले बताए । जिल्लामै सर्पदंशको उपचार हुँदैन । सर्पले टोकेपछि प्राथमिक उपचारबाहेक अन्य उपचार सेवा जिल्लामा नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उपचारका लागि डडेल्धुरा वा धनगढी जानुपर्ने अवस्था रहेको उनले बताए ।

प्रकाशित : असार १४, २०७९ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×