कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

सहर पस्दै अजिंगर

संरक्षणकर्मी भन्छन्– ‘बस्तीमै अजिंगर भेटिन थाल्नु भनेको उसको बासस्थान मासिँदै जानु पनि हो’
पर्वत पोर्तेल

काँकडभिट्टा — काँकडभिट्टाको बर्मेली टोलका गणेश खनालको खोरबाट शुक्रबार तीनवटा लोकल कुखुरा हराए । यसअघि उनको खोरबाट कहिल्यै कुखुरा चोरी भएको थिएन । स्याल पसेर लग्यो कि, मान्छेले नै आँखा लगाए कि, उनले अड्कल काट्न सकेनन् । तर भतिज राजु खनालले एउटा भिडियो पठाइदिएपछि उनी प्रस्ट भए, कुखुरा कसरी गायब भएको रहेछ ।

सहर पस्दै अजिंगर

भतिजले पठाएको भिडियोमा पर्खाल नाघेर झाडीतिर लम्किँदै गरेको बडेमानको अजिंगर थियो । घरछेवै अजिंगर देखेपछि हत्त न पत्त राजुले त्यसको भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखे र त्यसको लिंक काकालाई पठाइदिएका थिए । भिडियो हेरेपछि गणेशले निष्कर्ष निकाले– हराएका कुखुरा त अजिंगरको आहारा पो भएका रहेछन् ।

राजुले असार १० मा दिउँसो करिब ३ बजे खिचेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ हुन नपाउँदै वन र प्रहरी कार्यालयको टोली आइपुग्यो । व्यापारी प्रदीप मित्तलको वर्षौंदेखि बाँझो रहेको जमिनभित्र अजिंगर पसेको भिडियोमा देखिन्थ्यो । कपाउन्ड वालले घेरेको जग्गा वर्षौंदेखि बाँझो रहँदा बाक्लो झाडीले भरिएको थियो । त्यहीं लुकेको आशंकामा एक्स्काभेटरको प्रयोग गरेर अजिंगरको खोजी भयो तर एक घण्टासम्म खोज्दा पनि भेटिएन ।

सोमबार बिहान अचानक त्यही अजिंगर स्थानीयले सोही कम्पाउन्डभित्रै फेला पारे । प्रहरीको सहयोगमा पक्रेर डिभिजन वन कार्यालय झापाको टोलीलाई बुझाए । वन कार्यालयले उक्त अजिंगर जंगली जनावर र जीवजन्तुलाई संरक्षण गर्दै आएको मेचीनगरको बाँसबारी सामुदायिक वनलाई दियो । वन कार्यालयका रेन्जर कुलबहादुर भट्टराईका अनुसार १३ किलो तौलको अजिंगर ८ फिट लामो छ ।

गत वर्ष दमकको बसपार्क क्षेत्रमा पनि अजिंगर भेटिएको थियो । नजिकै रतुवा नदी भएकाले नदीको भेलले बगाएर ल्याएको आशंका गरियो । त्यसअघि सदरमुकाम भद्रपुरमा त लक्ष्मण प्रधानको घरमै अजिंगर फेला परेको थियो ।

अजिंगर प्रायः घना जंगल र ओसिलो (सिमसार) जमिनमा बस्न रुचाउँछ । रूखको ठूला–ठूला मुढा र सुकेका पातमा पनि लुकेर बस्छ । कहिलेकाहीँ नदी र ठूला पोखरी आसपास घाँसे मैदानमा पनि भेटिन्छ । ‘गाउँघर र वनजंगल आसपास त अजिंगर भेटिनु सामान्य नै हो,’ रेन्जर भट्टराईले भने, ‘तर, सहरबजारमा नै फेला पर्न थाल्नु अनौठो कुरा हो ।’ झापाको जलथल, चारआलीलगायतका जंगलमा अजिंगर बढी पाइन्छ । भट्टराईले अजिंगर बर्खाको भेलसँगै बग्दै आएर सुरक्षित आश्रयका लागि सहरको झाडीमा लुकेको हुन सक्ने आशंका गरे ।

स्थानीयले पनि विगतमा कहिल्यै नदेखिएका कारण अन्यत्रबाट आएर बसेको अनुमान गरेका छन् । स्थानीय गोविन्द घिमिरेले पहिला कहिल्यै नदेखिएका कारण ५–७ दिनअघि आएर झाडीमा लुकेर बसेको हुन सक्ने बताए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलका अनुसार अजिंगर सहरमा भेटिन थाल्नु भनेको उसको बासस्थान मासिँदै जानु पनि हो ।

प्रकाशित : असार १४, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?