कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२७ वर्षपछि महाकालीको पानी

टनकपुर ब्यारेजबाट नेपालले बर्खामा एक हजार क्युसेक र हिउँदमा साढे तीन सय क्युसेक पानी पाउने
भवानी भट्ट

कञ्चनपुर — महाकाली सन्धिको २७ बर्षपछि नेपालले टनकपुर ब्यारेजबाट पानी पाएको छ । टनकपुर ब्यारेज नजिकै निर्माण गरिएको इन्टेकबाट नेपालतर्फ ब्रह्मदेव नहरमा महाकाली नदीको पानी छाडिएको हो । पहिलो दिन करिब एक मिटरसम्म पानी छाडिएको छ । उक्त पानी खाली गरेर पुन: नहरमा भरिनेछ । दुई/तीन दिन यसैगरी परीक्षणपश्चात् नेपालतर्फको नहरमा पानी छाडिनेछ ।

२७ वर्षपछि महाकालीको पानी

महाकाली सिँचाइ आयोजना तेस्रो चरणमा नहरको परीक्षण गरिएको हो । २०५२ माघ २९ मा नेपाल–भारतबीच महाकाली सन्धि भएको थियो । सन्धि भएको लामो समयसम्म नहर निर्माण प्रक्रिया नै अघि बढेन । नेपालले २०६३ मा नहर निर्माण थाले पनि भारतले आफ्नो भूभागमा पर्ने १२ सय मिटर नहर यसैवर्ष निर्माण सकेको हो । ‘अब एक/दुई दिन परीक्षणपश्चात् नेपालतर्फको नहरमा पानी आउनेछ,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले बर्खामा एक हजार क्युसेक र हिउँदमा साढे तीन सय क्युसेक पानी पाउनेछ ।

असार १५ मा धान दिवसका अवसर पारेर तेस्रो चरणको नहरबाटै रोपाइँ गर्ने कार्यक्रम तय भएको आयोजना निर्देशक बमले बताए । उनका अनुसार बेदकोट नगरपालिकाको बगुन क्षेत्रमा रोपाइँ कार्यक्रम तय भएको छ । ‘अहिले भारतले आफ्नो क्षेत्रमा बनेको नहरको परीक्षण गरिरहेको छ,’ उनले भने, ‘नहरमा पानी भर्ने र खाली गर्ने काम भइरहेको छ, खाली गरेको पानी नेपालतर्फ नहरमा बगाइनेछ, सोही पानीबाट बगुन क्षेत्रमा रोपाइँ गरिनेछ ।’ नेपालतर्फ निर्माण सम्पन्न भएको साढे २८ किलोमिटर मूल नहरको परीक्षणपश्चात् १० क्युसेक पानी नियमित रूपमा सञ्चालन गरिनेछ । उक्त पानी मुसेपानी र स्याली नदीमा छाडिनेछ । शाखा नहरहरू निर्माण नभएका कारण अहिले नदीमा छाड्नुपरेको बमले बताए ।

मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माण प्रक्रिया पनि सुरु भएको छ । २२ वटा शाखा नहर निर्माणका लागि जमिन अधिग्रहणदेखि डिजाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत मूल नहरसँगै शाखा नहर निर्माणका लागि बजेट विनियोजन गरेको छ । २२ वटा शाखा नहर निर्माण भएपछि ५३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । शाखा नहर निर्माणका लागि ८ हेक्टर जमिन अधिग्रहण गर्नुपर्नेछ ।

२०६३ मा निर्माण सुरु भएको उक्त आयोजनाको हालसम्म साढे २८ किलोमिटर मूल नहर निर्माण भएको छ । थप १० किलोमिटर नहर निर्माणको प्रक्रिया अघि बढेको छ । दुई वर्षअघि उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपछि निर्माण कार्यले गति लिएको हो । कैलालीको मालाखेती र कञ्चनपुरका दक्षिणी क्षेत्र पुनर्वाससम्मै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको नहरको लम्बाइ १ सय ५१ किलोमिटर छ ।

तेस्रो चरणअन्तर्गत नै दोधारा चाँदनीमा पनि नहर निर्माणको प्रक्रिया यसै वर्ष सुरु गरिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यस वर्ष जमिन अधिग्रहणको काम हुनेछ । दोधारा चाँदनीमा १६ किलोमिटर मूल नहर निर्माणपछि ३५ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । यो नहरमा भारतले शारदा नहरबाट पानी दिनेछ । त्यहाँ पनि नेपाल–भारत सीमासम्म १२ सय मिटर नहर भारतले नै निर्माण गर्नुपर्नेछ । भारतलाई उक्त नहर निर्माणका लागि दबाब दिनसमेत नेपालतर्फ चाँडै काम सुरु गर्नुपर्ने अवस्था आएको आयोजनाका प्राविधिकहरू बताउँछन् ।

भारतको नेसनल हाइड्रो पावर कर्पाेरेसन (एनएचपीसी) का महाप्रबन्धक गोपालसिंह विष्टले सोमबार नहरमा पानी सञ्चालनको शुभारम्भ गरे ।

प्रकाशित : असार १४, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?