लिफ्ट मागेर कर्मचारीलाई लुटपाट गर्ने तीन जना भारतीय पक्राउ

धनगढी — कैलालीको गोदावरीमा सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारी कुटपिट गर्ने ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेद जोशीका अनुसार नेपाली कर्मचारीलाई कुटपिट गरी उनको कारसमेत लुटेर फरार भएका भारतको हरियाणा राज्यका २१ वर्षीय भगत सिंह, २० वर्षीय सन्नी जाट र १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई स्थानीयवासीको सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका–१ को एैश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको डीएसपी जोशीले बताए ।
धनगढी–अत्तरिया सडकखण्डनजिक रैकवार विचवाको शान्तिपुर जाने भित्री मार्गमा लुटिएको प्रदेश ३—०१—२३ च ८७२१ नम्बरको कारसमेत फेला परेको डीएसपी जोशीले जानकारी दिए । उक्त कार कम्प्युटर अपरेटर भण्डारीको हो । आफै कार चलाएर गन्तव्यतर्फ गइरहेका बेला उनी लुटिएका हुन् ।
गोदावरीनजिक रोकेर तेल हालिदिने सर्तमा उनीहरूले केही माथिसम्म लगि लिफ्ट मागेको भण्डारीले जानकारी दिएका छन् । डीएसपी जोशीका अनुसार गोदावरीमाथि पुगेपछि उनीहरुले फोटो खिच्ने बहानामा गाडी रोकाएर राजमार्गभन्दा ५० मिटर तल झाडीमा लगेर भण्डारीमाथि कुटपिट र गाडीसमेत लुटेर लगेका थिए ।
उनीहरूले भण्डारीलाई गम्छाले मुख बाँधेर, हातखुट्टासमेत बाँधेर कुटपिट गरेका थिए । ढुंगा प्रहारबाट उनको टाउकोमा चोटसमेत लागेको छ । भण्डारीसँग रहेको केही नगद र एटीएम कार्डसमेत लुटिएको थियो । उनको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान सुरु भएको र लुटेराहरुसँग बयान र सोधपुछपछि घटनाबारे थप जानकारी हुने डीएसपी जोशीले बताए ।
प्रकाशित : असार १३, २०७९ १९:२१