कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर हिसान शैक्षिक मेलामा २ लाख सहभागी

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिएर आयोजित ४ दिने कान्तिपुर हिसान बृहत् शैक्षिक मेला (एडुफेयर) सोमबार सकिएको छ । मेलाको अन्तिम दिन ७५ हजार जना विद्यार्थी अभिभावकले मेलाको अवलोकन गरेका छन् ।

कान्तिपुर हिसान शैक्षिक मेलामा २ लाख सहभागी

काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा जारी मेलामा २ लाख जना सहभागी भएको संयोजक युवराज शर्माले जानकारी दिए । सोमबार पनि बिहानदेखि साँझसम्म विद्यार्थी, अभिभावकको भीडभाड भएको थियो ।

एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको हो । गत असार १० गते शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको समुद्घाटन गरेका थिए । उनले सरकार र निजी क्षेत्रले लगानी वृद्धि गर्न सके नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताएका थिए । त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शैक्षिक मेलाले विद्यार्थीलाई स्वेदशी शिक्षणसंस्थामा अध्ययन गर्न प्रोत्साहन गर्ने बताएका थिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त रूपमा सातौं मेलाको आयोजना गरेका हुन् । कोभिडपछि पहिलो पटक आयोजित मेलामा उत्साहजनक सहभागिता पाइएको आयोजकले जनाएको छ । नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन एडुफेयर आयोजना गरिएको हो । मेलामा १ हजारभन्दा बढी विद्यार्थीको लागि पूर्ण तथा आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

अवलोकनमा सहभागी विद्यार्थी अभिभावकले शैक्षिक सूचना प्राप्त गर्न मेला फलदायी रहेको बताएका छन् । मेलामा ७४ वटा शिक्षणसंस्थाको स्टल रहेको थियो । स्टलबाट विज्ञ, शिक्षक, शिक्षणसंस्था सञ्चालक, विद्यार्थीले अभिभावक र विद्यार्थीलाई काउन्सिलिङ गरेका थिए ।

विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षणसंस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइएको थियो । मेलामा विद्यालय तहदेखि विभिन्न विश्वविद्यालयका सम्बन्धन र प्राविधिक तथा व्यावसायिक शिक्षा दिने शिक्षण संस्थाका बारेमा जानकारी दिइएको थियो ।

मेलाको प्रत्यक्ष अवलोकन गर्न नसक्ने विशेष गरी काठमाडौंबाहिरका विद्यार्थी अभिभावकलाई लक्षित गरी अनलाइन सुविधा उपलब्ध गराइएको थियो । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि छिट्टै उच्चशिक्षा मेला आयोजना गरिने हिसानले जनाएको छ ।

प्रकाशित : असार १३, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?