कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई दाहालको प्रश्न : १९ पृष्ठको दस्तावेज कसले जन्मायो ?

'केपी ओली नेतृत्वको सरकारले एसपीपी गरेर सैन्य गठबन्धनतिर लैजाने कामको सुरुआत गरेको हो'

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तन अनुसारको व्यवस्था केपी ओलीले आत्मसाथ नगर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा विवाद उत्पन्न भएको बताएका छन् । उनले तत्कालीन नेकपाभित्र विवाद कसले जन्माएको हो भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

ओलीलाई दाहालको प्रश्न : १९ पृष्ठको दस्तावेज कसले जन्मायो ?

कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको 'नेपालमा समाजवाद चुनौती र सम्भावना' विषयक अन्तरक्रिया कार्यक्रममा दाहालले ओलीका कारण नै नेकपामा विवाद उत्पन्न भएको र त्यसको परिणाम कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको बताए ।

नेकपामा ओलीविरुद्ध १९ पृष्ठको दस्तावेज ल्याएको कुरालाई लिएर दाहालले प्रश्न गरे, 'आजभोलि केपी ओलीले जसलाई पनि त्यो १९ पृष्ठको दस्तावेजले खतम बनायो भन्नुहुन्छ । त्यो १९ पृष्ठको दस्तावेज कसले जन्मायो ?'

तत्कालीन अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका रूपमा ओलीले गरेको व्यवहारका उक्त दस्तावेज ल्याउनुपर्को र त्यो आफ्नो मात्रै नभएको दाहालको भनाइ थियो । 'त्यो दस्तावेज झलनाथ, माधव, वामदेव गौतमको पनि हो । आजभोलि वामदेवजीले आजभोलि छ्यास्स केही भन्नुहुन्छ । अझ त्योभित्र लेखेको कुराको बढी सुझाव वामदेवजीको थियो । इतिहास र सच्चाइलाई आत्मसाथ गर्नुपर्छ,' उनले भने, 'कम्युनिस्ट पार्टीभित्र यस्तै प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, संविधान विरोधी, संघीय लोकतान्त्रिक गणतन्त्र विरोधीको कारणले हामीले बाध्य भएर सच्चाइ जनताको अगाडि ल्याउन परेको होइन ?'

पछिल्लो समय वामदेव गौतमले कम्युनिस्ट एकता अभियान चलाइरहेका छन् । उनले तत्कालीन नेकपामा विवाद आउनुको कारक तत्कालीन अध्यक्ष पुष्पकमल दाहालको १९ पृष्ठको दस्तावेज भएको र त्यो फिर्ता लिएको भए नेकपा एक रहन्थ्यो भन्न लागेका छन् । ओलीले पनि १९ पृष्ठको दस्तावेजले नेकपा एकता भाँडिएको भन्दै आएका छन् । सोही विषयलाई लिएर दाहालले जवाफ दिएका हुन् ।

दाहालले कम्युनिस्ट सबैलाई मिलाउन खोजेको तर नेतृत्वमा रहेका ओलीले पार्टीमा निषेधको अवस्था ल्याएको बताए । सहयोगीलाई देख्नै नचाहने र पार्टीमा छलफल नगर्ने व्यवहारले नेकपामा विवाद भएको उनको भनाइ थियो ।

त्यस्तै, दाहालले एसपीपीमार्फत केपी ओलीले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा लान लागेको भए पनि वर्तमान सरकारले त्यसलाई रोकेको बताए ।

'एसपीपीलाई खारेज गराउनेमा नेतृत्वदायी भूमिका पनि हामीले नै खेलेको हो । कसैले इन्कार गर्न सक्दैन, इन्कार गर्न हुँदैन । यो एसपीपी कहाँबाट आएको हो ? केपी ओली नेतृत्वको सरकारले एसपीपी गरेर सैन्य गठबन्धनतिर लैजाने कामको सुरुवात गरेको हो । यसको जिम्मा उनले नै लिनपर्छ, हामी चाहिँ मान्दैनौं,' उनले भने, 'एसपीपी खारेज गराइछाडिन्छ भन्ने मैले नै बोलेपछि चुनौती भएको थियो संसदमा । एमालेको एकजना नेताले चुनौती दिन्छु भनेको ४ घण्टापछि त प्रमाण आयो । त्यसपछि त्यो चुनौती पनि खत्तम भयो ।' स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै सरकारले अमेरिकालाई पत्र लेख्ने निर्णय शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हालैमात्र गरेको थियो । उक्त कार्यक्रमले नेपालमा विवाद ल्याएको थियो ।

प्रकाशित : असार १३, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?