लिफ्ट मागेर कर्मचारीमाथि कुटपिट, गाडीसमेत लुटियो- समाचार - कान्तिपुर समाचार

लिफ्ट मागेर कर्मचारीमाथि कुटपिट, गाडीसमेत लुटियो

चित्रांग थापा

धनगढी — धनगढी–डडेलधुरा राजमार्गमा पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला सडकखण्डनजिक सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारी  कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीमाथि तीनजनाको अज्ञात समूहले कुटपिट गरी उनी चढेको गाडीसमेत लुटेका छन् । 

कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामादैजी घर भएका ३७ वर्षीय भण्डारी चढेको प्र३-०१-२३ च ८७२१ नम्बरको ‘सिल्भर कलर’को कार ती अज्ञात व्यक्तिहरुले गोदावरीनजिक रोकेर तेल हालिदिने सर्तमा आफूहरुलाई पनि केही माथिसम्म लगि दिन लिफ्ट मागेका थिए । गाडी भण्डारीकै भएको प्रहरीले जानकारी दिएको छ ।

कैलाली प्रहरीका डीएसपी वेद जोशीका अनुसार गोदावरीमाथि पुगेपछि उनीहरूले फोटो खिच्ने बहानामा गाडी रोकाएर राजमार्गभन्दा ५० मिटर तल झाडीमा लगेर भण्डारीमाथि कुटपिट र गाडीसमेत लुटेर लगेको कर्मचारी भण्डारीबाट खुल्न आएको हो ।

भण्डारीले घटनाबारे प्रहरीलाई दिएको जानकारीअनुसार तीन जनाको समूहमा रहेका भारतीय जस्तो लाग्ने लुटेराहरुले ती कर्मचारीलाई गम्छाले मुख बाँधेर, हात खुट्टासमेत बाँधेर कुटपिट गरेका थिए । भण्डारीको टाउकोमा ढुंगा प्रहार गरिएको छ । भण्डारीसँग रहेको केही नगद र एटीएम कार्डसमेत लुटिएको प्रहरीले जानकारी दिएको छ ।

‘बिहान १० बजेतिरको घटना हो जस्तो देखिन्छ, प्रहरीले १ बजे खबर पाएको हो,’ डीएसपी जोशीले भने,‘घाइते भएका कर्मचारी भण्डारीलाई अत्तरियाको पद्मा अस्पताल पुर्‍याइएको छ, धेरै कुरा सोधपुछ गर्न सकिएको छैन, घटनाको प्रकृति प्रारम्भिक चरणमा देखिएको भन्दा फरक हुन पनि सक्छ ।’

घाइते भण्डारीले नगद रकम लुटिएकोबारे केही जानकारी नदिएको डीएसपी जोशीले बताए । घटना भएको कुन समयमा हो भन्ने पनि खुलेको छैन । ‘उनको अवस्थामा सुधार भएसँगै घटनाबारे थप सोधपुछ गरिने छ,’ डीएसपी जोशीले भने ।

प्रकाशित : असार १३, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर एकेडेमीलाई

चित्रांग थापा

धनगढी — शनिबार धनगढीमा भएको क्लबस्तरीय धनगढी सुपर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि जितेको हो । विजेता टिम महेन्द्रनगरले २ लाख पुरस्कार रकम प्राप्त गरेको छ भने उपविजेता बनेको लिटल फ्लावरले १ लाख प्राप्त गर्‍यो ।

कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा १ सय १८ रन मात्रै बनाउन सक्यो । उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले ४ विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान २/२ तथा राहुल भण्डारी र विकास आग्रीले समान १/१ विकेट लिए ।

त्यसअघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । उसका राहुल भण्डारी, हेमन्त धामी र विकास आग्रीले समान १३/१३ रन बनाए । बलि तर्फ लिटल फ्लावरका कृष्ण कार्कीले ३, दीपक बोहरा र कुशल रुपाखेतीले २/२ तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान १/१ विकेट लिए । फाइनल खेलको प्लेयर अफ दि म्याच सन्तोष भट्ट घोषित भए ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले १५ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल, धनगढी क्रिकेट एकेडेमीका हिक्मत महरा उत्कृष बलर तथा प्रतियोगिताका उदयमान खेलाडीसमेत बन्न सफल भए । उनीहरूले जनही ७ हजार ५ सय पुरस्कार रकम प्राप्त गरे । विजेताहरूलाई एक समारोहकाबीच सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका लगायतले पुरस्कार वितरण गरेका थिए ।

जेठ ६ गतेबाट सुरु भएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुंगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, महेन्द्रनगर क्रिकेट एकेडेमी, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लब धनगढीले सहभागिता जनाएका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×