कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रश्नपत्र हुबहु दोहोर्‍याउने शिक्षकमाथि कारबाही कहिले ?

डिन भन्छन्– ‘बोल्न मिल्दैन’, प्राध्यापक भन्छन्– ‘कारबाही हुनेमा शंका छ’
गणेश राई

काठमाडौँ — सरकारको नीति तथा कार्यक्रममा ‘विश्वविद्यालयलाई क्रमशः सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गर्दै लगिने’ उल्लेख छ । तर, मुलुकको जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कामकारबाहीमा गम्भीर लापरबाही दोहोरिने मात्रै होइन शिक्षकको जिम्मेवारीप्रति पनि प्रश्न उब्जिएको छ । हरेक विषयको परीक्षामा प्रश्नपत्र नयाँ हुनुपर्छ । सेमेस्टर प्रणालीमा हरेक ६ महिनामा परीक्षा लिइन्छ । तर शिक्षकले भने वार्षिक प्रणाली हुनुपर्ने भन्दै त्यही शैलीमा काम गर्ने गरेका छन् । फलस्वरूप गत जेठ १६ गते स्नातकोत्तर तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ विषयको प्रश्नपत्र गत वर्षकै हुबहु दोहोरियो ।

प्रश्नपत्र हुबहु दोहोर्‍याउने शिक्षकमाथि कारबाही कहिले ?

त्यसैगरी, जेठ २३ मा स्नातकोत्तर पहिलो सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिकल साइन्स’ (अन्तर्राष्ट्रिय राजनीतिशास्त्र) विषयको प्रश्नपत्र पनि हुबहु दोहोर्‍याएर सोधिएको थियो । पछिल्लोपटक राजनीतिशास्त्र विषय पढ्ने विद्यार्थी उल्लेख्य रहेका छन् । प्रश्नपत्रको विषयलाई लिएर त्रिविका जिम्मेवार डिन कार्यालय, विषयगत केन्द्रीय विभाग, विषय समिति, विषयविज्ञ र शिक्षकसम्म नैतिक संकटमा परेका छन् ।

‘यतिसम्म कि एक्स्प्लेन भन्ने ठाउँमा इन्ट्रोडुस राखेर अघिल्लो सालकै प्रश्न हुबहु सोधिएको पाइयो,’ विश्वविद्यालय क्याम्पसका एक प्राध्यापकले भने, ‘यथार्थमा बदनियतपूर्वक विश्वविद्यालयको साख गिराउने खत्तम प्रवृत्ति हो । यसमा प्रश्नपत्र निर्माण गर्ने सिस्टममा संलग्न विषय शिक्षक सबैभन्दा दोषी देखिन्छन् ।’

विषय उही भए पनि हरेक शिक्षकले सिर्जनात्मक ढंगले प्रश्न निर्माण गर्नुपर्छ । चिकित्साशास्त्र संकायमा भने प्रश्नपत्र निर्माणमा संलग्न शिक्षकले ‘आर्थिक चलखेल’समेत हुने गरेको अर्का प्राध्यापक बताउँछन् । चिकित्साशास्त्रको प्रश्नपत्र निर्माणमा संलग्न शिक्षकको पारिश्रमिक बढी हुन्छ, तर अरू संकायमा त्यत्ति धेरै पैसा नहुने भएकाले लापरबाही दोहोरिएको उनको भनाइ छ ।

हरेक विषयको केन्द्रीय विभागले प्रश्नपत्र निर्माण गर्छ । प्रत्येक विषयको प्रश्नपत्र बैंकसमेत रहन्छ । प्रश्नपत्र निर्माण गरेपछि डिन कार्यालयमा पठाइन्छ । डिन कार्यालयले विषय समिति राखेर प्रश्नपत्रलाई ‘मोडरेसन’ (छलफल) गर्छ । ‘अघिल्ला परीक्षामा सोधिएका प्रश्न र अहिलेको प्रश्नबीच तुलना गरेर हेर्ने गरिँदैन, त्यसो गर्दा विषय शिक्षकमाथि अविश्वास गरेजस्तो हुन्छ । आफूखुसी प्रश्नपत्र अघि बढाउँदा लापरबाही दोहोरिएको हुनसक्छ,’ उनले भने, ‘एक दुईवटा प्रश्न दोहोरिनु ठूलो कुरो होइन । तर हुबहु दोहोरिनु भनेको अल्छे गैरजिम्मेवार शिक्षकको लापरबाही हो ।’

जाँचमा संलग्न परीक्षार्थीले प्रश्नपत्र हुबहु दोहोर्‍याएर सोधिएबारे प्रश्नपत्र दाँजेर सार्वजनिक गरे । त्यसपछि विद्यार्थीका केही संगठनले

त्रिविमा तालाबन्दी गरेर विरोधका निम्नि विरोध जनाए । परीक्षा रद्द गर्दा विद्यार्थीको मेहनत खेर जाने भएपछि विरोध स्थगित गरे । ‘प्रश्नपत्र दोहोरिँदा विद्यार्थीलाई नै फाइदा पुग्ने भएपछि उनीहरू विरोध गर्नबाट पछि हट्नु स्वाभाविकै हो,’ अर्का प्राध्यापकले भने, ‘तर गल्ती गर्ने र कारबाही निकायचाहिं तैं चुप मैचुप गरेर बसेको अवस्था छ ।’

मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन प्राध्यापक कुसुम शाक्य छानबिन समिति गठन भएको र प्रतिवेदन प्राप्त नभएसम्म बोल्न नमिल्ने बताउँछिन् । राजनीतिशास्त्र केन्द्रीय विभाग प्रमुख रामकृष्ण तिवारीले समेत बोल्न नमिल्ने बताए । प्रतिवेदन आउन अझै एक साता लाग्ने उनको भनाइ छ । डिन कार्यालयमा कुन विषयको प्रश्न कुन शिक्षकले बनायो भन्ने यकिन रेकर्ड रहन्छ । तर प्रश्नपत्र निर्माण पदाधिकारीले आफूनिकटका शिक्षकलाई प्रश्नपत्र निर्माणमा संलग्न गराउने गरेका छन् । त्यसैले गर्दा छानबिन समिति झारा टार्नमात्र हुन सक्ने प्राध्यापकहरू आशंका व्यक्त गर्छन् ।

नियमानुसार दोषी शिक्षकलाई कालो सूचीमा राखेर अर्कोपटक प्रश्नपत्र निर्माणमा संलग्न गराउन मिल्दैन । ग्रेड रोक्का, दुई वर्षसम्म बढुवा रोक्का गर्न सक्छ । ‘त्रिविको रातो किताबमा भएको कानुनको पालना नगर्दा प्रश्नपत्र हुबहु दोहोरिने गरेको छ,’ ती प्राध्यापकले भने, ‘यसपटक दुई विषयका प्रश्नपत्र दोहोरिएका विषयमा पनि डिन कार्यालयका पदाधिकारी निकट रहेकाले कारबाहीमा हुनेमा शंका छ ।’

अर्कोतर्फ त्रिविले एकपटक स्थायी बनेका शिक्षकको दायित्व पढाउने मात्र नभई प्रश्नपत्र निर्माण विधि, उत्तरपुस्तिका/शोधपत्र जाँच्ने, परामर्श दिनेलगायत पर्छन् । तर त्रिविका अधिकांश शिक्षकले सेवाकालीन तालिम, पुनर्ताजगी तालिम पाउँदैनन् । पदाधिकारी निकट रहनेले थोरैमात्र भए पनि बढी लाभ लिने गरेको प्राध्यापकले बताए । त्रिविका चार संकाय र पाँच अध्ययन संस्थान छन् । सबै संकाय र अध्ययन संस्थानमा प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक, सहायक उपप्राध्यापक, शिक्षण सहायक र प्रशिक्षक (तहगत) गरी ७ हजार ९ सय ६६ भन्दा बढी शिक्षक कार्यरत छन् ।

प्रकाशित : असार १३, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?