कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तलेजु हारको ‘प्रताप मल्ल’ लगत फेला

तलेजु भवानीको हार फिर्ताका लागि अमेरिकाको सिकागो म्युजियमले उत्पत्तिको प्रमाणपत्र मागिरहेका बेला मूल पुजारीले सयवर्षे लगत भेटेका हुन् 
देवेन्द्र भट्टराई

काठमाडौँ — अमेरिकाको सिकागो म्युजियममा एक वर्षअघि फेला परेको तलेजु भवानीको हार (कण्ठी) घरफिर्ता ल्याउन ‘उत्पत्तिको मुलुक’ सम्बन्धी प्रमाण जुटाउन गाह्रो परिरहेका बेला तलेजुको सम्पत्तिसम्बन्धी झन्डै १ सय वर्षको लगत फेला परेको छ ।

तलेजु हारको ‘प्रताप मल्ल’ लगत फेला

मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्दै आएको वसन्तपुर दरबार क्षेत्रमा रहेको तलेजु भवानीको ‘कण्ठी’ को ऐतिहासिक प्रमाण (लगत) गुठी संस्थानमा समेत थिएन । म्युजियमले यो सम्पदाको उत्पत्ति–प्रमाण मागिरहेका बेला मन्दिरका मूल पुजारीले आफ्नै खोजबिनमा ‘लगत’ फेला पारेका हुन् । ‘मेरा बाजे देवमानले प्रतिलिपि उतारेको लगत भेटिएको हो, उहाँ २००९ सालसम्म तलेजुमा मूल पुजारी हुनुहुन्थ्यो,’ तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले भने । राजा प्रताप मल्ल (नेपाल सम्वत् ७६१–७९४) को पालादेखि तलेजु भवानीका पुजारीका रूपमा कर्माचार्य सन्तति रहिआएका छन् ।

तलेजुबाट चोरिएको हार सिकागो म्युजियम प्रदर्शनीमा रहेको भन्दै अमेरिकावासी पत्रकार श्वेताज्ञानु बानियाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तलेजुसम्बद्ध अरू सम्पत्ति तथा त्यसबारेको अभिलेखमा खोजीनिति सुरु भएको हो । पुजारी कर्माचार्यका अनुसार २०२६ सालतिर हनुमानढोका परिसरकै देउ–तलेजुमा मूर्ति चोरी तथा तलेजु भवानीको ‘किकिम्पा क्लिप’ (टाउकोमा लगाइने गहना) र तोरणसमेत चोरिएपछि दरबारकै निर्देशनमा तलेजुको सम्पत्ति लगत राख्ने भन्दै एक उच्चस्तरीय छानबिन समिति बनाइएको थियो । त्यो समितिमा राजदरबार प्रतिनिधिसहित गुठी, अञ्चलाधीश कार्यालय, प्रहरी र संस्कृति मन्त्रालयका अधिकारीसमेत थिए । ‘त्यसबेला लिखित अभिलेख पनि राखिएको थियो । ३ सयभन्दा बढी प्राचीन भाँडाकुँडा, गरगहना, सुनचाँदीसहितको सम्पत्तिसमेत थियो,’ पुजारी कर्माचार्यले सुनाए, ‘तर आज त्यो सम्पत्ति कतै छैन । त्यसबेलाको लिखतसमेत गुठीको केन्द्रीय लगत तथा अभिलेख शाखाले आफूसँग नरहेको जनाइसकेको छ ।’

अहिले फेला परेको लगत २०२७ सालको समितिले तयार गरेको टिपोट नभए पनि यो लिखतमा राजा प्रताप मल्लले तलेजु भवानीमा चढाएको ‘ठूलो कण्ठी’ को स्पष्ट विवरण समेटिएको छ । ‘चाँदीका पातामा सुनका मलम्बा लाग्याको, पक्का मोतीको घेरा लाग्याको, अष्टमात्रिकाको मूर्ति भयाको, लगनका भगवती देवी भयाको, स्वस्ती श्री राजेन्द्रप्रताप मल्ल भनिएको ठूलो कण्ठी एक’ भन्ने विवरणसहितको लगत पढेपछि लिपिविद् श्यामसुन्दर राजवंशीले सिकागोमा रहेको सम्पदा फर्काउन यो गतिलो आधार हुन सक्ने बताए ।

राजवंशीका अनुसार यस्ता सम्पदाको ‘उत्पत्तिको प्रमाण’ जुटाउने कुरामा लगतभन्दा तस्बिरसहितको ‘इन्भेन्ट्री’ जरुरी भए पनि सिकागो म्युजियमले प्रदर्शनीमा राखेको तलेजु हारको विवरणमा राजा प्रताप मल्लको नामदेखि नेपालका बारेमा समेत खुलाइएको देखिन्छ । ‘हाम्रो कूटनीतिक निकाय र सम्बद्ध प्रक्रियागत कुरामा तदारुकता नभएकाले हाम्रो सम्पत्ति फिर्ता आउन नसकेको हो कि झैं लाग्छ, तलेजु हारमा राजा प्रताप मल्लको नामांकन/विवरण आफैंमा यो सम्पत्तिको उत्पत्ति प्रमाण हो,’ राजवंशी भन्छन् ।

लगतअनुसार प्रताप मल्लले आफ्नो छोटो शासनकालमा पनि मठमन्दिरमा गरगहना, मूर्ति आदि चढाउन सबैभन्दा बढी योगदान गरेको देखिन्छ । लिपिविद् राजवंशीका अनुसार तलेजु मन्दिरमा भने गरगहना वा अरू विशेष सामग्री राजा वा पटरानी (मुख्य रानी) ले मात्रै चढाउने गर्थे । ल्याइते रानीले ल्याएको उपहार भने ‘देगु तलेजु’ मा मात्रै चढाइने गरिन्थ्यो । नेवारी र नेपाली भाषा मिसिएको लगतमा चाँदी र सुनका सिक्री, माणिक, हीरा, पन्ना, मोती, पत्थर जडाउ, सुनको थालमा माणिक, मोती जडाउ भएको लकेट, मोतीदाना, पुष्पराजसहितका सयौं गहना–जुहारतको सूची छ । यस्तै, चाँदीले मोहोरिएको सुनको कण्ठी, सुनको दोहोरी सिक्री, चाँदीका रकम, चन्द्रहार माला, बुट्टेदार सुनथाली, ९ तोला वा लाल (९ लाई शुभ मानिने भएकाले) को सुन–चाँदी पनि तलेजुमा चढाइएको लिखत छ । पुजारी कर्माचार्य भन्छन्, ‘मन्दिरको गरगहना मन्दिरमै फर्कनुपर्छ कि त प्रदर्शनीमा राखिनुपर्छ । गुपचुप रहने र राख्ने यो तौरतरिका सही छैन ।’

२०२७ सालमा गठित छानबिन समितिको सम्पूर्ण लगत पनि नभेटिएको र त्यसबारेमा कहींकतैबाट सरोकार नराखिएको देख्ता त्यही समयताका तलेजुको हार मन्दिरबाट चोरिएको हुन सक्ने देखिएको छ । तलेजु हारलाई अमेरिकी अर्बपति दम्पती जेम्स डब्लू एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फले सन् १९७६ (२०३३ साल) मा खरिद गरेको सन् २०१० मा सिकागो म्युजियमलाई प्रदान गरिएको म्युजियमकै सूचीपत्रमा उल्लेख छ । तर, एल्सडर्फ दम्पतीले यो सम्पदा कहाँबाट, कसरी खरिद गरेका हुन् भन्ने खुलाइएको छैन ।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले ‘सिकागो म्युजियमले प्रताप मल्लकालीन समयको अन्य अभिलेख र प्रमाण माग गरेकाले त्यसैअनुसार पत्राचार भइसकेको’ जानकारी दिए । ‘तर थुप्रै भयो, म्युजियमले जवाफ फर्काएको छैन, हामी जवाफ पर्खिरहेका छौं,’ उनले भने ।

प्रकाशित : असार १३, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?