२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बंगलादेशको ‘पद्मा सपना’

प्रधानमन्त्री शेख हसिनाले भनिन्, ‘पद्मा पुल इँटा र सिमेन्टको थुप्रो मात्र होइन, गौरव र दक्षताको प्रतीक हो, हामीले पनि केही गर्न सक्छौं भनेर विश्वलाई देखाएका छौं’
एजेन्सीहरू

ढाका — विश्व बैंकले सन् २०१२ को जुन २९ मा वेबसाइटमा वक्तव्य सार्वजनिक गर्दै बंगलादेशको पद्मा बहुउद्देश्यीय पुल परियोजनाको ऋण सम्झौता रद्द गरिएको जनायो । भ्रष्टाचारको आरोप लागेपछि विश्व बैंकले १.२ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) अन्तर्गतको सम्झौता रद्द गरेपछि एसियाली विकास बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) समेत परियोजनाबाट अलग्गिए ।

बंगलादेशको ‘पद्मा सपना’

सबैले हात झिकेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले परियोजना सरकारले नै बनाउने घोषणा गरिन् । सुरुमा मुलुकका अर्थशास्त्रीहरूले समेत दाताको सहयोगबिना यति ठूलो परियोजना बनाउन नसकिने बताएका थिए । तर सबै नागरिकको साथ र सहयोगका कारण परियोजना सम्पन्न भएको छ । मुलुकको दक्षिण–पश्चिम क्षेत्रलाई राजधानी ढाकासँग जोड्ने ४१ स्पानसहितको ६.१५ किमि लामो पुललाई बंगलादेश सरकारले ‘राष्ट्रिय गौरव’ को विषय बनाएको छ ।

९ म्याग्निच्युडसम्मको भूकम्पलाई थेग्ने गरी आधुनिक ‘फ्रिक्सन पेन्डुलम बियरिङ्स’ प्रविधि अपनाएर करिब ७ वर्षमा निर्माण भएको ४ लेनको पुलले सडक र रेलमार्गबाट २१ जिल्लालाई राजधानी ढाकासँग जोड्छ ।

पुलको माथिल्लो भागमा गाडी गुड्ने सडक छ भने तल्लो भागमा रेलमार्ग । पद्मा परियोजनालाई इन्जिनियरिङ क्षेत्रमा समेत चमत्कार मानिएको छ । विज्ञहरूका अनुसार पद्मा नदी अमेजनपछिको खतरनाक र अनिश्चित मानिन्छ । त्यसैले पनि यो नदीमा ठूला परियोजना निर्माण जोखिमपूर्ण छ । चिनियाँ सरकारको मातहतमा रहेको रेल्वे मेजर ब्रिज इन्जिनियरिङ ग्रुप (आरएमबीईजी) ले करिब एक हजार दुई सय बंगलादेशी इन्जिनियरको सहयोगमा पुल बनाएको हो ।

पुल बन्नुअघि दक्षिण पश्चिम क्षेत्रका जिल्लाबाट १८० देखि ३०० किमि दूरीमा रहेको ढाका आउन १५ देखि २२ घण्टासम्म लाग्ने गरेको थियो । पुल बनेपछि ४ देखि ६ घण्टा कम समय लाग्नेछ । केही स्थानबाट त अझै छिटो ढाका पुगिने बताइएको छ । फेरीलगायतबाट करिब २ हजार गाडी आवतजावत हुने गरेकामा पुलबाट अब दैनिक २४ हजार गाडी गुड्ने अनुमान छ । पुलको उद्घाटन गर्दै हसिनाले भनिन्, ‘पद्मा पुल इँटा र सिमेन्टको थुप्रो मात्र होइन, यो बंगलादेशको गौरव, सम्मान र दक्षताको प्रतीक हो । तपाईंहरू मेरो साथमा हुनुहुन्छ, त्यसैले असम्भवलाई सम्भव बनाउने साहस ममा छ । हामीले पनि केही गर्न सक्छौं भनेर विश्वलाई देखाएका छौं ।’

आयोजनाका निर्देशक सफिकुल इस्लामका अनुसार पद्मा ३.८७ अर्ब अमेरिकी डलरको लागतमा तयार भएको हो । परियोजना सकिएपछि भने बंगलादेश र भुटानका लागि विश्व बैंकका निर्देशक मर्सी टेम्बनले खुसी व्यक्त गरिन् । पूर्वनिर्णयप्रति विश्व बैंकलाई कुनै पश्चाताप छैन भन्ने प्रश्नमा उनले ‘पुलका कारण बंगलादेशी जनता कसरी लाभान्वित हुन्छन् भन्ने हेरिरहेको’ जवाफ दिइन् । यद्यपि, उनले पुलका कारण बंगलादेशमा गरिबी घटाउन सहयोग पुग्ने बताइन् ।

विश्व बैंकले हात झिकेकै कारण पुल निर्माण सम्पन्न गर्न समय र खर्च बढेको जनाइएको छ । प्रारम्भिक लागत अनुमान १.२ बिलियन अमेरिकी डलर हुने जनाइएको थियो । तर बंगलादेश सरकारले आन्तरिक स्रोत जुटाएर परियोजना सम्पन्न गर्दा झन्डै तेब्बर खर्च भयो । विभिन्न षड्यन्त्रका कारण पुल निर्माणमा ढिला हुन गएको हसिनाले बताइन् । ‘कसैले पनि बंगलादेशलाई दबाउन सक्दैन, अन्तिममा हामीले जित्यौं,’ शेख मुजिबर रहमानको भनाइ उद्धृत गर्दै हसिनाले भनिन् । पुलका कारण बंगलादेशको कुल गार्हस्थ्य उत्पादनसमेत १.२३ प्रतिशतले बढ्ने बताइएको छ । पुल निर्माणपछि पर्ने आर्थिक प्रभावबारे अध्ययन गरेका अर्थशास्त्री सलिम राइहानले पद्मा आर्थिक करिडोरका रूपमा रहने बताउँछन् । ‘बंगलादेशको प्रमुख उद्योग रेडिमेड गार्मेन्ट पूर्ण रूपमा दक्षिण पश्चिम क्षेत्रबाट अलग थिए । मलाई विश्वास छ, अब लगानीकर्ता र उद्योगीहरू यस क्षेत्रमा लगानी गर्न तम्सिनेछन्, जसले ठूलो आर्थिक वृद्धि हुनेछ,’ उनले भनेका छन् ।

प्रकाशित : असार १३, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?