राजस्व हिनामिना गरेको आरोपमा मेयरसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा दायर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजस्व हिनामिना गरेको आरोपमा मेयरसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ  बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीबाट प्राप्त ढुंगा, गिटी/बालुवालगायत वस्तुबाट प्राप्त राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले आइतबार मेयर यादव, तत्कालीन उपमेयर कान्तीदेवी र प्रमुख प्रशासकीय अधिकृतसहित २१ विरुद्ध १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो कायम गरी विशेषमा मुद्दा दायर गरेको हो ।

जिल्ला समन्वय समिति रौतहटको रोहवरमा बसेको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम बाँडफाँट गर्ने गरी सहमति भएको थियो ।

तर, फतुवा विजयपुर नगरपालिकाले आब २०७५/०७६ को लाल बकैया नदीको ठेक्का कानुनविपरीत मिलेमतोमा नदीजन्य वस्तु बिक्री गर्न ठेकेदारलाई जिम्मा लगाएका थिए ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उक्त अनियमिततामा फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका प्रमुख रहेका मेयर यादवसहित तत्कालीन उपप्रमुख कान्ती देवी, वडा नं. १ का तत्कालीन वडाध्यक्ष सञ्जय प्रसाद, २ नम्बर वडाका तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा नं ३ का तत्कालीन वडाध्यक्ष दीपनारायण साह, वडा नम्बर ५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद, ६ का तत्कालीन वडाध्यक्ष हिरा राय यादव, ८ का तत्कालीन वडाध्यक्ष एवं हाल नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको हो ।

त्यस्तै वडा नं. १० का तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद चौधरी, वडा नं. ११ का तत्कालीन र हालका अध्यक्ष ज्ञानेन्द्र चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, सुन्दरी माझी, तत्कालीन सदस्य र हाल वडा नं. ७ का वडा सदस्य जिरनी देवी, तत्कालीन नगर कार्यपालिका सदस्य फुलकुमारी देवी, सञ्जुदेवी जयसवाल, शशीकुमार साह र रवीन्द्रकुमार निधिविरुद्ध पनि मुद्दा दायर भएको छ ।

२०७५ पुस १५ मा लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको नगर कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको, सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा त्यसविपरीत मिलेमतोमा सम्झौता गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले प्रतिवादीबाट फतुवा विजयपुर र गुजरालाई क्रमश: ६० र ४० प्रतिशत रकम दिलाउन पनि मागदाबी लिएको छ ।

यसैगरी अख्तियारले फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रन्जना साहलाई पनि प्रतिवादी बनाएर बिगो, कैद र जरिवाना मागदावीसहित मुद्दा दायर गरेको छ ।

नियमानुसार सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया बढाउन र धरौटी जफत नगरेको, पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि निजको धरौटी जफत गरी दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौताका लागि बोलाउनुपर्नेमा त्यसो नगरी ‘अमानत’बाट राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिएको र धरौटी जफतका लागि कुनै पनि पहल नगरेको आरोपमा रोका, ढुंगल र साहलाई प्रतिवादी बनाइएको छ । जनप्रतिनिधि बाहेक तीन जना कर्मचारीको हकमा पनि अख्तियारले १ करोड ५३ लाख ५० हजार १ सय ९९ रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबी लिएको छ ।

प्रकाशित : असार १२, २०७९ १६:११
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकता विधेयक पारित गर्न नेताहरूसँग कुरा गरेको छु : सभामुख

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अन्नीप्रसाद सापकोटाले नागरिकता विधेयक पारित गर्नका लागि संसद्‌मा रहेका राजनीतिक दलका शीर्ष नेताहरूसँग चरणबद्ध कुराकानी भइरहेको बताएका छन् । नागरिकता विधेयक पारित नहुँदा ठूलो संख्यामा नागरिक अन्यायमा परेको भन्दै सभामुख सापकोटाले संघीय संसद्को चालु बजेट अधिवेशनबाट पारित गर्ने प्रयास जारी रहेको बताए ।

संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको 'संसदीय समिति अभ्यास : पहिलो संसद्‌देखि संघीय संसदसम्म' पुस्तक विमोचन कार्यक्रममा आइतबार सभामुख सापकोटाले नागरिकता विधेयक पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भएको जानकारी दिए । ‘संसद्‌मा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौं डेलिकेशनहरू म भए ठाउँमा आएका छन् । धेरै मार्मिक कुरा छ । युवाहरू उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन्,' उनले भने, 'अध्ययन गर्ने सुनौला अवसर गुमिरहेका छन् । ठूलो क्षति भएको छ । असाध्यै धेरै अन्याय भइरहेको छ भनेर मैले राजनीतिक पार्टीका नेताहरूसँग धेरै चरणमा कुरा गरेको छु ।'

नागरिकता विधेयकसँगै अन्य मुख्य विधेयक पारित गर्न सकेमा जनताका पक्षमा संसद्ले काम गरिरहेको छ भन्ने देखाउन र अनुभूति दिलाउन सकिने सभामुख सापकोटाको भनाइ थियो । 'प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ । त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरू पनि पास गर्न सकिन्छ । बजेट अधिवेशनमा पनि दर्जन बढी विधेयकहरू पास गर्न सक्यौं भने जनतालाई गर्दा हुने रहेछ भन्ने हुने थियो । गर्दैछ भन्ने आश लाग्ने थियो,’ उनले भने । संसद्‌बाट कतिपय विधेयक पारित गर्न नसकिँदा देशलाई क्षति भएको उनको भनाइ थियो ।

सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्नेबाहेक आफ्नो कुनै स्वार्थ नभएको पनि बताए । उनले भ्रष्टाचार बढ्दै गए भष्ट्राचारले देशलाई कोल्याप्स पार्ने बताए । ‘संसद्‌मा हाम्रो अरु कुनै स्वार्थ छैन । स्वार्थ छ भने देशको स्वार्थ छ, यो देशको सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने रहेको छ । भ्रष्टाचार कुरा गर्दा भ्रष्टाचार भनेको कुनै बजेटसँगको कुरामात्रै होइन । आर्थिक सवालसँगको मात्रै कुरा होइन । भ्रष्टाचार देश र राष्ट्रियतासँगको कुरा हो,' उनले भने ।

सभामुख सापकोटाले संसद्ले‌ जनताका कुरालाई आत्मसाथ गर्नसक्नु नै सफलता हुने बताए । उनले पछिल्लो समय विश्वमा दर्शन, विचार र सिद्धान्तबारे छलफलभन्दा पनि व्यापारमा बढी केन्द्रित भएको बताए ।

प्रकाशित : असार १२, २०७९ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×