कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अन्य वस्तु र सेवाको पनि घट्नुपर्छ : मन्त्री बडू

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकाले अन्य वस्तु तथा सेवाको मूल्य पनि घटाउनुपर्ने  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । उनले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु तथा सेवाको मूल्य घट्यो कि घटेन भनेर यकिन गर्न सरकारले बजार अनुगमन गर्ने बताए । 

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अन्य वस्तु र सेवाको पनि घट्नुपर्छ : मन्त्री बडू

प्रतिनिधिसभाको आइतबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले बजार अनुगमन गर्नका लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारहरूसँग सहयोगमा अनुगमन गर्ने बताए । 'पेट्रोलियम पदार्थको मूल्य घटेपछि अन्य वस्तु तथा सेवामा पनि मूल्य घट्नु आवश्यक छ । यसका लागि विषयगत मन्त्रालय र नियामक निकायहरूले आ-आफ्नो क्षेत्रबाट तथा संयुक्त रूपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ,' उनले भने, 'यो अनुगमन कार्यमा दुवै सदनका माननीय सदस्यज्यूहरू, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरू, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ ।’

मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रुपैयाँबाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रुपैयाँबाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको जानकारी दिए । ‘संसद्को दुवै सदनमा माननीयज्यूहरूले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइआएको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ,' उनले भने, 'सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै मिति २०७९ असार १२ गतेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट २० रुपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ बाट २९ रुपैयाँ घटाई १६३ रुपैयाँ मुल्य कायम गरेको छ ।'

पेट्रोलियम पदार्थको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको बडूको भनाइ थियो । उनले सरकार जनताको हित र चासोप्रति सधैं संवेदनशील रहेको बताए ।

प्रकाशित : असार १२, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?