बाल सुधारगृह नै अपराध र लागूऔषधको अखडा !- समाचार - कान्तिपुर समाचार

बाल सुधारगृह नै अपराध र लागूऔषधको अखडा !

चौबीसै घण्टा सीसीटीभीको निगरानी र प्रहरीको सुरक्षामा रहने सुधारगृहभित्र कसरी छिर्‍यो लागूऔषध र मोबाइल ?
माधव ढुंगाना

भैरहवा — सिद्धार्थनगर नगरपालिका–७ स्थित गार्गीपथका महिला हूल बाँधेरै गत मंगलबार जिल्ला प्रशासन कार्यालय पुगे । उनीहरूको एकसूत्रीय माग थियो– टोलमा रहेको बाल सुधारगृह अन्तै सारियोस् । सुधारगृहमा राखिएका बालक/किशोरबाट स्थानीय किशोरी असुरक्षित रहेको र भित्र अवाञ्छित गतिविधि बढिरहेकाले त्यसको असर समुदायमा देखिएको उनीहरूको भनाइ छ ।

बाल बिज्याइँ गरेका र कानुनी रूपमा १८ वर्षमुनिका बालबालिकालाई पुर्पक्षका लागि, फैसला नहोउन्जेल र कैद भुक्तानका लागि बाल सुधारमा राख्नुपर्ने कानुनी प्रावधान छ । यहीअनुसार अहिले ४० जना अट्ने बालगृहमा १ सय १० जना बालक/किशोरलाई राखिएको छ । तर आवश्यक मनोसामाजिक परामर्शदेखि बालसुलभ गतिविधिअनुसार संरचना नहुँदा बालबालिका ‘उद्दण्ड’ बन्दै गएका छन् । सुधारगृह अपराधदेखि लागूऔषधको जोखिममा धकेल्ने कारखाना जस्तै बनिरहेको स्थानीय बताउँछन् । मुद्दा फैसलामा ढिलाइ हुँदा सुधारगृहमा कतिपय २४/२५ वर्षसम्मका पनि रहेका छन् ।

सुधारगृह व्यवस्थापनका लागि कर्मचारी दुई जनामात्रै छन् । त्यो पनि अधिकृतस्तरको कार्यालय प्रमुख र करारका कार्यालय सहयोगी । सुधारगृह प्रमुख सुभद्रा गौतम भौतिक संरचनाको कमीले गर्दा व्यवस्थापनमा समस्या भइरहेको बताउँछिन् । ‘ठूला खेल मैदानसहितको खुला ठाउँमा सुधारगृह हुनुपर्ने हो,’ उनले भनिन्, ‘एउटै पलङमा चार/चार जनासम्म पालो मिलाएर सुत्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार छ–सात जनामा क्षयरोगको संक्रमण छ । लुतो र जन्डिसबाट पनि केही पीडित छन् । दिनहुँ चार/पाँच जनालाई उपचार गराउन अस्पताल लैजानुपर्छ ।

सुधारगृहभित्र मोबाइल फोन प्रयोग गर्न नपाउनुपर्ने हो तर यहाँका बालक/किशोरसँग मोबाइल देखिन्छ । केही दिनअघि सुधारगृहनजिकै घरको छतमा कपडा सुकाइरहेकी १८ वर्षीया किशोरीको फोटो सुधारगृहका किशोरले खिचेको थाहा पाएपछि अभिभावकले ती किशोरीलाई मामाघर पठाइदिए । किशोरीको आमाले भनिन्, ‘त्यतिबेला छोरीका बुबा घरमा हुनुहुन्थेन । सुधारगृहका किशोरले मोबाइलबाट आफ्नो तस्बिर खिचेको थाहा पाएपछि छोरी बेस्सरी रुन थाली ।’

सुधारगृहमा सईको नेतृत्वमा ११ प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवरत्न पौडेलका अनुसार एउटै सिफ्टमा बाहिर चार जना र भित्र चार जनाको ड्युटी छ । सुधारगृहनजिकै घर भएकी मुना आचार्यले अगाडिको बाटोबाट विद्यालय हिँडेका छात्रा र नजिक घरमा रहेका युवतीलाई भित्रबाट सिट्ठी बजाउने, जिब्रो पड्काउने, छतबाट जिस्क्याउने र अश्लील बोल्ने गरेको बताइन् । ‘हिजोआज त सुधारगृहअघिको बाटोबाट विद्यार्थी र छोरीचेली हिँड्नै छाडेका छन्,’ उनले भनिन् ।

सुधारगृहभित्र लागूऔषध, चुरोट, मादक पदार्थको सेवन हुने गरेको स्थानीय बताउँछन् । बालक तथा किशोरले बाहिरबाट सेटिङ मिलाएर नशालु पदार्थ भित्र्याउने गरेको प्रत्यक्ष देखेको एक स्थानीयले दाबी गरे । सबै सामान सुरक्षा जाँचपछि भित्रिने गरे पनि मोबाइल प्रयोग हुने गरेको र नशालु पदार्थ भेटिने गरेको सुधारगृहका कर्मचारी पीताम्बर न्यौपाने बताउँछन् । ‘सात महिनाअघि सुधारगृह परिसरमा गाँजा र प्रतिबन्धित औषधि नाइट्रोसन ट्याब्लेट सीसीक्यामेराबाट देखिएपछि जलाएर नष्ट गर्‍यौं,’ उनले भने, ‘सुधारगृहमा रहेका किशोर र बालक बेलाबेला निकै उत्तेजित हुन्छन् र अराजक ढंगले प्रस्तुत हुन्छन् ।’

सुधारगृहभित्र विकृति बढेको गुनासोपछि दुई साताअघि जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित प्रहरी यहाँ पुगेका थिए । सरकारी टोलीले छानबिन गर्ने बुझेपछि सुधारगृहका एक किशोरले आफ्नो टाउको भित्तामा ठोकेर रगताम्य बनाए । केहीले भने टोली भित्र छिर्ने हो भने आत्महत्या गर्ने धम्की दिए । केहीले भने ग्यास सिलिन्डर सलाई कोरेर पड्काइदिने पनि बताए । अराजक गतिविधि देखेपछि आफूहरू भित्र नछिरी फर्किएको डीएसपी नवरत्न पौड्यालले बताए ।

सुधारगृहभित्र क्षमताभन्दा धेरै बालबालिका राखिएको भन्दै कारागार व्यवस्थापन विभागले १७ जनालाई बाँके, कास्की र भक्तपुरका सुधारगृहमा स्थानान्तरण गर्न असार १ मा पत्राचार गरेको थियो । यही निर्णय कार्यान्वयन गर्न गत मंगलबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रवीन्द्र रेग्मी नेतृत्वको टोली सुधारगृह पुग्यो । त्यसपछि सुधारगृहका बालबालिकाले सुरुमा चर्को नाराबाजी गरे भने केही किशोरले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरे । उनीहरूले भित्रबाट ताला लगाउनुका साथै सुरक्षाकर्मीलाई किलाकाँटी, चक्कु, छाताको डन्डी, सिसालगायतले प्रहार गरेको स्थानीयले बताए । यस्तै, भित्रबाट करेन्टसहितको तार ल्याएर फलामे गेटमा जोडिदिए । आफूले पढ्ने किताब–कापी र सुत्ने बिस्तरामा आगजनी गरे । स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गर्नुपर्‍यो भने आगलागी रोक्न दमकल नै बोलाउनुपर्ने अवस्था आयो । डीएसपीसहित दुई सुरक्षाकर्मी घाइते भए । लामो रस्साकसीपछि प्रहरीले १७ जनालाई सरुवा गर्‍यो । सुधारगृहकी प्रमुख गौतमले मंगलबारपछि भने स्थिति शान्त भएको बताइन् ।

स्थानान्तरणपछि प्रहरीले सुधारगृहमा अनुगमन गरेको थियो । त्यस क्रममा करिब २० ग्राम गाँजा, एक दर्जनभन्दा धेरै मोबाइल, फलामे डन्डा, किलाकाँटा बरामद भएका थिए । सुधारगृह प्रमुख गौतम नै कतिपय अभिभावकले आफ्ना छोरा भेट्न आउँदा नशालु पदार्थ लुकाएर दिने गरेको बताउँछिन् ।

सुधारगृहभित्र नशालु पदार्थलगायतका प्रतिबन्धित सामान पुग्नुमा मोबाइलकै प्रयोग भएको एसपी रवीन्द्र रेग्मीले बताए । ‘मोबाइल पहिल्यैदेखि उनीहरूको हातमा कसरी पुग्यो भन्ने खोजीको विषय हो,’ उनले भने, ‘मोबाइलबाट सम्पर्क गरेर नै त्यहाँ रहेका किशोरले नशालु पदार्थलगायतका प्रतिबन्धित सामान बाहिरबाट मगाउने गरेका हुन् ।’ बाहिरबाट कसैले सामान पोको पारेर फ्याँकिदिने गरेको दृश्य सीसीक्यामेरामा देखिएको उनको भनाइ छ ।

यहाँका किशोरले सामान मगाउँदा सुरक्षाकर्मीले धेरै पैसा लिने र पैसा फिर्ता नगर्ने गरेको भन्दै होहल्लासमेत भएको सुनेको एक स्थानीयले बताए । एसपी रेग्मी पनि प्रतिबन्धित सामान सुधारगृहभित्र पुग्नुमा सुरक्षाकर्मीको कमजोरी होइन भन्न नमिल्ने बताउँछन् । ‘पछिल्लोपटक सुरक्षाकर्मीले कडाइ गरेकाले आफूअनुकूल नभएपछि उनीहरू उत्तेजित हुन थालेका हुन्,’ उनले भने, ‘अब यो सुधारगृह पहिलाजस्तो अवस्थामा रहने छैन ।’

प्रकाशित : असार १०, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

बजेटको कर नीतिविरुद्ध रुपन्देहीका उद्योगी र मजदुर सडकमा

माधव ढुंगाना

भैरहवा — स्टिल तथा वायर उद्योगमा प्रयोग हुने विभिन्न कच्चा पदार्थको आयातमा विभेदकारी व्यवस्था गरिएको भन्दै बिहीबार रुपन्देहीका उद्योगी र मजदुरले विरोध प्रदर्शन गरेका छन् । स्टिल र वायर उत्पादनका लागि आयात हुने कच्चा पदार्थ फलामे बिलेट्स र स्पन्ज आइरनमा लाग्ने भन्सार तथा अन्तशुल्क दरको व्यवस्था विभेदकारी भएको जनाउँदै उद्योगी/मजदुरले उक्त असमान विभेदकारी व्यवस्था हटाउन माग गरेका हुन् । 

आर्थिक विधेयकले फलामे डन्डीको कच्चा पदार्थ स्पन्ज आइरनको आयातमा भन्सार महसुल १ प्रतिशतमात्र कायम गरी अन्तशुल्क पूर्ण रुपमा छुट गरेको छ भने फलामे बिलेट्सको आयातमा ४ दशमलव ७५ प्रतिशत भन्सार दर कायम गरी अन्तशुल्क दर प्रति मेट्रिक टन ३ हजार ५ सय रुपैयाँ कायम गरेको छ । त्यस्तै वायर उद्योगको कच्चापदार्थ एमएस वायरमा साविक ५ प्रतिशत लाग्ने भन्सार महसुललाई बजेटमार्फत वृद्धि गरी १० प्रतिशत पुऱ्याइएको छ भने भन्सार बिन्दुमै लगाइँदै आएको प्रति मेट्रिक टन २ हजार ५ सय रुपैयाँ अन्तशुल्क बढाएर ४ हजार ५ सय रुपैयाँ पुऱ्याइएको छ ।

यस खालको असमान र विभेदकारी व्यवस्थाले बिलेट्सबाट फलामे छड उत्पादन गर्ने स्टिल उद्योग र एमएस वायरबाट वायर उत्पादन गर्ने उद्योगहरुको उत्पादन लागत महँगो पर्न गई समान प्रकृतिका उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकी उद्योग धरासयी हुने पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए । उनले भने, ‘यो नीतिले नेपालका करिब ८० प्रतिशत डन्डी तथा वायर उद्योगलाई मर्कामा पारेको छ ।’

बिलेट्स आयात गरी डन्डी बनाउने उद्योगहरुको संख्या अत्याधिक हुँदाहुँदै पनि स्पन्ज आइरनबाट डन्डी तथा वायर उत्पादन गर्ने सीमित उद्योगको योजनालाई सहयोग पुग्ने गरी सरोकारवाला र उद्योगीहरुसँग छलफल बिना नै यस खालको विभेदकारी व्यवस्था लागू गरिएको व्यवसायीले बताएका छन् ।


बिहान साढे ९ बजे भैरहवाको बुद्ध चोकमा जम्मा भएका उद्योगी, कर्मचारी, मजदुर र उद्योग वाणिज्य महासंघ प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी समेतको जुलुसले विभिन्न नारा लगाउँदै बर्मेली टोल हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत् संघीय अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । यस व्यवस्थाले नेपालमा संचालनमा रहेका ३० वटा स्टिल्स उद्योगमध्ये स्पन्ज आइरनको आयात तथा पत्रु पगालेर डन्डी बनाउने ८ वटा मात्र उद्योगलाई एकपक्षीय रुपमा अत्याधिक लाभ गरेको एसआर स्टिल्स तथा एसआर आद्योगिक समूहका प्रबन्ध निर्देशक सुरज उप्रेतीले बताए ।

स्पन्ज आइरनको आयातमा भन्सार महसुल ३ प्रतिशत कायम गरिनुपर्ने, अन्तशुल्क कच्चा पदार्थको आयात गर्दा भन्सार बिन्दुमा नभई तयारी वस्तुमा लगाइनु पर्ने, वायर उद्योगको कच्चा पदार्थ एमएस वायरमा बृद्धि गरी १० प्रतिशत पुऱ्याइएको भन्सार महसुल घटाई साविक ५ प्रतिशत लाग्ने व्यवस्था कायम गरिनुपर्ने व्यवसायीको माग छ ।

प्रकाशित : असार २, २०७९ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×