१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

बिमितहरूलाई नियमित रुपमा सेवा दिनूस् : स्वास्थ्य बिमा बोर्ड

काठमाडौँ — स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम स्थगन गरेका सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमित रुपमा बिमितहरूलाई सेवा प्रदान गर्न आग्रह गरेको छ । 

बिमितहरूलाई नियमित रुपमा सेवा दिनूस् : स्वास्थ्य बिमा बोर्ड

केही दिनअघि स्वास्थ्य बिमाबापतको रकम नपाएको र सोको रकम भुक्तानी नभएको भन्दै केही अस्पतालहरूले बीमा कार्यक्रम स्थगन गरेका थिए ।

बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य बिमा बोर्डले आ.व.२०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख ९ हजार ५७ संख्याका दाबी र चालु आ.व.का दाबी ३३ लाख ७५ हजार ८३७ गरी कूल ५२ लाख ८४ हजार ८९४ संख्याका दाबीहरू परीक्षण गरी ८ अर्ब १३ करोड रुपैयाँ भुक्तानी भएको जनाएको छ । चालु आ.व.को जेठ १५ गतेसम्मको १८ लाख ५३ हजार ९ सय ५३ वटा दाबीलाई प्राथमिकताका साथ परीक्षण गर्ने कार्य भइरहेको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदार बसौलाले परीक्षण भएका दाबीहरूको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बिमा बोर्ड लागिपरेको र आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने दाबी गरे । ‘स्वास्थ्य बिमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बिमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था छ र परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक्तानी गर्न सकिने व्यवस्था छ,’ डा बसौलाले भने ।

उनले बिमा बोर्डमा हाल दैनिक हुने दाबी बढ्दो क्रममा रहेका कारण दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादात्म्यता मिलाउन जनशक्तिको अभावमा केही बिलम्व हुन गएको बताएका छन् ।

बिमा कार्यक्रममा प्रतिपरिवारले ३ हजार ५ सय रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको उपचारबापतको सेवा प्राप्त गर्दछन् । बिमा बोर्डका अनुसार ६ वर्षको अवधिमा ७७ जिल्लाका ७ सय ४६ वटा स्थानीय तहका करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भइसकेका छन् । देशभरका ४ सय ५० वटा सेवा प्रदायक संस्थाहरूबाट दैनिक २५ देखि ३० हजार संख्यामा दाबी आउने गरेका छन् ।

प्रकाशित : असार ९, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?