कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादको योगदान महत्त्वपूर्ण : ओली

रासस

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालीन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएको बताएका छन् । 

मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादको योगदान महत्त्वपूर्ण : ओली

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन् । 'मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादले छर्नुभएको पर्चाको योगदान महत्वपूर्ण रहेको छ,’ उनले भने । आचार्यले गठन गर्नुभएको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उनले बताए ।

उनले टंकप्रसाद आचार्यको विचार र संगठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे । ‘टंकप्रसाद आचार्यलाई मुलुकको नेतृत्व दिइन्थ्यो भने उनले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए । उनले भने, ‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।’

उनले प्रजापरिषद् नामेट पार्न एमालेमा गाँभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताए । ‘प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्,’ उनले भने । प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टंकप्रसाद आचार्यले छर्नुभएको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताए ।

टंकप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरेका थिए । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ ।

यसैबीच, सोही कार्यक्रममा अरविन्द रिमाल र महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुर्‍याएको योगदानस्वरुप सम्मान गरिएको थियो ।

प्रकाशित : असार ९, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?