निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन

सुरज कुँवर

काठमाडौँ — सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ ।बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो । 

‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा १ बमोजिम निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

१५ वर्षअघि निगमको टुइनअटर विमानका लागि कोपाइलटका रुपमा प्रवेश गरेका ज्वारचन ०७६ असारदेखि ०७८ फागुनसम्म निगमको पाइलट तथा क्याबिन क्रू विभागका निर्देशक थिए ।

७ हजार घण्टा जहाज उडाएको अनुभव भएका उनी समाजशास्त्रका स्नातकोत्तर हुन् । कोभिड माहामारी सुरु भएपछि चीनको बुहानलगायत खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने कार्यको नेतृत्व यिनैले गरेका थिए । यिनैको कार्यकालमा निगमको वाइडबडी जहाज अस्ट्रेलिया पहिलोपटक उडेको थियो ।

मुस्ताङ घर भएका ज्वारचनका बुबा पनि निगममै वाइडबडी विमानका पाइलट हुन् भने उनकी आमा पनि निगमको क्याबिन क्रू विभागकी प्रमुख हुन् ।

प्रकाशित : असार ९, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्

विराटनगरको साख फर्काउने पहल गरियोस् : संग्रौला

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रदेश १ को राजधानी विराटनगरको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विराटनगरलाई राजनीतिक‚ औद्योगिक एवं शैक्षिक हबका रुपमा चिनिने भन्दै यहाँको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताएकी हुन् ।

‘प्रदेशको राजधानीको रुपमा रहेको विराटनगर एक राजनीतिक, औद्योगिक एवं शैक्षिक हबको रुपमा चिनिन्छ । यस्तो सुपरिचित विराटनगरलाई आफ्नो साख जोगाउन कठिन अवस्था छ,’ सांसद संग्रौलाले भनिन्, ‘विद्यमान समस्याको हल गर्नका लागि विराटनगर महानगर र प्रदेशको बजेटले मात्र सम्भव छैन; केन्द्रको दूरदृष्टि पुग्न जरुरी छ ।’ उनले विराटनगरको औद्योगिक साख फिर्ता गर्न सरकारले लगानी गर्नुपर्ने बताइन् ।

‘हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैनन्; खण्डहर बनेका छन्; मुलुकको पहिलो उद्योग जुटमिल बन्द छ; त्यहाँका मजदुर एवं कामदारहरू बिचल्लीमा छन्,’ उनले भनिन्, ‘औद्योगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरू सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण उद्योग बन्द गर्नुपर्ने अवस्था रहेको भनिरहेका छन् । सरकारले विराटनगरका उद्योग बचाउन विशेष योजना ल्याउनुपर्छ ।’

उनले विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि काम थालिनुपर्ने बताइन् । ‘रोकिएको टर्मिनल भवनको निर्माण प्रक्रिया तुरुन्त सुरु हुनु पर्दछ । जग्गा रोक्का भई लामो समयदेखि मुआब्जा नपाएका र सडक संघर्षमा उत्रिएका स्थानीयको माग तुरुन्त पूरा गरिनु पर्दछ,’ उनले भनेकी छन् ।

प्रकाशित : असार ९, २०७९ १४:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×