कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरको साख फर्काउने पहल गरियोस् : संग्रौला

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रदेश १ को राजधानी विराटनगरको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विराटनगरलाई राजनीतिक‚ औद्योगिक एवं शैक्षिक हबका रुपमा चिनिने भन्दै यहाँको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताएकी हुन् ।

विराटनगरको साख फर्काउने पहल गरियोस् : संग्रौला

‘प्रदेशको राजधानीको रुपमा रहेको विराटनगर एक राजनीतिक, औद्योगिक एवं शैक्षिक हबको रुपमा चिनिन्छ । यस्तो सुपरिचित विराटनगरलाई आफ्नो साख जोगाउन कठिन अवस्था छ,’ सांसद संग्रौलाले भनिन्, ‘विद्यमान समस्याको हल गर्नका लागि विराटनगर महानगर र प्रदेशको बजेटले मात्र सम्भव छैन; केन्द्रको दूरदृष्टि पुग्न जरुरी छ ।’ उनले विराटनगरको औद्योगिक साख फिर्ता गर्न सरकारले लगानी गर्नुपर्ने बताइन् ।

‘हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैनन्; खण्डहर बनेका छन्; मुलुकको पहिलो उद्योग जुटमिल बन्द छ; त्यहाँका मजदुर एवं कामदारहरू बिचल्लीमा छन्,’ उनले भनिन्, ‘औद्योगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरू सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण उद्योग बन्द गर्नुपर्ने अवस्था रहेको भनिरहेका छन् । सरकारले विराटनगरका उद्योग बचाउन विशेष योजना ल्याउनुपर्छ ।’

उनले विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि काम थालिनुपर्ने बताइन् । ‘रोकिएको टर्मिनल भवनको निर्माण प्रक्रिया तुरुन्त सुरु हुनु पर्दछ । जग्गा रोक्का भई लामो समयदेखि मुआब्जा नपाएका र सडक संघर्षमा उत्रिएका स्थानीयको माग तुरुन्त पूरा गरिनु पर्दछ,’ उनले भनेकी छन् ।

प्रकाशित : असार ९, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?