प्रदेश र संघको चुनावपछि राजनीतिको बागडोर माओवादीको हातमा आउने सम्भावना छ : दाहाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश र संघको चुनावपछि राजनीतिको बागडोर माओवादीको हातमा आउने सम्भावना छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले आफूहरूसँग मिल्न आउनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा दाहालले आगामी चुनावमा माओवादी मुलुककै दोस्रो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले संघ र प्रदेशको चुनावमा माओवादी नेकपा एमालेभन्दा अगाडि हुने सम्भावना रहेको बताएका छन् । 'संघ र प्रदेश चुनावमा वामपन्थी दलमध्ये पहिलो दल बन्ने सम्भावना रहेको छ । यदि चुनावमा हामी लेफ्टमध्येको पहिलो भयौँ भने मुलुकको राजनीतिको बागडोर हाम्रो हातमा आउँछ,' उनले भने ।

तेस्रो पार्टीका रूपमा अहिले माओवादीलाई कांग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता रहेको पनि उनले बताए । 'अहिले चाबी त हाम्रै हातमा छ । तर कि कांग्रेससँग मिल्नुपर्ने कि एमालेसँग मिल्नुपर्ने अवस्था छ । हामीसँग चाबी त छ तर खोल्नका लागि अरु कसैको साथ चाहिने अवस्था छ,' उनले भने ।

वामपन्थी दलमध्ये पहिलो पार्टी भएमा एमाले र कांग्रेस आफूहरूसँग मिल्न आउनैपर्ने उनले बताए । 'लेफ्टमध्येको पहिलो दल हुने हो देशको राजनीतिको बागडोर माओवादी केन्द्रको हातमा आउँछ । प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले माओवादीसँग नमिले कुनै उपाय नहुने अवस्थामा पुग्न सकिन्छ भन्ने हो,' उनले भने ।

सम्भावनालाई यथार्थमा बदल्न पार्टी पंक्तिमा निकै मेहनत चाहिने पनि दाहालले बताए । 'सम्भावनालाई रियालिटीमा बदल्न हामी सबैले मेहनत गर्नुपर्नेछ । हामी सबैले आउने ६-८ महिना दु:ख गरेर संगठन बनाएर जनताको घर-घरमा टोलटोलमा पुगेर एक-एक मान्छेको हिसाब राखेर, आईटीको प्रयोग गरेर प्रचार संगठन निर्माण र सुदृढीकरणमा ध्यान दिनुपर्छ,' उनले भने ।

प्रकाशित : असार ९, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्

माओवादीले १२२ पालिका जित्दा बुर्जुवा र प्रतिक्रियावादीले जिब्रो टोकेका छन् : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीतिक धारालाई कता लैजाने भन्ने जिम्मा जनताले आफूहरूलाई दिएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले स्थानीय तह चुनावमा आफूहरूले अपेक्षा गरेभन्दा कम सिट जिते पनि तेस्रो निर्णायक शक्तिका रूपमा रहेको बताए ।

'परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन् । कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन्,' दाहालले भने ।

सिटमा केही तलमाथि भए पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै आफूहरूको ठूलो सफलता भएको बताए । उत्पीडित वर्गको हकहित संरक्षण र संविधान जोगाउनका लागि पनि निर्वाचन सफलतापूर्वक हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

'हामीले सोचेजति परिणाम आएन । यो पटक कम्तीमा पनि गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले पनि मेहनत गर्दा हाम्रो १७० देखि १७५ सम्म आउँछ, एमालेको पनि १६०-१७० तिर झर्छ । र, हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी हुन्छौँ र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ । तर हामी १२२ सिटमा सीमित भएका छौँ,' उनले भने ।

आफूहरूले आकलन गरेको भन्दा कम सिट जिते पनि अरूले भने माओवादी यति सिट जित्छ भन्ने अनुमान नगरेको उनको भनाइ छ । 'अरुका लागि भने बढी भाछ, माओवादीको यति आउला भनेर अरुले सोचेका थिएनन् । धेरै दस्तावेजहरू मैले हेरेको छु । ठूलठूला अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको मूल्यांकनमा हामीलाई ३० वटा पालिकाभन्दा आउँदैन भन्ने थियो । त्यसरी हेर्दा १२२ भनेको धेरै हो । बुर्जुवा र प्रतिक्रियावादीहरूले अहिले जिब्रो टोकेका छन् । उनीहरूले माओवादीको यत्रो आयो भनिरहेका छन्, तर हामीले योभन्दा धेरै आकलन गरेका हौँ । माओवादी केन्द्रका लागि मुख्य कुरा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु हो,' उनले भने ।

प्रकाशित : असार ९, २०७९ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×