हरेक महिना तीन जना बाघको आक्रमणमा

बाघको आक्रमणमा पर्ने ६० प्रतिशतको मृत्यु, सबैभन्दा बढी घटना बर्दियामा
रेडियो कलर जडान गरेको बाघ मृत फेला
गोविन्द पोखरेल

काठमाडौँ — नेपालका निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा हरेक महिना तीन जना बाघको आक्रमणमा पर्ने गरेको पाइएको छ । पछिल्लो तीन वर्षका बाघ आक्रमणको घटनालाई विश्लेषण गर्दा हरेक महिना तीन जना बाघको आक्रमणमा पर्ने गरेको पाइएको हो ।

हरेक महिना तीन जना बाघको आक्रमणमा

बितेका तीन वर्षमा निकुञ्जको कार्यक्षेत्रमा पर्ने क्षेत्रमा पर्ने वनभित्र १ सय ४ जना मानिसहरू बाघको आक्रमणमा परेका छन् । बाघमा आक्रमणमा पर्नेमध्ये करिब ६० प्रतिशतको मृत्यु भएको छ भने २८ प्रतिशत सख्त घाइते भएका छन् । यी तीन आर्थिक वर्षमा बाघको आक्रमणबाट ६२ जनाको मृत्यु भएको हो ।

यस्तै, २९ जना सख्त घाइते र १३ जना सामान्य घाइते भएका छन् । बाघ आक्रमणको सबैभन्दा बढी घटना बर्दिया राष्ट्रिय निकुञ्जमा देखिन्छ । निकुञ्जको कार्यक्षेत्र पर्ने ठाउँमा बाघले ३३ जनालाई आक्रमण गरेको छ । तीमध्ये १९ जनाको मृत्यु भएको छ । यस्तै, ६ जना सामान्य घाइते र ८ जना सख्त घाइते भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट प्राप्त तथ्यांकमा उल्लेख छ ।

यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा १६ जनामाथि बाघले आक्रमण गरेको छ । तीमध्ये ११ जनाको मृत्यु भएको छ । यस्तै, तीन जना सख्त घाइते भएको विभागका सूचना अधिकारी दिलबहादुर पुनले बताए ।

बाघको संख्या बढेसँगै नेपालमा बाघले गर्ने क्षतिका घटनाहरू पनि बढ्दो अवस्थामा छ । आर्थिक वर्ष ०७६/७७ निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा बाघले गरेका क्षतिको घटनना १७५ थियो । यो दर बढेर आर्थिक वर्ष ०७७/०७८मा ३०६ पुगेको छ ।

चालू आर्थिक वर्षमा बाघबाट भएको क्षतिको घटना ३ सय ६० छ । चालू आर्थिक वर्ष बाघको आक्रमणमा परेर १४ जनाको मृत्यु भएको छ भने पाँच जना सामान्य घाइते र तीन जना सख्त घाइते भएको विभागले जनाएको छ ।

पशुधनको क्षति बढ्दो

बितेका तीनवटा आर्थिक वर्षमा बाघबाट हुने पशुधनको क्षति पनि बढेको पाइएको छ । तीन वर्षमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरुमा बाघले ८ सय १९ वटा पशुधनको क्षति गरेको छ ।

७६/७७मा १७५ वटा घटना, ०७७/०७८ मा ३०६ र ०७८/०७९ मा यो संख्या ३३८ पुगेको छ । यसरी हेर्दा हरेक १५ दिनमा बाघले ११ वटा पशुलाई आक्रमण गर्ने गरेको देखिन्छ ।

सबैभन्दा बढी पशुधनको क्षति पनि बर्दिया निकुञ्जमा पाइन्छ । बर्दियामा २०७६/०७७ मा ९५ वटा, ०७७/०७८ मा १४१ वटा, ०७८/०७९ मा १७२ वटा घर पालुवा जनावरहरूलाई बाघले आक्रमण गरेको देखिन्छ ।

विभागले उपलब्ध गराएको तथ्यांकमा चितवन, बर्दिया, पर्सा र शुक्लाफाँटा र खप्तड राष्ट्रिय निकुञ्जका घटनाहरू समावेश छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जले ९ वर्षमा बाघको संख्या झन्डै दोब्बर बनाएको छ । सन् २००९मा १८ वटा बाघ रहेको यो निकुञ्जमा सन् २०१८ को घणनामा ८७ पुगेको थियो । बाघको संख्या दोब्बर बनाएको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जले ग्लोबल टी–एक्सटू अवार्ड समेत पाएको थियो । तर यस्ता घटनाहरूले संरक्षणमा चुनौती खडा गरेको मात्रै छैन, बाघ मानव सहअस्तित्वको विषयहरूको सवालमा समेत बहस हुने गरेको छ ।

रेडियो कलर जडान गरेको बाघ मृत फेला

बर्दिया राष्ट्रिय निकुञ्जले बाघको आनीबानी अवलोकन र अध्ययनका लागि ‘स्याटेलाइट’ जडानको गरेको एउटा बाघ गत सोमबार मृत अवस्थामा फेला परेको छ । अन्दाजी ११ वर्षको उक्त बाघ टीकापुरको जनशक्ति सामुदायिक वन कैलालीमा मृत अवस्थामा फेला परेको हो । घाटीमा तार अड्किएको अवस्थामा मृत फेला परेको सामुदायिक वनका पूर्व अध्यक्ष समेत रहेका टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले जानकारी दिए ।

वनमा लगाइएको तारघेरामा अड्किएर बाघको मृत्यु भएको हुनसक्ने चौधरीले बताए । अब रेडियो कलर जडान गरिएका चारवटा बाघ जीवित छन् । द्वन्द्वमा परेका बाघको आनीबानीको अध्ययन गर्नका लागि चितवनमा दुई वटा र रोड इकालोजी अध्ययन गर्नका लागि पर्सा र बर्दियामा एउटा/एउटा बाघमा रेडियो कलर जडान गरिएको हो ।

रोड इकोलोजी अध्ययन गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विभाग, आईसीयूएन नेपाल, युनिभसिर्टी अफ मिचिगन अमेरिकाको संयुक्त प्राविधिक टोलीले रेडियो कलर जडान गरेको थियो । सडकलगायत भौतिक संरचना निर्माण गर्दा वन्यजन्तुको ओहोरदोहरमा कस्तो प्रभाव पार्छ भनेर सन् २०२१/०२२ मा जडान गरिएको एनटीएनसीका चितवन प्रमुख बाबुराम लामिछानेले जानकारी दिए ।

पर्सामा सन् २०२१ को फेब्रअुरी र मार्चमा बर्दियाका बाघमा रेडियो कलर जडान गरिएको थियो । अहिले मृत अवस्थामा भेटिएको बाघ द्वन्द्वमा परेको बाघ हो ।

प्रकाशित : असार ८, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?