कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुस लेनदेनको अडियो प्रकरणमा संलग्न न्यायाधीश भन्छन् : न्याय परिषद्‍बाट छानबिन होस्

काठमाडौँ — व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् ।

घुस लेनदेनको अडियो प्रकरणमा संलग्न न्यायाधीश भन्छन् : न्याय परिषद्‍बाट छानबिन होस्

न्युज २४ टिभीले मंगलबार साँझ सार्वजनिक गरेको अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनको कुराकानी भएको छ ।

न्यायाधीश कोइरालाले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । घटनाबारे न्यायपरिषद्‍बाट छानिबनको माग गर्दै उनले त्यसमा पूर्ण सहयोग गर्ने पनि बताएका छन् । न्यायाधीश कोइरालाले फेसबुकमा लेखेका छन्, 'मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।'

न्यायाधीश र वकिलबीचको संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास तोकेको छैन ।

सम्बन्धित समाचार

प्रकाशित : असार ८, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?