२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सभामुखलाई प्रश्न- प्रधानन्यायाधीशमाथिको महाभियोग सिफारिस किन अघि बढेन ?

काठमाडौँ — नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने सांसद हराएका छन् कि संसद्‌मै छन् भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाले गठन गरेको संसदीय महाभियोग सिफारिस समितिका सदस्यसमेत रहेका पण्डितले महाभियोग सिफारिस किन अगाडि नबढ्नुको कारण र त्यसमा सभामुखको धारणाबारे प्रश्न गरेका छन् । 

सभामुखलाई प्रश्न- प्रधानन्यायाधीशमाथिको महाभियोग सिफारिस किन अघि बढेन ?

प्रतिनिधिसभाको सोमबारको बैठकमा पण्डितले महाभियोग कहिले अगाडि बढ्छ भनेर सभामुखलाई पनि प्रश्न गरेका छन् । 'महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ? महाभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नुभएको हो कि ?,' उनले भने, 'उहाँहरू यो प्रस्तावमाथि छानबिन गर्नको निम्ती तयार हुनुहुन्न, के भएको हो ?'

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गत फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि महाभियोग सिफारिस समिति पनि गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन । जबरा निलम्बनमा छन् भने महाभियोग सिफारिस समिति कामविहीन छ ।

त्यसरी समितिलाई कामविहीन बनाउँदा संविधानमा रहेको महाभियोगको व्यवस्थाको दुरुपयोग हुने पण्डितको भनाइ थियो । उनले सर्वोच्च अदालतलगायत संवैधानिक संस्थाहरूमाथि महाभियोगको नकरात्मक प्रभाव पर्ने बताए । 'यसमा सम्माननीय सभामुखको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीलाई विषयवस्तु पठाउनुहुन्छ ? कहिले हामीले काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नको जवाफ पाउने ?,' उनले भने, 'त्यसबारेमा समिति सदस्यको रूपमा म सभामुखको विचार जानकारी चाहन्छु । म आफू त्यो समितिको सदस्यको भएकोले गर्दा जानकारी चाहन्छु ।'

महाभियोग छानबिन समितिमा जबराविरुद्धको महाभियोग नपठाउने हो भने समितिको औचित्य के हो भनेर पण्डितले प्रश्न गरेका छन् । समितिलाई जिम्मेवारीविहीन बनाउन नहुने उनको भनाइ थियो ।

प्रकाशित : असार ६, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?