कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीभीआईपी उडानमा दुई पाइलट अनिवार्य 

सुरज कुँवर

काठमाडौँ — सरकारले भीभीआईपीको सूचीमा राखेका व्यक्तिले अब एकल पाइलटद्वारा हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले आइतबार भीभीआईपी हेलिकप्टर उडानमा अनिवार्य दुई जना पाइलट हुनुपर्ने निर्णय गरेको छ । ‘राज्यले भीभीआईपी भनेका व्यक्तिहरूलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन पाइने छैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने,‘आज यो निर्णय गर्‍यौं, भोलि सबै हेलिकप्टर कम्पनीलाई परिपत्र गर्दैछौं ।’हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी छन् । 

भीभीआईपी उडानमा दुई पाइलट अनिवार्य 

यसैबीच प्राधिकरणको आइतबार बसेको संचालक समितिको बैठकमा अबदेखि अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुइटा पाइलट अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ । मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले सर्वसाधरणका लागि चार्टर उडान गर्न पाउने प्राधिकरणका महानिर्देशक अधिकारीले बताए । उनका अनुसार नेपालको उड्डयन सुरक्षा अभिवृद्धि गर्ने नीतिअनुसार यस्तो निर्णय गरिएको हो ।

यसैबीच, अब हेलिकप्टर र वायुसेवाले काठमाडौं विमानस्थलमा तोकिएको संख्याभन्दा बढी जहाज पार्किङ गर्न पाउने छैनन् । ‘काठमाडौं बाहिर बेसको अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णय गरेका छौं,’ महानिर्देशक अधिकारीले भने, ‘यो निर्णय असार ७ गतेदेखि हेलिकप्टर र १३ गतेदेखि जहाजमा कडाईका साथ लागू हुनेछ ।’

प्राधिकरण मातहतको फ्लाइटअनुसार, नेपालमा ३६ वटा हेलिकप्टर छन् । यीमध्ये १४ वटा हेलिकप्टर अबदेखि काठमाडौं बाहिर अनिवार्य ‘नाइट–स्टप’मा रहनुपर्नेछ । त्यस्तै व्यावसायिक उडान गर्ने ९ वटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि बाहिर जानुपर्नेछ ।

‘संघीयताको मर्मअनुसार, प्रदेशको अर्थतन्त्र चलायमान बनाउन र प्रदेशका सर्वसाधरणले आफ्नो समयअनुसार केन्द्रीय राजधानीमा आउन यो समानताको निर्णयले अझ सहज हुनेछ,’ अधिकारीले भने ।


प्रकाशित : असार ५, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?