कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

७ करोडको जग्गा कीर्ते गरी बेचेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जग्गाधनीको मृत्यु भएको भनि नक्कली कागजात बनाएर ७ करोड रुपैयाँ पर्ने जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सो समूहले जग्गाधनी शान्तादेवी लोहनीको निधन भएको भन्दै उनको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा रहेको ३ सय ४१ वर्गमिटर जग्गा ३ करोड  ७० लाख रुपैयाँमा बिक्री गरेको जनाएको छ । 

७ करोडको जग्गा कीर्ते गरी बेचेको आरोपमा ५ जना पक्राउ

जग्गाधनी लोहनी लामो समदेखि जापानमा बस्दै आएकी थिइन् । पछिल्लो पटक लोहनीले गत जेठ ५ गते कलंकी स्थित मालपोत कार्यालयमा आफ्नो जग्गा बायोमेट्रिक्स प्रणालीमार्फत अभिलेख राख्न खोज्दा उनको जग्गा कीर्ते गरेर १४ महिनाअघि नै बिक्री भएको खुलेको थियो । लोहनीले २०६१ सालमा सो जग्गा खरिद गरेकी थिइन् ।

पक्राउ पर्नेमा दार्चुलाको उकु गाउँपालिकाका ५२ वर्षका महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्ची ४ का ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका १ का ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिकाका १ का ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर नगरपालिका २ की डासीमाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये ५२ वर्ष महावीर चन्दले लोहनीको पति तारानिधिको नामको नक्कली नागरिकता बनाएका थिए । तारानिधि बनेका चन्दले शान्तादेवीको कालगतिले २०७७ भदौ १३ मा मृत्यु भएको भन्दै मालपोत कार्यालयमा निवेदन दिएका थिए । शान्तादेवी नाममा रहेको सो जग्गा त्यसै वर्षको पुस ५ गते नक्कली तारानिधिमा नामसारी भएको थियो । उनीहरुले सो जग्गा २०७७ फागुन १० गते भक्तपुर नगरपालिका ११ की सुनिता कर्माचार्यलाई ३ करोड ७० लाख रुपैयाँमा बिक्री गरेका थिए ।

पक्राउ परेकामध्ये खनाल र कार्की मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । जसमा खनालले खरिदकर्ता खोज्ने र आर्थिक कारोबारको व्यवस्थापन गरेको र कार्कीले नक्कली कागजात बनाउने मिलाउने र मालपोत कार्यालयमा समन्वय गरेका थिए । प्रहरीले दुवैलाई चितवनको भरतपुरबाट गत बिहीबार पक्राउ गरेको थियो ।

प्रकाशित : असार ५, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×