कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोको त्रास : न बस्ने घर, न सर्ने भर

‘थातथलो छोडेर अन्यत्र जाने ठाउँ छैन,’ टुलकुमारी भन्छिन्, ‘न बस्ने घर छ, न सर्ने भर छ, जोखिम छ भन्ने थाहा हुदाँहुदै बस्नुपर्छ ।’
सरिता श्रेष्ठ

आगिन्चोक, धादिङ — त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ आगिन्चोकको धिमिरेमा गत जेठ २६ गते राति पहिरो जाँदा ५५ वर्षीय नेत्रप्रसाद खाँणको मृत्यु भयो । राति घरमै सुतिरहेको समयमा पहिरोले पुरिएर बेपत्ता भएका खाँणको एक्स्काभेटरले खोजी गरेर शव निकालियो । बेलुकाको खाना खाएर सुतिरहेको अवस्थामा एक्कासि पहिरो जाँदा गुहार माग्नसमेत पाएनन् ।

पहिरोको त्रास : न बस्ने घर, न सर्ने भर

बाहिर निरन्तर पानी परिरहेको थियो । माथिबाट लेदोसहित ढुंगा खसिरहेको थियो । पहिरोको आवाज सुनेपछि बाहिर निस्किएकी उनकी श्रीमती कनमाया खाँण चिच्याइरहिन्, कराइरहिन्, गुहार मागिरहिन् । दर्किंदो वर्षाले उनको आवाज मलिन बन्यो । करिब दुई घण्टापछि पानी र पहिरोको गड्याङगुडुङ आवाजले वरपरका छिमेकीहरुको पनि निन्द्रा खुल्यो र उद्धारमा लागिपरे ।

घरमाथि मोटरबाटो छ । त्यसमाथिको सडकमा पनि मोटर नियमित गुडिरहेको हुन्छ । रुखहरू टन्नै छन् । वरपर छिटपुट घर र बारीहरू छ । त्यसदिन सडकको तल रहेको ढुंगामाटो र जस्ताले बारिएको घरमा श्रीमती र त्यहीँनजिकै भूकम्पको अनुदानले बनाइएको घरमा श्रीमान् सुतेका थिए । छोरा सुरेन्द्र खाँण डेढ महिनाअघि मात्र कोरिया गएका थिए । घरमा परेको बज्रपातले फर्किए ।

श्रीमान्लाई पहिरोले लगेपछि कनमायाको आँखा ओभानो छैन । काजकिरियामा रहेकी उनी श्रीमान्लाई सम्झदै रुने, कराउने गर्छिन् । जेठानी रेशमकुमारी खाँणको घरमा कोरा बसिरहेकी उनी त्यो घटना देखेर भक्कानिन्छिन् । ‘आँखैअगाडि श्रीमान्लाई पहिरोले लगेदेखि आँखा ओभानो छैन, सम्झाउन सकिएको छैन,’ जेठानी रेशमकुमारी खाँण भन्छिन्, ‘पुस्तौ बसिरहेको ठाउँमा यसपालि पहिरो गयो, हाम्रो परिवारमा परेको यो बज्रपातले गाउँ नै शोकमा डुबेको छ ।’

***

गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुमको चेपारेमा पनि पहिरो जाँदा एक वृद्धाको मृत्यु भयो । अविरल वर्षापछि बिहीबार बेलुका गएको पहिरोले घरसँगै पुरिएर ८४ वर्षीय धनमाया सार्कीको मृत्यु भएको हो । अविरल वर्षासँगै आएको पहिरोले कतै मानवीय विनाश गरेको छ भने कतै बस्ती जोखिममा परेको छ । बारीमा लगाइएको अन्नपात पहिरोले पुरिएको छ भने बस्तुभाउसमेत मरेको छ ।

एकसाता अघिदेखिको अविरल वर्षाले जिल्लाको गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न वस्तीहरूमा क्षति पुर्‍याएको छ । माथिबाट पहिरो खस्छ, तलबाट भासिँदै गएको छ । वस्तीमाथिको पहिरो हेर्दै त्रासै त्रासमा दिनरात गुजार्ने गर्छिन्, गंगाजमुना गउँपालिका वडा नं ५ भीरमौरीकी टुलकुमारी विक । ‘जेठ ३१ गते राति दुई बजे गएको पहिरोले घरमा क्षति पुगेको छ । बस्न सक्ने अवस्था छैन । कतिबेला घरसँगै हामीलाई पनि लैजाने हो पत्तो छैन,’ उनी भन्छिन्, ‘पानी पर्न थालेपछि भागाभाग हुन्छ, पस्केको भातसमेत आरामले खान पाउँदैनौँ ।’

भूकम्पपछि बनाइएको पक्की घर पहिरोले लैजानै लागिसकेको छ । छेवैमा ढुंगामाटोको पुरानो घरमा धरापमा छ । त्यही पुरानो घरमा बाख्रा, बुंगुर बाँधिएको छ । पहिरोले तलबाट तानिरहेको छ भने माथिबाट ढुंगामाटो थुप्रिरहेको छ । टुलकुमारी दम्पती सुरक्षित बासका लागि छिमेकीको शरणमा पुगेकी थिइन् । अहिले बारीको गह्रामा त्रिपालले थेकेर रात कटाइरहेका छन् ।

***

२०७२ साल वैशाखमा गएको भूकम्पले चिराचिरा परेको जमिन र पहिरोको डर थेक्दै आइरहेका धादिङवासीहरू ज्यानको बाजी लगाएर बसिरहेका छन् । कहिले भूकम्प त कहिले पहिरोको जोखिम सहेर बस्दै आइरहेकाहरु डरैडरमा दिन गुजार्न बाध्य छन् । भूकम्पपछि वस्ती र जमिन बस्न नहुने गरी चिराचिरा परेको थियो । जसोतसो भूकम्पको त्रासलाई भुलेका स्थानीयहरू बाढीपहिरोको डरले अत्तालिएका छन् । ‘आफ्नो थातथलो छोडेर अनन्त्र जाने ठाउँ छैन’ टुलकुमारी भन्छिन्, ‘न बस्ने घर छ, न सर्ने भर छ, जोखिम छ भन्ने थाहा हुदाँहुदै बस्नुपर्छ ।’

पहिरोले घर नै जोखिममा परेपछि त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ छापथोकका बालबहादुर भण्डारी राम्ररी निदाउन सक्दैनन् । जेठ २६ गते राति ११ बजेर ५ मिनेटमा डिङडिङ आवाजसँगै सरर पहिरो घर तल पुग्यो । पहिरो आएको थाहा पाएपछि सुतिरहेकी श्रीमतीलाई बोलाएर भागेका थिए । त्यो दिन नभागेको भए ठूलै क्षति बेहोर्नुपर्ने बालबहादुरले बताए ।

उनीहरू अहिले बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् । ‘एकपछि अर्को विपद्सँग जुध्दै सुरक्षित बासको खोजीमा छौँ’ उनी भन्छन्, ‘पहिरो झर्छ कि भन्ने डरले न दिनमा भोक छ न रातमा निदाउन सकेको छु ।’ भोक र अभाव सहेर सुरक्षित बासको पर्खाइमा रहेकाहरू सरकारको भरमै कैयन रात कटाएका छन् ।

पहिरो प्रभावितलाई जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी धादिङले त्रिपाल, भाँडावर्तन, ओढ्ने ओछ्याउने कपडा र खानेकुरा सहयोग गरेको छ । प्रभावित क्षेत्रमा नै पुगेर पीडितको अवस्था हेरेर राहत सामानहरु प्रदान गरिएको रेडक्रस धादिङका सभापति नारायण तिमिल्सीनाले बताए ।

पहिरोले गंगाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाका घर र वस्ती जोखिममा परेको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर २ को ४ वटा सामुदायिक भवन र ताबल बस्ती, वडा नम्बर ३ को ६ घरधुरी र छेवाङ बस्ती नै जोखिममा छ । वडा नम्बर ४ को १९ घर, वडा नम्बर ५ मा १ सय ४२ घर, वडा नम्बर ६ मा ४२ घर, वडा नम्बर ७ मा १४ घरमा क्षति पुगेको छ । यीमध्ये ४० घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको छ । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ मा १० घर, वडा नम्बर ५ मा ५१ घर, वडा नम्बर ६ मा एक सय घरमा क्षति पुगेको छ । पहिरोले खेतबारी, पशुपन्छी, अन्नपातमा क्षति पुगेको छ भने धनमाल हराएको छ ।

प्रकाशित : असार ४, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?