कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तत्कालिन नासु भण्डारीविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालिन नासु भण्डारीविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तत्कालिन नासु भण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बिगो, कैद सजाय तथा बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनी हाल विध ल्याबका संचालकसमेत हुन् ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भीमकान्त भण्डारी मिति २०७३ असोज २१ मा नासु पदबाट सार्वजनिक सेवा प्रवेश गरेका उनले २०७७ साउन १ मा राजीनामा दिएर सरकारी सेवाबाट बाहिरिएका थिए । सेवा प्रवेश गरेको ४ वर्षमै उनले जोडेको सम्पत्ति तथा जीवनयापन अस्वभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

अस्वभाविक रुपमा राजीनामा दिएपछि उनी विरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा उजुरी परेको थियो । त्यसपछिको अनुसन्धानका अख्तियारले भण्डारी सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्त सम्मको सम्पत्ति माथि अनुसन्धान गरेको थियो ।

‘भण्डारीको २०७८ पुस मसान्तसम्मको सम्पत्तिको आय व्यय गणना गर्दा सेवामा रहँदा पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्व जाँच अवधिको बचत गरी २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ देखिन्छ र निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ देखियो,’ अख्तियारका प्रवक्ता भण्डारीले भने ।

खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जनमा लगानी रकम घटाउँदा भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको अख्तियारले उल्लेख गरेको छ । स्रोत नखुलेको सोही रकमलाई बिगो कायम गरी जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मातदावी लिएको हो ।

‘भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘निजलाई बिगो ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा कायम गरी कैद एवं बिगो बमोजिम जरिवाना र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफत गर्नुपर्ने देखिन्छ।’

अख्तियारले भण्डारीका नाममा एकल स्वामित्वमा रहेका कम्पनीको बैंक मौज्दात १७ लाख ६२ हजार १ सय ९२ रुपैयाँ समेतबाट कुल बिगोमा उल्लेख गरिएको सम्पत्ति पनि जफत गर्न भनेको छ ।

प्रकाशित : असार ३, २०७९ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×