कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेलाई परराष्ट्रमन्त्रीको प्रश्न : एसपीपी २०१९ मा खारेज नगरी किन होल्डमा राखेको ?

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले सन् २०१९ मा एसपीपी किन होल्डमा राखेको हो ? भनेर प्रश्न गरेका छन् । त्यतिबेला नै खारेज गरेको भए अहिलेको विवाद उत्पन्न हुने थिएन भन्ने मन्त्री खड्काको धारणा थियो ।

एमालेलाई परराष्ट्रमन्त्रीको प्रश्न : एसपीपी २०१९ मा खारेज नगरी किन होल्डमा राखेको ?

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा वर्तमान सरकारले एसपीपी कुनै हालतमा अगाडि नबढाउने बताउँदै कसले र किन गरेको भनेर खोतल्न हुन्न भनेको तर एमालेले फरक रुपमा बुझेको खड्काको भनाइ थियो ।

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा र रक्षामन्त्री ईश्वर पोखरेलले समितिमा सन् २०१९ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले होल्डमा राखेको थियो भन्ने अभिव्यक्ति दिएका थिए । 'सन् २०१९ मा किन होल्डमा राखेको ? प्रदीप ज्ञवालीले संसद्मा होल्डमा राखेका थियौं भन्नुभएको थियो । त्यतिबेला खारेज किन नगरेको ?,' उनले सोधे ।

सन् २०१५ को एसपीपी सुरुवातको पत्राचारलाई लिएर सन् २०१९ को अवस्था नजोड्न मन्त्री खड्काले आग्रह गरे । सन् २०१९ मा एसपीपी इन्डोप्यासिफिक सैन्य गठबन्धनमा जोडिएको उल्लेख गर्दै त्यसपछि एसपीपी खारेज गर्न किन पत्र नपठाएको भन्ने प्रश्न मन्त्री खड्काको थियो ।

मन्त्री खड्काले कुनै पनि हालतमा सरकारले एसपीपी अगाडि नबढाउने तर एमाले सांसदहरूले भनेजस्तै कसको पालामा के भएको थियो भन्न समिति गठन गर्ने भए त्यसाे गर्न पनि आग्रह गरे ।

मन्त्री खड्काले एसपीपीबारे अहिलेसम्म सेनाले पत्राचार गरेको बाहेकको प्रक्रिया नभएको बताए । उनले भने, 'एसपीपीबारे अहिलेसम्म सेनाले पत्राचार गरेको बाहेकको प्रक्रिया छैन । त्यसलाई खारेज गर्छौं भनेर लेख्नु पर्ने भए हामी सल्लाह गरेर प्रक्रियामा जान्छौं ।

प्रकाशित : असार ३, २०७९ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?