१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

सरकारी प्राथमिकतामा छैन एकमात्र होमियोप्याथिक अस्पताल [भिडियो]

ल्याब सेवा नहुँदा परीक्षणका लागि अन्यत्र धाउनुपर्ने बाध्यता 
बुनु थारु

काठमाडौँ — सोमबार ललितपुरको हरिहरभवनस्थित सरकारी स्वामित्वमा रहेको एक मात्र होमियोप्याथिक अस्पताल पशुपति होमियोप्याथिक अस्पतालको ओपीडीमा पुग्दा रामेछापका एक वृद्ध मधुमेहको समस्या लिएर जाँचका लागि आएका थिए । उनी फलोअपमा आएका रहेछन् । चिकित्सकले १५ दिनका लागि औषधि लेखिदिए । आफूलाई आउन जान अप्ठ्यारो हुने र औषधिको मात्रा बढाइदिन अनुरोध गर्दै थिए उनी । चिकित्सकले अर्कोपटकको फलोअपपछि मात्र दिन मिल्ने बताए ।

सरकारी प्राथमिकतामा छैन एकमात्र होमियोप्याथिक अस्पताल [भिडियो]

काठमाडौँ चोभारकी ४० वर्षीया महिला पाठेघरको समस्या लिएर आइन् । एक आफन्तले होमियोप्याथीमा पाठेघरको उपचार राम्रो हुन्छ भनेर सिफारिस गरेपछि आएको उनले बताइन् । उनी अल्ट्रासाउन्डको रिपोर्ट लिएर फलोअपमा आएकी थिइन् ।अस्पतालमा प्याथोलोजी सेवा नहुँदा उनलाई अन्यत्र धाउनुपरेको थियो ।

अस्पतालमा करिब २ घण्टा बिताउँदा उपत्यकाबाहेक सिन्धुपाल्चोक, झापा, रामेछाप आदि जिल्लाबाट बिरामीहरू जाँच गर्नका लागि आएका थिए । केही परीक्षण गर्नपरे अन्यत्र जानुपर्ने र टाढाबाट आउनुपर्ने बिरामीलाई दु:ख हुने उनीहरूको भनाइ थियो ।

काठमाडौं बाहिरबाट होमियोप्याथीको विश्वास गरेर जचाउन आउनेलाई धपेडी त भएको छ नै; त्यसमाथि प्याथोलोजीको सामान्य सेवासमेत नहुँदा बिरामीहरूलाई अन्यत्र नै धाउनुपर्ने बाध्यता छ । अस्पतालमा पिनाश, श्वासप्रश्वास, दम, छाला, पेट, पत्थरी, हाडजोर्नी, बाथ, रक्तचाप, माइग्रेन, पायल्स, नाक, कान तथा घाँटी, यौनरोग, स्त्रीरोग, मानसिक रोग आदिको उपचार सेवा पाइन्छ ।

यो चिकित्सा पद्धति राणा कालमा भित्रिएको मानिन्छ । वि.सं. २०१० सालमा पशुपतिको बज्रघरमा ६ शय्यासहितको अस्पताल स्थापना भएको थियो । अस्पतालले वि.सं. २०४२ सालमा ललितपुरको हरिहरभवनमा आफ्नै भवनबाट सेवा दिँदै आइरहेको छ ।

होमियोप्याथी प्राकृतिक सिद्धान्तमा आधारित चिकित्सा प्रणाली भएको र कुनै साइडइफेक्ट पनि नहुने भन्ने विश्वास जनमानसमा रहेको छ; त्यसैले पनि बिरामीहरू टाढा-टाढाबाट पनि आउने गरेका छन् । उपचार तथा औषधि नि:शुल्क पाइन्छन्; त्यसैले पनि मानिसहरू यस चिकित्सा पद्धतिमा आकर्षित छन् । स्थापनाको ६९ वर्ष बितिसक्दा पनि अस्पतालको सेवा तथा विस्तारमा कुनै सुधार आएको देखिँदैन । भौतिक पूर्वाधार, जनशक्ति तथा स्थान अभावले अस्पतालको सेवा ओपीडीमा मात्र खुम्चिएको छ ।

अस्पताल स्थापना भएपश्चात् हालसम्म ३ जना प्रमुख रहिसकेका छन् । सरकारले चासो नदिएकै कारण सोचेजस्तो वृद्धि विकास हुन नसकेको बताउँछन् अस्पतालका पूर्वप्रमुख डा. समीर खाँ । उनका अनुसार आईपीडी पनि सञ्चालन गर्ने प्रयास गरिएको हो तर जनशक्ति अभावले हुन सकेन । भन्छन्‚ ‘जनशक्तिको कमी नै छ । ३ जना चिकित्सकले दैनिक २ सयदेखि ३ सय बिरामी हेर्नुपर्छ; त्यो कुरा गाह्रो हो । कम खर्चमा बढी सेवा दिने यो होमियोप्याथी सेवा विकास विस्तार गर्न सके देशका लागि नै फाइदा हो । हामीले दरबन्दी बढाइदिनुस् भनेर पटक-पटक भनेकै हो । सरकारबाट सुनुवाइ भएन ।’ २९ वर्ष यस अस्पतालमा बिताएका उनले अरु चिकित्साजस्तो होमियोप्याथीको चिकित्सकहरूलाई समयक्रमअनुसार आवश्यक तालिम पनि नदिइएको बताए ।

३ जना चिकित्सक, दैनिक ३ सय बिरामी

अस्पतालमा ३ जना चिकित्सक, ४ जना नर्सिङ स्टाफ, २ जना सी अहेब, प्रशासन र लेखा गरी लगभग २० जनाको दरबन्दी रहेको छ । दैनिक २०० देखि ३०० सम्म बिरामी आउने अस्पतालमा ३ जना चिकित्सकले धानिरहेका छन् । दरबन्दी बढाउन पटक-पटक माग गरिएको तर स्वीकृत भइनसकेको अस्पताल प्रमुख डा. प्रेमनारायण श्रीवास्तवले बताए । उनले भने‚ ‘बिरामीको चापअनुसार जनशक्ति दरबन्दीको कमी छ‚ जसले गर्दा इन्डोर सुविधा सञ्चालनमा समस्या भएको छ ।’ उनले जनशक्ति र बजेट अभावले अस्पतालको वृद्धि विकासमा समस्या भएको बताए ।

अघिल्लो आर्थिक वर्षमा अस्पतालका लागि बजेट २ करोड ३४ लाख बजेट छुट्याइएको थियो । यो वर्षका लागि थप १० देखि १५ लाख बजेट माग गरिएको डा. श्रीवास्तवले जानकारी दिए । ‘यस वर्ष हामीले ४ वटा शिविर पनि गरेका छौँ । शिविरहरू पनि बढ्छन् । करिब १ करोड तलबमा जान्छ । ३५ देखि ४० लाखको औषधि खरिदमा जान्छ,’ उनले भने ।

वि.सं २०६४ सालमा अस्पतालले ओएनएम गरी प्रतिवेदन पेश गरेको तर त्यो स्वीकृत नभएपछि वि.सं २०७६ सालमा पुन: ओएनएम प्रतिवदेनको प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन । ओएनएम प्रतिवेदनमा अस्पताललाई थप विकास विस्तार गर्दै विशिष्टीकृत सेवाहरू उपलब्ध गराउने र अस्पताल विकास र विस्तार समिति गठन गर्ने बताइएको छ । डा. श्रीवास्तवले प्रतिवदेनमा २ जना ल्याबमा, २ जना फिजियोमा, ५ जना थप चिकित्सक र ४ जना सहायक आवश्यक रहेको भनी माग गरिएको बताए ।

‘एक चरणको त छलफल भइसकेको छ । कर्मचारी दरबन्दी तथा अस्पतालको सेवा विस्तार गर्नका लागि पहल गरिरहेको छु । स्वास्थ्य मन्त्रालय सकारात्मक नै देखिएको छ,’ उनले दाबी गरे ।

छैन प्याथोलोजी सेवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयत अन्तर्गत रहेको यस अस्पतालले ६ शय्या पनि सञ्चालन गर्न सकेको छैन । अढाई तल्ले भवनमा अस्पतालले भुइँतल्लामा बिरामी जाँच र फार्मेसीको सुविधा दिइरहेको छ । ६ शय्याको अस्पताल भनिए पनि जनशक्ति अभावले बेडहरू सञ्चालनमा छैनन् । दोस्रो तल्लामा कोठाहरू बन्द अवस्थामा छन् । त्यसैगरी प्याथोलोजी सेवा, फिजियोथेरापी सेवालगायतका सुविधाहरू पनि अस्पतालमा नभएकाले प्रयोगशालाका परीक्षणका लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको छ । ल्याब परीक्षणमा चाहिने केही आधारभूत सामानहरू आइसके पनि जनशक्ति नभएकै कारण सञ्चालनमा आउन सकेका छैनन् ।

अस्पतालका प्रमुख डा. श्रीवास्तवले जनशक्ति अभावले बेड सञ्चालनमा नआएको र बिरामी भर्ना लिन नसक्ने बताए । उनले भने‚ ‘ल्याब परीक्षण सुविधा छैन । होमियोप्याथिक सहायक जनशक्ति पनि छैनन् । ढाड दुखेको, घुँडा दुखेको, नसा च्यापिएको बिरामीलाई फिजियोथेरापी आवश्यक हुन्छ ।उनीहरुलाई असहज छ । दरबन्दी बढ्यो भने थप सेवा विस्तार हुन्छ ।’

‘सरकारी चासोमा परेन होमियोप्याथी चिकित्सा’

जनमानसमा होमियोप्याथीको विश्वसनीयताले निजी तवरमा यो पद्धति फस्टाइरहँदा सरकारी तवरमा भने यो विकसित तथा प्रचारप्रसार हुन सकेको छैन । प्रदेशका अस्पतालहरुमा फाट्टफुट्ट रुपमा करारमा होमियोप्याथिक चिकित्सकहरु राख्न थालिएको छ ।

वि.सं. २०६३ सालमा स्वास्थ्य मन्त्रालयको मन्त्रिस्तरको निर्णयबाट होमियोप्याथीलगायत वैकल्पिक चिकित्सा क्षेत्रका लागि नेपाल वैकल्पिक चिकित्सा परिषद् ऐनको विधानको मस्यौदा तयार गर्न कार्यदल गठन भई सो कार्यदलले ‘नेपाल वैकल्पिक चिकित्सा परिषद् ऐन २०६३’ स्वास्थ्य मन्त्रालयमा पेश भए पनि त्यो प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेपालको संविधानमा पनि परम्परागत चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोप्याथिकलगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्द्धन गर्ने कुरा उल्लेख रहेको छ तर यो विधालाई जहिल्यै पनि एक्ल्याइएको र बेवास्ता गरेको विज्ञहरू बताउँछन् । उनीहरू प्रदेशस्तरीय अस्पतालमा होमियोप्याथीको एउटा शाखा भएपनि राखिए बिरामीहरू धेरै लाभान्वित हुने बताउँछन् ।

विराटनगरमा वि.सं. २०५९ मा होमियोप्याथिक चिकित्सक उत्पादन गर्न निजी क्षेत्रबाट नेपाल होमियोप्याथिक मेडिकल कलेज स्थापना भएको तर हाल यो बन्द अवस्थामा छ । त्यसैगरी भक्तपुरमा वि.सं २०६४ सालमा होमियोप्याथिक सहायक उत्पादन गर्न भक्तपुर होमियोप्याथिक मेडिकल कलेज स्थापना भएकोमा हाल यो पनि बन्द छ । भारत सरकारले दिने छात्रवृत्तिमा बर्सेनि १-२ जना चिकित्सहरू अध्ययन गरिरहेका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको वैकल्पिक चिकित्सा शाखा प्रमुख डा. श्यामबाबु यादवले सरकारले वैकल्पिक चिकित्सा शाखालाई कम प्राथमिकतामा राखेको बताउँछन् । उनले यसका लागि नाम मात्रको बजेट छुट्याएको बताउँदै स्वास्थ्य मन्त्रालयमा होमियोप्याथिक जनशक्ति नभएका कारण पनि यस चिकित्सासम्बन्धी कार्यक्रमहरूमा पहुँच नपुगेको बताए । उनका अनुसार पशुपति होमियोप्याथी अस्पताल २०७४ मा वैकल्पिक चिकित्साअन्तर्गत समावेश गरिएको छ । उनले अस्पतालको विकास तथा विस्तारको लागि सम्बन्धित निकायले नै अग्रगामी भूमिका खेल्नुपर्ने बताए ।

‘हामीले पोलिसीमा कुरा राख्दिने हो । सहजीकरण गदिर्ने हो । जुनसुकै विधा विकास विस्तारको लागि आफैं लाग्नुपर्छ । आफ्नो अस्पतालको पुनर्संरचना गर्नुस् भनेर सुझाव दिएका छौँ,’ उनले भने । विभागअन्तर्गत हालमै मात्र एक जना होमियोप्याथिक चिकित्सक नियुक्ति भएका छन् ।

नेपाल होमियोप्याथी संंघका महासचिव डा. रामहरि श्रेष्ठले सरकारले चाहेमा पशुपति होमियाप्याथिक अस्पताललाई होमियोप्याथिक स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरोन्नति सकिने र यसलाई नै होमियोप्याथी काउन्सिलको रुपमा पनि विकास गर्न सकिने बताउँछन् । उनी भन्छन्‚ ‘सरकारले यस क्षेत्रलाई बेवास्ता गरेकै त हो तर सम्बन्धित निकायमा उचित पहल नपुगेकोले पनि हो ।होमियोप्याथी प्रभावकारी छ; त्यसैले यसको वृद्धि विकास हुन जरुरी छ ।’ उनका अनुसार नेपालमा २८० को हाराहारीमा होमियोप्याथीका जनशक्तिहरू रहेका छन् ।

होमियोप्याथीक चिकित्सा प्रणाली सस्तो, सरल तथा प्रभावकारी भएकाले पनि नेपालका लागि यो उपयुक्त छ । औषधि व्यवस्था विभागमा होमियोप्याथिक जनशक्ति नभएकाले पनि औषधि दर्ता, पसलहरूको अगुमन तथा नियमनमा समस्या रहेको जानकारहरू बताउँछन् । हालसम्म भारतबाट नै औषधिहरू आयात भइरहेको छ ।

केही वर्षअघि पशुपति होमियोप्याथिक चिकित्सालयको घरजग्गा पाटन उच्च अदालतले लिने भन्ने विवाद भएको थियो तर पछि महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले निर्वाध चल्न दिने निर्देशन दिएको थियो । हाल भने जग्गा विवाद उठेको छैन । चिकित्सालयका प्रमुख डा. श्रीवास्तवले यस अस्पतालका शाखाहरू सातै प्रदेशमा खोल्नलागि निरन्तर पहलहरू भइरहेको बताए ।

प्रकाशित : असार ३, २०७९ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?