कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

काठमाडौं उपत्यकामा चार स्याटेलाइट सहर बनाउने गफमात्रै भएको थियो : मन्त्री झाँक्री

काठमाडौँ — सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा चार स्याटेलाइट सहर निर्माणको योजना तर्जुमा विगतमा नगरिएको बताएकी छन् । उनले विगतमा स्याटेलाइट सहर निर्माण गर्ने भनेर कुरा भएको तर त्यसका लागि आवश्यक काम नभएको बताइन् । 

काठमाडौं उपत्यकामा चार स्याटेलाइट सहर बनाउने गफमात्रै भएको थियो : मन्त्री झाँक्री

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहरी विकास मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले सहर निर्माणका लागि काम गर्नुपर्ने धारणा राखिन् । 'काठमाडौं उपत्यकामा चारवटा स्याटेलाइट सिटी बन्ने भनेको थियो कहाँ पुग्यो भन्नुभएको छ । काठमाडौं उपत्यकामा चारवटा कुनामा स्याटेलाइट सिटी बनाउने भन्ने कुरा गफ धेरै भएको थियो तर धेरै काम भएको थिएन,' उनले भनिन्, 'उत्तरपूर्वी सिसान सहर र त्यहाँको नयाँ भौतिक योजना मन्त्रिपरिषद्ले पास गर्ने प्रक्रियामा नै छ । त्यसैले यो कार्यक्रम नयाँ कार्यक्रमका रूपमा आएको छ । अरु तीनवटाको सम्भाव्यता अध्ययन जारी छ ।'

काठमाडौं उपत्यकाका चार दिशामा स्याटेलाइट सहर निर्माणका लागि जग्गा रोक्ने काम पनि नभएको मन्त्री झाँक्रीले जानकारी गराइन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा निर्माण गर्ने भनिएको बाह्य रिङरोडको योजना पनि अगाडि नबढेको मन्त्री झाँक्रीले जानकारी दिइन् । उनले भनिन्, 'बाह्य रिङरोडको प्रक्रिया अगाडि बढेको छैन । जुन ठाउँमा भनिएको छ त्यसमा बन्छ कि बन्दैन भन्ने आशंका छ । जहाँ बाह्य रिङरोड भनेर सर्भे गरिएको थियो; त्यसमा सरकारी भवन बनेका छन् । पुनः अध्ययनको खाँचो देखिएको छ ।' बाह्य रिङरोडका लागि मुआब्जा वितरण गर्ने हो भने अर्बौं खर्च हुने अवस्था रहेको पनि मन्त्री झाँक्रीको भनाइ थियो ।

मन्त्री झाँक्रीले सहरी विकास मन्त्रालयले विगतमा जस्तो भ्यू टावर निर्माणका योजना नराखेको बताइन् । उनले अनुत्पादक क्षेत्रमा राज्यले लगानी नगर्ने बताइन् ।

प्रकाशित : असार १, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×