१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

आर्मी क्लब मकवानपुर गोल्डकपको च्याम्पियन

त्रिभुवन आर्मीको लगातार दोस्रो जित
सुवास विडारी

मकवानपुर — विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ च्याम्पियन बनेको छ ।

आर्मी क्लब मकवानपुर गोल्डकपको च्याम्पियन

हेटौंडा–५ स्थित पिप्ले क्याम्प रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली विजय युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो ।

आर्मीलाई वर्षको पहिलो उपाधि दिलाउने क्रममा कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । विजय युथका डोना थापाले पेनाल्टीमार्फत् एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको विजय युथले १० लाख रुपैयाँमा चित्त बुझाएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले बुलेट बाइक प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाख रुपैयाँको मोटरसाइकल बरालले हात पारेका हुन् ।

प्रतियोगिताको व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकतर्फको सबै पुरस्कार आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपाने उत्कृष्ट घोषित भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेता र उपविजेता खेलाडी तथा प्रशिक्षकलाई नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?