कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

एमालेको प्रश्न- प्रधानमन्त्री कि रक्षामन्त्री‚ कुन हैसियतमा हुँदैछ देउवाको अमेरिका भ्रमण ?

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलले शेरबहादुर देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले संसद्‌मा जानकारी दिनुपर्ने माग गरेका छन् ।

एमालेको प्रश्न- प्रधानमन्त्री कि रक्षामन्त्री‚ कुन हैसियतमा हुँदैछ देउवाको अमेरिका भ्रमण ?

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे सदनलाई जानकारी नदिएको तथा भ्रमणको व्यवस्थापनमा दुवै देशका परराष्ट्र सम्बन्धसँग सम्बन्धित निकाय सक्रिय नभएर रक्षा तथा सेनासँग सम्बन्धित निकाय सक्रिय भएकोप्रति पनि ज्ञवालीले आशंका व्यक्त गरेका छन् ।

'यो भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपर्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न नेपालको परराष्ट्र मन्त्रालय । भ्रमणको चाँजोपाँजो मिलाइरहेको अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र नेपालको रक्षा मन्त्रालयले हो; सेना त्यसमा जोडिएको छ,' उनले भने, 'यसले गम्भीर प्रश्न उठेको छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ या रक्षामन्त्रीको हैसियतले ? रक्षामन्त्रीको हैसियतले हुँदैछ भने त्यसको विषयमा पनि सदनले थाहा पाउन जरुरी छ ।'

देउवाको अमेरिका भ्रमणबारे र त्यहाँ हुने भनिएका सम्झौताको चर्चाले कतै नेपालको परराष्ट्र नीतिमा खलल पुग्ने हो कि भन्ने आशंका ज्ञवालीले जनाएका छन् । 'एकातिर परराष्ट्र मन्त्रालय र स्टेट डिपार्टमेन्ट भ्रमण व्यवस्थापनको फ्रन्टलाइनमा नहुनु । यसको चाँजोपाँचो रक्षा मन्त्रालय र अन्य खालका निकाय हुनु । अनि यस्ता विषयमा सहमति हुँदैछ भनेर चर्चा चल्नुले गम्भीर आंशका पैदा गरेको छ । नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन,' उनले भने ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले सरकारले प्रमुख प्रतिपक्षीसँग अन्तर्राष्ट्रिय भ्रमण र सम्झौताबारे छलफल गर्न छाडेको बताए । उनले विगतमा यस्ता विषयमा राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने प्रचलन रहेकोमा त्यस्तो हुन नसकेको बताएका हुन् ।

प्रकाशित : जेष्ठ २९, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?