१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

बहिनी अभियन्ता

दिदीको बलात्कारपछि हत्या हुँदा ४ वर्षकी समीक्षा अहिले यस्तै घटनाविरूद्ध नाटक लेखन, निर्देशन र अभिनय गरेर आवाज मुखर गर्दै छिन्
लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम–१ की १३ वर्षीया मीना न्यौपाने २०६५ माघ २१ मा घर नजिकैको जंगलमा मृत भेटिइन् । हराएको ६ दिनपछि भेटिएकी उनको मृत्युको प्रकृति र शारीरिक अवस्था हेर्दा बलात्कारपछि हत्या भएको प्रस्ट थियो । पोस्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्याकै संकेत गर्‍यो । तर प्रहरी प्रशासनले दोषी पत्ता लगाउन सकेन ।

बहिनी अभियन्ता

बलात्कारपछि दिदीको हत्या हुँदा बहिनी समीक्षा ४ वर्ष मात्र पुग्दै थिइन् । साँझबिहानै रोएर आमाले व्यक्त गर्ने वेदनाले समीक्षाको मस्तिष्कमा हिंसाजन्य घटनाका विरुद्ध विद्रोही भाव सिर्जना गरिदियो ।

अहिले उनी त्यही विद्रोहको भावना सडकमा छताछुल्ल पारेर अभिव्यक्त गरिरहेकी छन् । दिदीकै हत्याको घटनामा आधारित नाटक लेखेर पहिलो पटक आफैं पढ्ने विद्यालयमा हिंसाजन्य घटनाविरुद्ध प्रदर्शन गरेकी थिइन् । अहिले उनी जिल्लाका सडकहरूमा बलात्कार र महिला हिंसाजन्य घटनाको विरोधमा संघर्ष गर्दै छिन् ।

उनकै लेखन र निर्देशनमा प्रदर्शन भइरहेको नाटकको सुरुवातमा १३ वर्षीया बालिकालाई प्रहरी र प्रशासनको नेतृत्वमा रहेका व्यक्ति र तिनका आफन्तले एकान्तमा बलात्कार गरेपछि उत्पन्न घटना चित्रण गरिएको छ । नाटकमा रक्ताम्य शरीरमा घर आएकी बालिकाले सहयोगका लागि परिवारका सदस्य हुँदै समाजसम्म पुगेर न्यायका लागि हारगुहार गर्दा उल्टै इज्जत जाने डर देखाउँछन् । ठूलाबडाविरुद्ध मुद्दा लगाए उल्टै दुःख पाइने र जे भयो ठिकै भयो भन्दै पीडा दिनेहरूका कारण झनै विक्षिप्त बनेकी किशोरीका पीडा नाटकमा समेटिएको छ ।

‘यदि म मरेकी भए तपाईंहरू मेरो न्यायका लागि नारा लगाउँदै सडकमा निस्कनु हुन्थ्यो, कति इमान्दार थिइन्, पापीहरूले सिध्याएछन् भन्दै रोएको नाटक गर्नुहुन्थ्यो, तर बाँचेर फर्किएपछि न्यायका लागि सहयोग माग्दा नक्कलीको उपाधि दिनुहुन्छ ?,’ उनले कडा स्वरमा नाटकका माध्यमबाट प्रश्न गर्छिन्, ‘यहाँ हजारौं बालिका बलात्कृत भएका छन्, मेरो ठाउँमा तपाईं वा तपाईंकै छोरीचेली बलात्कारको सिकार भएको भए के हुन्थ्यो ?’

बलात्कारविरुद्ध थालेको यो अभियानका लागि उनले फिदिममा सञ्चालित सामुदायिक र निजी विद्यालयमा अध्ययनरत आफ्नै उमेर समूहका छात्राहरूको साथ लिएकी छन् ।

‘दिदीको हत्यापश्चात आमाको आँखाबाट बगिरहने आँसुसँगै मस्तिष्कबाट हट्न नसकेको दिदीको क्षतविक्षत शरीरलाई बोरामा पोको पारेर अस्पताल पुर्‍याएको दृश्यले बलात्कार र हिंसाविरुद्ध लड्न बाध्य बनायो,’ समीक्षा भन्छिन् । फिदिम माविको कक्षा १० मा अध्ययनरत उनले पहिलोपल्ट दुई वर्षअघि नाटकलाई विद्यालयकै मञ्चमा प्रस्तुत गरेकी थिइन् ।

पछिल्लो समय उनलाई फिदिम माविसँगै यहाँस्थित मेची इङलिस स्कुल, विद्या वरदान बोर्डिङ स्कुल र नयाँ नमुना माविका सहपाठीले सघाइरहेका छन् । उनीहरूले फिदिमका चोकचोकमा प्रस्तुत गरेको ‘बलात्कारविरुद्ध अभियान’ शीर्षकको नाटक हेर्दा आँखा नरसाउने कोही हुँदैनन् । फिदिम बजारको भानु चोकमा देखाइएको यो नाटक हेरिरहँदा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेसँगै सयौं दर्शकका आँखाबाट आँसु बगे ।

‘मरिसकेकी दिदीका हत्यारा पत्ता लाग्लान् र कारबाही होला भन्ने आस मरिसकेको छ, अब यस्ता घटना नदोहोरिऊन्, अनि बलात्कारीलाई राज्य र समाजको प्रश्रय नहोस् भन्ने उद्देश्यसहित लड्दै छु र लडिरहनेछु’, उनले भनिन् ।

प्रकाशित : जेष्ठ २७, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?