कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्यमा लड्छु : पौडेल

काठमाडौँ — नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले यस पटकको आमनिर्वाचनमा तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने बताएका छन् । उनले आफ्नो सम्पूर्ण लगानी र संगठन सोही क्षेत्रमा भएकाले पार्टीले मौका दिएसम्म तनहुँबाटै उम्मेदवारी दिने बताए । 

तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्यमा लड्छु : पौडेल

स्थानीय निर्वाचनमा पार्टीको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिको संयोजक रहेका पौडेलले बिहीबार पत्रकारहरूसँग छलफलको क्रममा आमनिर्वाचनमा पार्टीले स्वच्छ छवि भएका, ऊर्जाशीलता, लोकप्रियता र निरन्तरताजस्ता विशेषताहरुलाई मानक मानेर उम्मेदवार बनाउने नगरे पार्टीले थप क्षति बेहोर्नुपर्ने बताए ।

‘स्थानीय चुनावमा उम्मेदवार चयनमा भएको त्रुटिले पनि कतिपय ठाउँमा पराजय बेहोर्नुपरेको छ । कतिपय ठाउँमा त क्रियाशील सदस्यको संख्याभन्दा कम मत खसेको अवस्था पनि छ,’ देशभरिको मतपरिणामको विश्लेषण सुनाउँदै पौडेलले भने, ‘पार्टीले टिकट वितरणमा वैधानिक व्यवस्थालाई ध्यानमा राख्दै लोकप्रियता र न्यायको सिद्धान्त स्थापित हुने गरी अगाडि बढ्नुपर्ने हाम्रो सुझाव छ ।’

तपाईंचाहिँ कहाँ उम्मेदवार बन्ने ? भन्ने जिज्ञासा राखेका सञ्चारकर्मीलाई जवाफमा पौडेलले भने, ‘म तनहुँ–२ बाटै उम्मेदवारीका लागि तयारी गरिरहेको छु । मेरो लगानी र मेहिनेत परेको क्षेत्र पनि यही हो ।’

अघिल्लोपटक पनि पौडेलको नाम क्षेत्रीय समितिले सर्वसम्मत सिफारिस गरेको थियो । तर, सभापति शेरबहादुर देउवाले शंकर भण्डारीलाई टिकट दिएका थिए । कांग्रेसले पौडेललाई प्रदेश सभा (क) को उम्मेदवार बनाएको थियो ।

तनहुँ वरिष्ठ नेता रामचन्द्र पौडेलको समेत गृहजिल्ला हो । यहाँ कसलाई टिकट दिने भन्ने निर्णयमा उनको भूमिका हुन्छ । युवा नेता पौडेलले पार्टीभित्र निरन्तर संघर्ष गरिरहेको भन्दै नेतृत्वले जिम्मेवारी दिए आफू जुनसुकै क्षेत्रबाट पनि चुनाव लड्न तयार रहेको समेत बताए ।

‘म पार्टीको सिपाही हुँ । पार्टीले फरक क्षेत्रमा जिम्मेवारी दियो भने पनि भाग्ने कुरा भएन,’ उनले भने । नेता कृष्णप्रसाद सिटौला निकट नेता पौडेल १४ औँ महाधिवेशनमा सभापति देउवाकै प्यानलबाट महामन्त्रीको प्रत्यासी थिए ।

०७४ को प्रदेशसभा सदस्यको निर्वाचनमा भने उनी नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मतले पराजित भएका थिए । कोइराला १६ हजार ६४६ मत ल्याई निर्वाचित हुँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×