कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारमा जाने सम्बन्धमा छलफल भएको छैन : सांसद कर्ण

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल नभएको बताएका छन् ।

सरकारमा जाने सम्बन्धमा छलफल भएको छैन : सांसद कर्ण

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताए ।

उनले प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री हुने प्रस्ताव नगरेको बताए । ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आऊ भन्दै नभनेको कुरा तपाइँहरू विस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ,’ सञ्चारकर्मीहरूलाई सांसद कर्णले भने ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो–बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकीरणका लागि आह्वान गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

अध्यक्ष यादवले विगतमा आफूहरुलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए ।

अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको भन्दै औपचारिक रुपमा यादवले आफूहरूसँग कुरा नगरेको उनले बताए । नेता यादवलाई लक्षित गर्दै उनले भने, ‘बाटोमा उहाँ बोलिराख्नु भएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामीले उहाँको पार्टी फुटिराख्दा एकीकरण गरेर जोगाएको होइन ? त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ? आज फेरि पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेट्दिने । अनि अहिले आएर फेरि बाटो बाटोमा कुरा सुनिराखेको छु एकीकरणको । केको लागि एकीकरण ? किन एकीकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

प्रकाशित : जेष्ठ २५, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?