१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

किसानको आँशुले हामीलाई पोल्छ : गगन थापा

काठमाडौँ — कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले वर्षैपिच्छे किसानहरूले मलको अभाव झेल्नु परेको तर जिम्मेवार व्यक्तिहरूले दीर्घकालीन समाधान नखोज्दा समस्या दोहोरिएको बताएका छन् । सरकारले मलको समस्या समाधान गर्न नसकेको हो कि गर्न नचाहेको हो भन्ने प्रश्न उठेको पनि उनले बताए ।

किसानको आँशुले हामीलाई पोल्छ : गगन थापा

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले वर्षौंदेखि मलको समस्या दोहोरिएको तर सरकारको काम गर्ने शैली नफेरिएका कारण समस्या समाधान नभएको बताए ।

'सरकार फेरियो, मानिस फेरिए, मन्त्री फेरिए तर मलको कथा जहिले पनि यस्तै रह्‍यो । अघिल्लो, त्योभन्दा अघिल्लो, त्यो भन्दा अघिल्लो सालको पत्रिका पल्टाएर हेर्‍यौं भने पनि मलको कथा र हामीले गरेका छलफल यस्तै रहे,' उनले भने, 'हामीले यत्रो बजेट छुट्यायौं तर मल नै नआए गर्ने के हो ? किसानलाई मल दिन्छौं भनेर दायित्व लिएर आएका छौं, प्रत्येक वर्ष चुक्छौं । हामी सबैलाई लज्जावोध हुनुपर्ने हो । अप्ठ्यारो लाग्नुपर्ने हो । हामीसँग सबै स्रोतसाधन छ । पैसा नपुगेर, ऐन, नियम, कानुन नभएको भए, असामान्य अवस्था भएको भए भन्न मिल्थ्यो । सबै कुरा ठिकठाक हुँदैगर्दा पनि गर्न सक्दैनौं भनेपछि हामीले गर्न नचाहेको कि गर्न नसकेको । हामीले यसलाई स्वीकार्नु पर्छ । काम गर्ने तरिका बदल्नुपर्छ । किसानहरूको आँशुले हामीलाई पोल्छ ।'

थापाले यो वर्ष किसानले आवश्यक पर्ने मल नपाउने निश्चित भएको पनि बताए । जेठ र असारमा २ देखि ३ लाख मेट्रिक टन चाहिनेमा कृषि मन्त्रालयले वक्तव्य निकालेर असारसम्म १ लाख ९२ हजार मेट्रिक टन आउने भनेको स्मरण गराउँदै थापाले भने, 'सभामुख महोदय, आउँदैन, आउन सक्दै सक्दैन । अहिले मौज्दात ७ हजार मेट्रिक टन छ । ६०-७० हजार मेट्रिक टन आउँछ भनिएको छ । २० हजार बाटोमा छ । दिनको २ हजार मेट्रिक टनभन्दा बढी आउन सक्दैन । यो फेरि अहिले मात्रै भएको होइन । गएको साल पनि मनसुन राम्रो भयो मलको कारणले गर्दा हामीलाई ठूलो घाटा भयो ।'

प्रत्येक वर्ष दोहोरिने मलको हाहाकार हटाउन सरकारले दीर्घकालीन उपाय खोज्नुपर्ने थापाको सुझाव थियो । उनले यो वर्ष खेर गए पनि आगामी वर्ष खेर नजाओस् भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

'प्रत्येक वर्ष यस्तो भएको छ । यो वर्ष गएपनि केही काम भएपनि अर्को वर्ष खेर जाँदैन, मलको कारखाना खोल्नुपर्ने हो खोलिहालौं । यसका बारेमा पनि प्रत्येक वर्ष मौसमी गफजस्तो भयो,' उनले भने, 'सकिन्छ, हुन्छ भने मल कारखाना खोलौं । खोली हालौं, सुरु गरौं ।'

मल आयात लगायत काम गर्ने कृषि मन्त्रालयको संरचनाले काम नगरेको थापाको भनाइ थियो । उनले कति बजेट छुट्याउने भन्दा पनि कमि परिमाणमा मल ल्याउने भन्ने उद्देश्य राखेर अघि बढ्नुपर्ने बताए । 'वर्षौंदेखि जे कुरा गर्दै आएका छौं त्यै गरेर फरक परिणामको अपेक्षा गर्नु भनेको पागलपनभन्दा अरु केही पनि होइन । गर्ने त्यही गरेका छौं, संरचना त्यही छ, काम गर्ने तरिका त्यही छ । त्यसरी नै किन्छौं मल आउँदै आउँदैन । मल नै नभएपछि गर्ने के ?,' उनले भने ।

मल अभावको चक्र तोड्न नसक्दा कृषि उत्पादन बृद्धिमा मुलुक चुकेको थापाको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २५, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?