सुदूरपश्चिमदेखि काठमाडौं आउँदा लखनउ पुगेर फर्किनुपर्थ्यो, अहिले त्यस्तो दु:ख छैन : प्रधानमन्त्री देउवा - समाचार - कान्तिपुर समाचार

सुदूरपश्चिमदेखि काठमाडौं आउँदा लखनउ पुगेर फर्किनुपर्थ्यो, अहिले त्यस्तो दु:ख छैन : प्रधानमन्त्री देउवा 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशले विकास निकै ठूलो फड्को मारेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले अझै धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासको हिसाबले ठूलो फड्को मारेको बताए ।

‘म एसएलसी पास गरेर काठमाडौं छिरेको हुँ । त्यो बेला डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै रेल चढेर, फेरि गाडी चढेर काठमाडौं आउनुपरेको थियो,’ उनले भने, ‘अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको छ । अहिले त्यस्तो दुःख छैन ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनाहरुसँगै गरिबीको समस्या कायम रहेको बताए ।

‘सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी हो । गरिबी अझै पनि हटेको छैन । सुदूरपश्चिमका सारा युवाहरू लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य छन् । हाम्रो देशको जुन पछिल्लो आर्थिक अवस्था छ, त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘फेरि पनि पहिलेभन्दा धेरै विकास भएको छ भन्ने लाग्छ । महाकाली त्यही छ, पश्चिम सेती त्यही छ । त्यहाँ थुप्रै सम्भावनाहरू छन् ।’

उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताए । ‘यो प्रदेश मानव विकास सूचकांकमा पछाडि छ । यसलाई माथि उठाउनुपर्ने छ । त्यसका लागि तीन वटै तहका सरकारले सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेछ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले सम्भावनाअनुसार लगानी भए सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताए ।

‘सुदूरपश्चिमको विकासको सम्भावना धेरै छन् । त्यसका लागि हामीले काम गर्नुपर्नेछ । त्यहाँ लगानी गर्ने मान्छेहरू लगानीको वातावरण पाउन सकेका छैनन् । सुरक्षित महसुस गरेका छैनन् । त्यसका लागि हामीले थुप्रै कामहरू गर्नुपर्नेछ,’ उनले भने, ‘ती काम भए भने सुदूरपश्चिम देशकै सबैभन्दा धनी प्रदेश बन्न सक्ने सम्भावना राख्दछ ।’

प्रकाशित : जेष्ठ २२, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

गति लिँदै विशेष आर्थिक क्षेत्र

भैरहवा सेजमा पहिला सञ्चालनमा आएका ७ र अब २३ गरी ३० वटा उद्योग सञ्चालनमा आउने
माधव ढुंगाना

भैरहवा — कछुवाको गतिमा रहेको मुलुककै पहिलो निर्यातमुखी परियोजना यहाँस्थित विशेष आर्थिक क्षेत्र (सेज)ले पछिल्ला दिनमा गति लिएको छ । उद्योग स्थापना गर्न व्यवसायीले चासो देखाएका छन् । स्थापना भएको दुई दशकको अवधिमा पाँच–सात वटामात्र उद्योगमा सीमित रहेको भैरहवा सेज एक–डेढ वर्षभित्र पूर्ण क्षमताअनुरुप उद्योग स्थापना भई सञ्चालनमा आउनेतर्फ अघि बढेको छ । 

‘भैरहवा सेजलाई केही समयभित्रै पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण तयार पारिएको छ,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले भने, ‘एक–डेढ वर्षभित्रमा भैरहवा सेज उद्योगले भरिनेछ ।’ गत फागुन १५ मा सेज प्राधिकरणले खाली रहेको जग्गामा उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पेस गर्न व्यवसायीलाई १५ दिने सूचना जारी गरेपछि सबै खाली प्लटमा व्यवसायीले प्रस्ताव पेस गर्दै सम्झौतासमेत गरेका हुन् । कुल ६८ वटा जमिनका प्लटमध्ये ४६ वटा खाली थिए । जसमध्ये २२ वटा प्लटमा ९ जना व्यवसायीले उद्योग स्थापना गर्ने भनेर सेज प्राधिकरणसँग सम्झौता गर्ने तर उद्योग स्थापना गर्न चासो नदेखाएर लामो समयदेखि जमिन कब्जा गरेर राखेका थिए । सेज प्राधिकरणले उद्योग स्थापना नगरी बल्झाएर राखेका सबै प्लटका सम्झौता खारेज गरी अन्य व्यवसायीलाई उद्योग सञ्चालनार्थ प्रस्ताव पेसको माग गरेको हो ।

४६ वटा प्लटका लागि २३ वटा उद्योगले सम्झौता गरेका छन् । उद्योगले माग गरेको जमिनको प्लट सेज प्राधिकरणले पुर्‍याउन नसकेर धेरै माग गर्ने उद्योगलाई एउटा–दुईवटा घटाउँदै २३ वटै उद्योगलाई प्राधिकरणले जमिन उपलब्ध गराएको हो । सम्झौता गरेका सबै उद्योगले डेढ वर्षभित्रमा संरचना निर्माण सकेर सञ्चालनमा आउने छन् । यसअघि भैरहवा सेजमा जयबुद्ध मेटल क्राफ्ट, पञ्चकन्या स्टिल ट्यांक, शक्ति मिनरल्स, भी स्टार ग्लोबल, एस पोलिमर्स, तिरुपति मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ गरी सातवटा उद्योग सञ्चालनमा छन् । यी उद्योगले २२ वटा प्लट उपयोगमा ल्याएका छन् ।

उद्योग स्थापनाका लागि सम्झौता गरेका २३ वटै उद्योग सञ्चालनका लागि सेज प्राधिकरणले अनुमति दिईसकेको भट्टले जनाए । भैरहवा सेजमा पहिला सञ्चालनमा आएका ७ र अब २३ गरी ३० वटा उद्योग सञ्चालनमा हुने उनले बताए । ‘सम्झौता गरेका नयाँ उद्योगमध्ये केहीले फिल्डमा पुगेर कम्पाउण्ड वाल लगाउने, जमिन सम्याउने र कारखानाको ड्रोइङ बनाउने काम थालिसकेका छन्,’ भट्टले भने ।

भट्टका अनुसार भैरहवा सेजमा ती उद्योगको लगानी साढे ७ अर्ब रुपैयाँ र २ हजार ५ सय ३४ जनाले रोजगारी पाउने प्रस्ताव गरेका छन् । वार्षिक उत्पादन १८ अर्ब ५ करोड रुपैयाँको र वार्षिक निर्यात १० अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको हुने प्रस्ताव व्यवसायीले पेस गरेका छन् । व्यवसायीले उद्योग सञ्चालनको पहिलो दुई वर्ष उत्पादित वस्तुको बजार खोजी, उद्योगमा उपकरण र कर्मचारीको सेटिङ र परीक्षण उत्पादनमा समय लाग्ने भएकाले निकासी छुटको माग गरेका छन् । प्राधिकरणको नियमअनुसार उद्योग सञ्चालनको पहिलो वर्ष निकासी गर्न नपर्ने र दोस्रो वर्ष उत्पादनको ६० प्रतिशत गर्नु भन्ने प्रावधान छ ।

‘व्यवसायीले उठाएको निकासीको विषय अलि पेचिलो भएकाले समस्या समाधानका लागि सेज प्राधिकरणको बोर्ड बैठकले उपसमिति गठन गरेको छ,’ भट्टले भने, ‘व्यवसायीको मागलाई सम्बोधन हुने गरी समितिको प्रस्तावमा सरकारबाट निर्णय गराइनेछ ।’

प्रकाशित : जेष्ठ २२, २०७९ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×