कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेयर शाहको ‘पूर्वाधार एम्बुलेन्स’

१० लाख खर्च, ६ जना कर्मचारी भर्ना गरिने
गोविन्द पोखरेल

काठमाडौँ — ‘एम्बुलेन्स’ भन्नेबित्तिकै आपत्कालीन् अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउने सवारी साधनको रुपमा लिइन्छ । मानिस बोक्ने साधारण एम्बुलेन्स र वन्यजन्तु बोक्ने वन्यजन्तु एम्बुलेन्स धेरैले देखेका छन् । सडकका खाल्डाखुल्डी पुर्न, मर्मतसम्भार गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले एम्बुलेन्स ल्याउँदै छ ।

मेयर शाहको ‘पूर्वाधार एम्बुलेन्स’

सडकमा खाल्डाखुल्डी हुँदा होस् या पानीको पाइप फुट्दा, बटुवालाई हिँडडुल गर्न असहज मात्रै होइन, दुर्घटना र ज्यान जाने जोखिम धेरै हुन्छ । यी समस्यालाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले पहिलो पटक ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’ सञ्चालन गर्न लागेको हो । सम्भवत: अबको १५ दिनभित्रमा काठमाडौंमा महानगरमा यो एम्बुलेन्स देख्न सकिने छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि नगर प्रमुख बालेन्द्र शाहले पहिलो कार्यपालिका बैठकमा यो एम्बुलेन्स सञ्चालनमा ल्याउने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएपछि उनको यो योजनाले सार्थकता पाउन लागेको हो ।

ठूला ठूला भौतिक संरचना निर्माण गर्दा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर एउटा एम्बुलेन्स ‘स्ट्यान्ड बाई’ राखिएको हुन्छ । उक्त एम्बुलेन्सलाई इन्फ्रास्ट्रक्चर एम्बुलेन्स भनिए पनि यसको कुनै निश्चित ‘टर्मिनोलोजी’ नभएको बताउँछन् नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव एवं लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणका सीईओ छवीराज पोखरेल । ‘ ठूला संरचनाहरू निर्माण गर्दा त्यहाँ आपत्कालीन अवस्थामा निर्माण सामग्रीहरु चाहिने हुन्छ । त्यसका लागि निर्माण सामग्रीसहितको एउटा तयारी टिम हुन्छ,’ इन्जिनियर पोखरेलले भने,‘त्यही टिमलाई उहाँ(मेयर शाह)ले नाम दिएको हुन सक्छ ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पसको सिभिल इन्जिनियरिङ विभागका उपप्रमुख एवं सह–प्राध्यापक क्षितिजचन्द्र श्रेष्ठ सडक तथा पूर्वाधारको मर्मतसम्भारका लागि राखिएको सुविधासम्पन्न टिमलाई पूर्वाधार एम्बुलेन्स नाम दिएको बताउँछन् । उनले भने, ‘मेरो विचारमा इन्फ्रास्ट्रक्चर एम्बुलेन्स भनेको र्‍यापिड रेस्पोन्सका लागि राखिएको दक्ष मानिसहरू भएको टिम हो । आपत्कालीन अवस्थामा एम्बुलेन्स प्रयोग गरिने भएकाले नाम एम्बुलेन्स दिइएको हुनसक्छ । ’ सह-प्राध्यापक श्रेष्ठका अनुसार मर्मतसम्भारकै लागि भनेर राखिने उक्त टिमलाई ‘र्‍यापिड रेस्पोन्स टिम’ पनि भनिन्छ ।

निर्माण कार्य धमाधम

जेठभित्रै सञ्चालन गर्ने तयारी रहेको पूर्वाधार एम्बुलेन्स सामान्य गाडी भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाका अनुसार तत्कालका लागि दुईवटा पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने तयारी छ । महानगरका वातावरण विभागका दुईवटा गाडी (सम्भवत: टिपर)लाई एम्बुलेन्सको रुपमा प्रयोग गरिनेछ । एउटा गाडीमा प्राविधिक इन्जिनियर,मिस्त्री र अन्य दुई जना कामदार रहनेछन् । प्राविधिक महानगरकै कर्मचारी भए पनि मिस्त्री र कामदारहरुलाई दैनिक ज्यालादारीमा राखिने उनले बताए ।

पूर्वाधार एम्बुलेन्सले मर्मत सम्भार गर्ने, खाल्डाखुल्डी पुर्न, म्यानुअल कभर नभएको ठाउँमा कभर राख्ने, फुटपाथ टुटफुट हुँदा त्यसलाई टाल्ने काम तत्कालै हुनेछ ।

हाल महानगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेर पूर्वाधार एम्बुलेन्सलाई आवश्यक पर्ने सामग्री खरिद गरिरहेको छ । खाल्डो पुर्नका लागि चाहिने सामग्री, खाल्डो छोप्ने कभर, ढुंगा, गिटी, बालुवा, इँटा, रड, प्लग, ग्राभेल बेस खरिद गरिएको उनले बताए । महानगरले बढी प्रयोग हुने सामानहरू बढी खरिद गरेको छ ।

एम्बुलेन्सले अलकत्रा (बिटुमिन) भने बोक्ने छैन । यसका लागि खाल्डोमा सब बेस र लेभल गरेपछि पछि कालोपत्रे गर्ने बेलामा अलकत्रा प्रयोग गरिने थापाले बताए । उनले भने, ‘यो अस्थायी रुपका लागि मात्रै हो । मानवीय र अन्य प्रकारका क्षति नहोस् भनेर हामीले सञ्चालन गर्ने तयारी गरेका हौं । बिटुमिन सम्भव हुँदैन अहिले । ड्रमका ड्रम हुने भएकाले सम्भव पनि देखिँदैन ।’

कठमाडौं महानगरपालिकाले यसअघि पनि खाल्डाखुल्डी पुर्न र मर्मतसम्भार निजी कम्पनीलाई जिम्मा दिएर ठेक्कामार्फत गर्दै आएको थियो । तर ठेकेदार कम्पनीले मर्मतसम्भार गर्न ढिलो जाने भएकाले प्रभावकारी भएको थिएन । यो वर्ष पनि महानगरले टेन्डर आह्वान गरे पनि कुनै पनि कम्पनी योग्य नभएपछि ठेक्का रद्द भएको थियो ।

महानगरले आफैं यो काम गर्दा खर्च कम हुने र प्रभावकारी पनि हुने थापाले बताए । पूर्वाधार एम्बुलेन्सले गर्ने काम र भएको खर्चको अनुगमन महानगरका प्राविधिकले हेर्नेछन् । उनले दैनिक विविरण राखेर विभागलाई पठाउनेछन् ।

पूर्वाधार एम्बुलेन्सका लागि कल सेन्टर सञ्चालन हुनेछ । कल सेन्टरमा आएको फोनको आधारमा सेवा प्रवाह गर्ने महानगरको तयारी छ । आफ्नै कल सेन्टर र आफैं रेस्पोन्स गर्ने टिम हुँदा यो काम प्रभावकारी हुने बताइएको छ ।

पूर्वाधार एम्बुलेन्सले रातिको सेवा नदिए पनि बिहान ६ बजेदेखि बेलुका ५/६ बजेतिर दिने तयारी छ ।

पूर्वाधारविज्ञ सूर्यराज आचार्य सडकका खाल्डाखुल्डी पुर्नका लागि बनाइएको आपत्कालीन टिम राम्रो भएको बताए । उनले सडकका खाल्डो बेलैमा पुर्दा ठूला दुर्घटनाको जोखिम कम हुन बताए ।

प्रकाशित : जेष्ठ १९, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?