२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०
फुटको असर

नेकपा एसले मत काट्दा ५४ पालिकामा एमालेको परिणाम प्रभावित [सूचीसहित]

मणि दाहाल

काठमाडौँ — पार्टी विभाजनका कारण एमालेले २०७४ को स्थानीय चुनावभन्दा अहिले प्रमुख पदमा ८९ सिट गुमाएको छ । चुनावी प्रतिस्पर्धामा नेकपा (एकीकृत समाजवादी) ले थोरै मत काट्दा एमालेले धेरै स्थानमा हार बेहाेरेको छ । नेकपा (एस) चुनावी प्रतिस्पर्धाको कारण कम्तीमा ५४ स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा चुनावी परिणाममा प्रत्यक्ष असर देखिएको छ । 

नेकपा एसले मत काट्दा ५४ पालिकामा एमालेको परिणाम प्रभावित [सूचीसहित]

एमाले र एकीकृत समाजवादीका उम्मेदवारहरुले एकले अर्काको मत काट्दा ती स्थानीय तहको प्रमुख वा उपप्रमुख गुमाएका छन् । यस्ता पालिकामा एक्लाएक्लै प्रतिस्पर्धा गरेका र गठबन्धन भएका पालिकाहरुमा प्रतिस्पर्धा गरिएको पदमा प्राप्त मतलाई आधार मानेर गरेर सूची तयार पारिएको हो ।

यस सूचीमा एकीकृत समाजवादीको माओवादी केन्द्रबीच ९ स्थानीय तह र कांग्रेससँग १ स्थानीय तहमा गठबन्धन भएका १० वटा पालिका परेका छन् भने एमाले र नेपाली कांग्रेस (बीपी)बीच दुई स्थानीय तहमा गठबन्धन परेको छ । एकले अर्को मत काट्दा ३० जना प्रमुख तथा ३७ जना उपप्रमुख एमाले र एकीकृत समाजवादी पार्टीले गुमाएका छन् ।

जसमा एमाले र एकीकृत समाजवादीको प्रतिस्पर्धाको कारण १६ वटा स्थानीय तहको प्रमुख तथा उप प्रमुख दुबै गुमाएका छन् ।

जसमा धनुषाको लक्ष्मिनिया गाउँपालिका, कमला नगरपालिका, धनौजी गाउँपालिका, बटेश्वर गाउँपालिका, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका, रौतहटको ईशनाथपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, माधवनारायण नगरपालिका रहेका छन् । त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका, अछामको ढकारी गाउँपालिका, दैलेखको महावु गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, कालीकोटको शुभकाली गाउँपालिका र डोल्पाको ठूलो भेरी गाउँपालिका रहेका छन्।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले चुनावी परिणाम कमजोर हुनुमा ५ दलीय गठबन्धन प्रमुख कारण भएपछि तीव्र प्रतिस्पर्धा भएको स्थानमा पार्टी विभाजनको असर चुनावी परिणाममा देखिएको बताए ।

‘तीव्र प्रतिस्पर्धा रहेको ठाउँमा विभाजनको कारण मत विभाजन हुँदा गुमेको छ । के कति प्रभाव पर्‍यो भनेर अध्ययन भैरहेको छ’ ज्ञवालीले भने, ‘उदाहरणका लागि काठमाडौं महानगरपालिका हेर्ने हो भने पनि त्यस्तो देखिन्छ । एकीकृत समाजवादी र हाम्रोबीच मत बाँडिदा कांग्रेसले नगर कार्यकालिकामा बहुमत पुर्‍याएको छ । काठमाडौमै प्रभाव परेको छ भने तीव्र प्रतिस्पर्धा भएको अन्य स्थानमा पनि पक्कै पनि परेको छ ।’ ज्ञवालीले समग्रमा भने पार्टीको मत वृद्धि भएको बताए ।

चुनाव अघि एमालेका नेताहरुले विभाजनको असर कम हुने र विभाजित भएर गएको भन्दा बढी संख्यामा अन्य दलबाट पार्टी प्रवेश भएको दाबी गर्दै आएका थिए । मत काटिँदा पराजित हुनेमा एमालेबाट प्रमुख वा अध्यक्षमा उम्मेदवार रहेका २४ जना रहेका छन् भने एकीकृत समाजवादीका ६ जना छन् । पराजित भएका उपप्रमुख र उपाध्यक्षमध्ये ३१ स्थानीय तह एमालेबाट हारेका छन् । एकीकृत समाजवादीका ६ जना उपप्रमुख वा उपाध्यक्ष मत विभाजनको कारण पराजित भएका छन् ।

गत चुनावमा राम्रो मतान्तरले एमालेले जितेको धनुषाको मिथिला नगरपालिका ७० मतान्तरले पराजित भयो । कांग्रेसका महेन्द्र महतोले ७ हजार ३१ मत ल्याएर विजयी हुँदा एमालेका राजाराम महतोले ६ हजार ९ सय ४० मत ल्याए । जबकी एकीकृत समाजवादीका उम्मेदवार सूर्यप्रसाद पुडासैनीले ३ हजार ९ सय ६ मत प्राप्त गरेका थिए ।

रौतहटको गुजरा नगरपालिको मेयर एकीकृत समाजवादीका केशव राय कांग्रेसका सन्तलालप्रसाद चौधरीसँग ३ सय ४४ मतान्तरले पराजित भए। रायले ४ हजार ७ सय ९९ मत ल्याउँदा कांग्रेसका चौधरीले ५ हजार १ सय ४३ मत प्राप्त गरेका थिए। तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार शेख एकरामुल हकले ४ हजार ४ सय ९ मत प्राप्त गरेका थिए।

२०४९ देखिकै सबै स्थानीय चुनावमा जित्दै आएको सर्लाहीको हरिवन नगरपालिकाका एमाले मेयर उम्मेदवार गणेशप्रसाद प्रसाईं १ सय ५३ मतले पराजित भए। मा‌ओवादी केन्द्रका रमेश बुढाथोकीले ७ हजार २ मत ल्याउँदा प्रसाईँको ६ हजार ८ सय ४९ मत प्राप्त गरेका थिए। जबकी एकीकृत समाजवादीका उम्मेदवार सुरेन्द्रकुमार लामाले ३ हजार ८ सय ३६ मत प्राप्त गरेका थिए।

‘बामपन्थी दलहरु एकै स्थानमा भएको भए अहिलेको अवस्था आउने थिएन । चुनावी परिणाम पनि फरक हुन्थ्यो’ एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले भने, ‘प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले चाल्नु भएको कदमका कारण अहिलेको अवस्थामा आएको हो । उहाँको प्रतिगमनको विरोध गर्नै पर्ने थियो । त्यसमा कांग्रेसको साथ जानु बाहेकको विकल्प थिएन ।’

उनले कम मतान्तरले पराजित भएको करिब एक सय पालिका रहेको र त्यो विभाजनको कारण गुमेको बताए । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिमा एमाले उम्मेदवार सूर्यबहादुर शाही ७८ र उपमेयर उम्मेदवार नन्दकुमारी विष्ट ४२ मतले पराजित भए । सो पालिकामा नेकपा एसका मेयर तथा उपमेयरका उम्मेदवारहरु क्रमश: मनिषा कार्कीले १ सय ३५ र नमनकुमार शाहीले १ सय मत ल्याएका थिए । सो पालिका कांग्रेसका ग‌णेशकुमार शाही मेयरमा ४ हजार ७० मत र कांग्रेसकी मनसराकुमारी शर्मा ४ हजार ३८ मत ल्याएर विजयी भइन् । एमालेका सूर्यबहादुर शाहीले ३ हजार ९ सय ९२ र नन्दकुमारी विष्टले ३ हजार ९ सय ९६ मत प्राप्त गरेकी थिइन्।

सोही जिल्लाको दुल्लु नगरपालिकाको नेतृत्वमा एकीकृत समाजवादी उम्मेदवारले भोट काटिदिँदा पराजित भएका छन्। एमालेका रुद्रबहादुर शाहीको ७ हजार ५ सय ९२ र एकीकृत समाजवादीका पवन खनालले प्राप्त गरेको १ सय ९६ जोड्दा कांग्रेसका उम्मेदवार भरतप्रसाद रिजालले प्राप्त गरेको ७ हजार ७ सय २५ मत भन्दा बढी हुने थियो । तर एमालेका शाहीले कांग्रेसका रिजालसँग १ सय १३ झिनो मतान्तरले पराजयको सामना गर्नुपर्‍यो।

त्यसैगरी धनुषा नगराइन गाउँपालिकामा अध्यक्ष एमाले उम्मेदवार रामबाबु पञ्जियार कांग्रेसका विनयकुमार यादवसँग ४२ मतले पराजित भए। यादवले ५ हजार ५ सय ५६ मत ल्याएर अध्यक्ष जित्दा एमालेका पञ्जियार ५ हजार ५ सय १४ मत प्राप्त गरेका थिए। सो पालिकामा एकीकृत समाजवादीका उम्मेदवार मण्डलले १ सय ४६ मत ल्याएका छन् ।

सिन्धुपाल्चोको मेलम्ची नगरपालिकामा एमाले मेयर बालकृष्ण सेढाईंले कांग्रेसका आइतमान तामाङसँग ९३ मतले पराजित भए। सेढाईले ११ हजार १ सय ६५ मत प्राप्त गरेका थिए भने एकीकृत समाजवादीका उम्मेवार नानीराम चौलागाईले ३ हजार ३ सय २ मत प्राप्त गरेका थिए। सो पालिकामा एकीकृत समाजवादी र एमालेबीच तालमेल भएको थियो ।

एमाले र एकीकृत समाजवादीका प्रमुखको मत विभाजित हुँदा सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसले उठाएको छ।

यसरी पराजित भएका ३० स्थानीय तहका प्रमुख वा अध्यक्ष मध्ये २४ स्थानमा नेपाली कांग्रेस, ३ वटामा नेकपा माओवादी केन्द्र र राप्रपाले २ र लोसपाले एक स्थानीय तह जितेका छन् ।

त्यसैगरी विभाजनको कारण गुमाएको ३७ उपप्रमुख र उपाध्यक्ष मध्ये कांग्रेसले २९ स्थानमा जीत हासिल गरेको छ । त्यसैगरी मा‌ओवादी केन्द्रले २, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी ३-३ वटामा जीत हासिल गरेका छ ।

बर्दियाको गुलरियाको मेयरमा कांग्रेसका मुक्तिनाथ यादव ७ हजार ९ सय ८९ विजयी भए। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका अमरबहादुर खड्काले ७ हजार ८ सय ११ मत प्राप्त गरेका थिए। यादवको १ सय ७८ मतको झिनो अन्तरको विजयमा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण वली क्षेत्रीको २ सय ७६ मतको निर्णायक भूमिका रहेको देखिन्छ।

दोलखाको शैलुङ गाउँपालिकाको अध्यक्षमा मा‌ओवादी केन्द्रका रिमलबाबु श्रेष्ठ ५८ मतको झिनो अन्तरले विजयी भए। श्रेष्ठले ४ हजार ९ सय १८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी धनबहादुर तामाङले ४ हजार ८ सय ६० मत प्राप्त गरेका थिए। तर चुनावी परिणाममा एकीकृत समाजवादी भुवनसिंह थापले प्राप्त गरेको ७ सय ५४ मत निर्णायक रह्यो।

सिराहाको सुखवानान्कार गाउँपालिका अध्यक्ष जितेको एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेदवार प्रमिला यादव कांग्रेसकी निमल यादवसँग २ सय ३६ मतले पराजित भइन्। जसमा एमालेको इन्दु यादवले ल्याएले ५ सय ३ मतको भूमिका प्रमुख रहेको थियो ।

हालसम्म सार्वजनिक भएका ७ सय ५२ स्थानीय तहमा कांग्रेसले ३ सय २९ स्थानीय तहको प्रमुख वा अध्यक्ष जित्दै पहिलो भएको छ भने दोस्रो स्थानमा रहेको एमालेले २ सय ५ स्थानीय तहमा जीत हासिल गरेको छ । त्यसैगरी मा‌ओवादी केन्द्रले १ सय २१, जनता समाजवादी दल (जसपा)ले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १६ स्थानीय तहको नेतृत्वमा जीतेको छ । स्वतन्त्रसहित विभिन्न दलहरुले ३१ स्थानीय तहको प्रमुख जितेको छ ।

उपाध्यक्ष/ उपप्रमुखतर्फ कांग्रेसले ३ सय १, एमालेले २ सय ४०, माओवादीले १ सय २६, जनता समाजवादीले ३१, एकीकृत समाजवादीले २४, अन्यले १८ र लोसपाले १२ स्थान जितेका छन् ।

विभाजनको सबैभन्दा ठूलो असर मधेश प्रदेशमा देखिएको छ । धनुषा र रौतहट जिल्लामा एमाले र एकीकृत समाजवादीबीच विभाजन हुँदा क्रमश: ७ र रौतहटमा ५ स्थानीय तह गुमाएको छ । गत भदौमा नेकपा एमालेबाट अलग्गिएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो ।

एमालेले प्रमुख वा अध्यक्ष गुमाएका स्थानीय तह

धनुषा - लक्ष्मिनिया गाउँपालिका, कमला नगरपालिका, धनौजी गाउँपालिका, नगराइन गाउँपालिका, बटेश्वर गाउँपालिका

सिराहा - लक्ष्मीपुर पतारी गाउँपालिका,

उदयपुर : त्रियुगा नगरपालिका

सर्लाही - हरिवान नगरपालिका

रौतहट - इशनाथ नगरपालिका, चन्द्रपुर नगरपालिका, फुतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका,

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका

दोलखा : शैलुङ गाउँपालिका

सिन्धुपाल्चोक - मेलम्ची नगरपालिका,भोटेकोसी

अछाम : ढकारी गाउँपालिका

दैलेख : महावु गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका,

मुगु : खत्याड

बर्दिया : गुलरिया नगरपालिका

कपिलबस्तु : शिवराज नगरपालिका,

नेकपा एस अध्यक्ष वा प्रमुख गुमाएका पालिकाहरु

रौतहट : गुजरा नगरपालिका

काठमाडौं : शंखरापुरा नगरपालिका

नुवाकोट : तादी

कालीकोट : शुभकाली गाउँपालिका

जाजरकोट : कुसे नगरपालिका

डोल्पा : ठूलो भेरी नगरपालिका

विस्तृत तलको तालिकामा हेर्नुहोस्:

प्रकाशित : जेष्ठ १८, २०७९ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?